मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १९ आइतबार
  • Sunday, 02 May, 2021
नवीन अर्याल काठमाडौं
२०७८ बैशाख १४ मंगलबार १०:४०:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालमा स्टिल बिलेट उद्योग १० पुगे, करिब २० अर्ब लगानी 

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ बैशाख १४ मंगलबार १०:४०:००

बिलेट उद्योगलाई सहुलियत दिए डन्डीको भाउ १० प्रतिशत घट्ने, कच्चा पदार्थका रूपमा प्रयोग हुने स्पन्ज आइरनको तुलनामा तयारी बिलेटको भन्सार १० प्रतिशत बढाउने माग

सौरभ ग्रुपले बाराको परवानीपुरमा साढे ६ अर्ब रुपैयाँ लगानीमा सर्वोत्तम स्टिल बिलेट उद्योग निर्माण गरिरहेको छ । १५ वैशाखदेखि सञ्चालनमा आउने यो उद्योगको वार्षिक बिलेट उत्पादन क्षमता ३ लाख मेट्रिकटन हुनेछ । पशुपति आइरनले वार्षिक १ लाख ४६ हजार मेट्रिकटन बिलेट उत्पादन क्षमताको उद्योग स्थापना गरेको छ । लक्ष्मी स्टिल, जगदम्बा स्टिल, अम्बे स्टिल, अशोक स्टिल, नारायणी स्टिल, हाइटेक स्टिललगायत उद्योगहरूले स्पन्ज आइरन (कच्चा फलाम) ल्याएर स्वदेशमै बिलेट उत्पादन गर्न सुरु गरिसकेका छन् । यी उद्योगहरूमा करिब २० अर्ब लगानी भएको नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष विष्णु न्यौपानेले बताए । अहिलेसम्म बिलेट आयात गरेर डन्डी उत्पादन हुँदै आएकोमा अब मुलुक बिलेटमै आत्मनिर्भर बन्ने बाटोमा छ । 

देशभित्रै गुणस्तरीय बिलेट उत्पादन सुरु भइसकेको सर्वोत्तम स्टिलका सञ्चालक समेत रहेका न्यौपाने बताउँछन् । ‘नेपालमा डन्डी उत्पादनको इतिहास ५५ वर्ष पुगिसक्दासम्म पनि उद्योगहरू बिलेटका लागि भारतसँग भर पर्दै आएकोमा अब अवस्था फेरिँदै छ,’ उनले भने । तर, नेपालमा स्पन्ज आइरन र बिलेट आयातमा भन्सारदर समान ५ प्रतिशत हुँदा उद्योगीहरू मारमा परेको उनको भनाइ छ । ‘स्वदेशमै बिलेट उत्पादन सुरु भइसकेपछि स्पन्ज आइरन र तयारी बिलेटको भन्सारदर कम्तीमा १० प्रतिशत फरक बनाउनुपर्छ,’ उनले भने, ‘सरकारले बिलेटको भन्सारदर १५ प्रतिशत पु¥याए धेरै बिलेट उद्योग सञ्चालनमा आउँछन् ।’ 

मुलुकभित्र बिलेट उत्पादन गर्दा राज्य र उपभोक्ता दुवैलाई फाइदा हुने कारण सरकारले बिलेट उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका बताउँछन् । उनी भन्छन्, ‘सरकारले भारततर्फ प्रतियुनिट २÷३ रुपैयाँमा विद्युत् बिक्री गर्नुभन्दा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सहुलियतदरमा विद्युत् उपलब्ध गराउन सक्छ, बिलेट उद्योगले ठूलो परिमाणमा बिजुली खपत गर्छन् र डन्डीको मूल्य पनि घट्छ ।’

सरकारले स्वदेशमै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गरेमा डन्डीको भाउ कम्तीमा १० प्रतिशतले घट्ने व्यवसायीहरू बताउँछन् । तयारी बिलेटबाट डन्डी उत्पादन गर्दा तताउन फर्नेस आयल वा कोइला ठूलो मात्रामा प्रयोग हुने गर्छ । स्वदेशमै बिलेट उत्पादन गर्दा भट्टीबाट निस्केको तात्तातो बिलेटबाट तत्कालै डन्डी बनाउन सकिने भएकाले फर्नेस आयल र कोइलाको खपतसमेत घटाउन सकिने मुरारका बताउँछन् । स्वदेशमै बिलेट उत्पादन गर्दा ५० प्रतिशतभन्दा बढी भ्यालु एड (मूल्य अभिवृद्धि) गर्न सकिने न्यौपानेको दाबी छ । जब कि विदेशबाट तयारी बिलेट ल्याएर डन्डी बनाउँदा १० प्रतिशत मात्रै मूल्य अभिवृद्धि हुन्छ । ५० प्रतिशत मूल्य अभिवृद्धि, ठूलो संख्यामा रोजगारी सिर्जना, ठूलो परिमाणमा विद्युत् खपत, आयात प्रतिस्थापन र डन्डीको मूल्य पनि घट्ने हुनाले हुनाले स्टिल उद्योगलाई प्रोत्साहन गर्नुपर्ने मत उद्योगीहरूको छ । अहिले डन्डी बनाउने एमएस बिलेट वार्षिक ७० अर्ब हाराहारीको आयात भइरहेको छ । तर, स्पन्ज आइरन ल्याएर स्वदेशमै बिलेट बनाउँदा आयात ३५ अर्बमा झर्ने उनको भनाइ छ ।

स्वदेशी उद्योग संरक्षण गर्न कच्चा पदार्थ र तयारी मालको भन्सारदर कम्तीमा १० प्रतिशत फरक हुनुपर्ने सरकारको औद्योगिक नीति छ । तर, बिलेटलाई डन्डी बनाउने कच्चा पदार्थका रूपमा सरकारले ५ प्रतिशत मात्रै भन्सार लिँदै आएको छ । स्पन्ज आइरनमा पनि त्यही भन्सारदर छ, तर तयारी डन्डी आयातमा ३० प्रतिशत भन्सार छ । डन्डीमा चर्को भन्सार लगाइएको हुनाले भारतबाट आयात करिब ठप्प छ । बिलेटमा पनि भन्सारदर बढाइदिए आगामी ५ वर्षभित्र मुलुक बिलेटमा पनि आत्मनिर्भर हुने न्यौपाने बताउँछन् । 

मुरारकाका अनुसार एक टन डन्डी बनाउँदा करिब ४५ लिटर फर्नेस आयल खपत हुन्छ । ‘नेपालमा वार्षिक १० लाख मेट्रिकटनभन्दा बढी डन्डी उत्पादन हुने गर्छ जसमा साढे ४ करोड लिटर फर्नेस आयल खपत हुन्छ,’ मुरारकाले भने, ‘यदि हामीले स्वदेशमा बिलेट उत्पादन गरेमा हिटिङमा लाग्ने फर्नेस आयल वा कोइला आयात पनि घट्छ ।’

खानीबाट निकालेको फलामको धाउलाई फुटालेर सामान्य ग्यास चेम्बरबाट प्रशोधन गरेपछि स्पन्ज आइरन बन्छ । यो गिट्टीको आकारमा हुन्छ । त्यही स्पन्ज आइरनलाई १६ सय डिग्री तापक्रममा पगालेर स्टिल बिलेट बनाइन्छ । न्यौपाने भन्छन्, ‘बिलेटबाट डन्डी बनाउँदा प्रतिटन एक सय युनिट बिजुली लाग्छ भने स्पन्ज आइरनबाट बिलेट बनाउँदा प्रतिटन एक हजार युनिट बिजुली खपत हुन्छ । बिलेटबाट डन्डी बनाउँदा कन्भर्जन कष्ट प्रतिटन ५ हजार रुपैयाँ लाग्छ भने बिलेट बनाउँदा प्रतिटन कन्भर्जन कष्ट २० हजार रुपैयाँ लाग्छ ।’

अहिले अधिकांश उद्योगहरूले भारतबाट स्टिल बिलेट आयात गरेर डन्डी बनाउने गरेकाले उता बिलेटको भाउ बढ्नेबित्तिकै नेपालमा डन्डीको भाउ बढ्छ । स्वदेशमै कच्चा फलाम ल्याएर स्टिल बिलेट बनाउन थालेमा इन्डियामा भाउ जतिसुकै तलमाथि हुँदा पनि नेपालमा असर नपर्ने न्यौपाने बताउँछन् ।  स्वदेशमै बिलेट उद्योग स्थापना गरेपछि मुलुकभित्र रहेका फलाम खानीहरू उत्खननमा पनि सरकारलाई दबाब हुन्छ । मुरारकाले भने, ‘नवलपरासीको धौवादीमा ठूलो फलाम खानी छ, जसको सम्भाव्यता अध्ययन भइरहेको छ, भोलि त्यहाँको कच्चा फलाम प्रशोधन गर्नका लागि पनि ठुल्ठूला स्टिल उद्योग खुल्नुपर्छ ।’

कच्चा फलाम र स्टिल बिलेटमा विश्वका सबैजसो मुलुकमा भन्सारदर १० प्रतिशतदेखि ३२ प्रतिशतसम्म फरक रहेको न्यौपाने बताउँछन् । उनका अनुसार बंगलादेशले स्टिल बिलेट आयातमा २० प्रतिशत र स्क्र्याप तथा स्पन्ज आइरनमा ०.५ प्रतिशत भन्सारदर कायम गरेपछि ५ वर्षमै स्टिल उत्पादनमा आत्मनिर्भर बनेको छ । यस्तै, पाकिस्तानमा स्पन्ज आइरन र स्टिल बिलेटको भन्सारदरमा २३ प्रतिशतको भिन्नता छ ।

स्क्र्याप पेलेर बिलेट उत्पादन गर्नेलाई किन सुविधा दिनु : श्रेष्ठ
स्पन्ज आइरन र बिलेटको भन्सारदर फरक बनाउनुपर्ने मागप्रति बिलेट आयात गरेर डन्डी मात्र उत्पादन गर्ने उद्योगीहरूले भने विरोध गरेका छन् । नेपालका उद्योगहरूले गुणस्तरीय बिलेट उत्पादन गर्न नसक्ने पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवकुमार श्रेष्ठको दाबी छ । स्पन्ज आइरन र बिलेटमा १० प्रतिशतको भन्सार अन्तर गरिनुपर्ने माग राखेर केही उद्योगीहरूले ‘ग्रुपिजम’ गर्न खोजेको आरोप उनले लगाए ।

‘स्वदेशमै बिलेट उत्पादन गर्ने नाममा सरकारलाई बिलेटको भन्सारदर बढाउन दबाब दिने र यहाँ स्क्र्याप पेलेर डन्डी बनाई सस्तो मूल्यमा बजारमा पठाउने रणनीतिअनुसार उनीहरूले काम गरिरहेका छन्,’ उनले ठोकुवा गरे, ‘उनीहरूको चाहना उपभोक्तालाई गुणस्तरीय डन्डी दिनेभन्दा पनि बिलेट आयात गरेर गुणस्तरीय छड उत्पादन गर्ने उद्योगहरूलाई समस्यामा पार्नु हो ।’

कसैले पनि गुणस्तरमा उपभोक्तालाई ठग्न नहुने उनको भनाइ छ । ‘बिलेट उत्पादन गर्छु भनेर मात्र भएन, त्यसअनुसारको गुणस्तर पनि हुनुपर्‍यो’ उनले भने, ‘अहिले रोलिङ मिलहरूले स्क्र्याप (पत्रु) पेलेर छड बनाउँछन् त्यसमा स्ट्रेन्थ पुग्दैन, भारतबाट जुन गुणस्तरको बिलेट आइरहेको छ, सोही गुणस्तरको बिलेट नेपालमा उत्पादन हुनुपर्‍यो नि ।’ नेपालमा धेरै ब्रान्डका डन्डी रहे पनि गुणस्तर फरक–फरक रहेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘हामीले प्राइम बिलेट आयात गरेर डन्डी उत्पादन गर्छौँ, त्यो क्वालिटीको हुन्छ र स्ट्रेन्थ पनि राम्रो हुन्छ ।’ 

तर, नेपालमा बिलेट उत्पादन गर्दा गुणस्तर कमजोर नहुने नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्ष न्यौपाने ठोकुवा गर्छन् । ‘यहाँ बिलेट बनाउँदा उद्योगले स्क्र्याप (पत्रु) मिसाउने र गुणस्तर नहुने भनेर प्रश्न खडा गर्न खोजिएको छ’ उनले भने, ‘बिलेटको गुणस्तर परीक्षण गर्न नेपाल गुणस्तर विभाग छँदै छ, फलामे डन्डी र सिमेन्टका लागि गुणस्तर चिह्न अनिवार्य लिनुपर्छ, नत्र बिक्री गर्न पाइँदैन ।’ आफूहरूले भारतबाट स्क्र्याप आयातमा होइन कि कच्चा फलामको आयातमा भन्सारदर कम हुनुपर्ने माग गरेको उनको भनाइ छ ।