मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बीर
२०७८ बैशाख १ बुधबार १०:५३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

श्रीलंकामा नयाँ वर्ष मनाउन स्वास्थ्य मापदण्ड सार्वजनिक

श्रीलंकामा अर्को मंगलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ, आठ नियम पालना गरी सर्वसाधारणलाई नयाँ वर्ष मनाउन सेनाको आग्रह

Read Time : < 1 मिनेट
२०७८ बैशाख १ बुधबार १०:५३:००

श्रीलंकाका सेना प्रमुख शभेन्द्र सिल्भाले नयाँ वर्ष मनाउँदा कोरोना भाइरसबाट जोगिन अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड ख्याल गर्न आग्रह गरेका छन् । दक्षिण एसियालगायत एसियन देशमा कोरोना भाइरसको महामारी फैलिँदै गइरहेका कारण केही दिनपछि सुरु हुने नयाँ वर्ष उत्सवमा श्रीलंकाली जनतालाई कोभिड–१९ का सबै नियम पालना गर्न सेना प्रमुख सिल्भाले सोमबार आग्रह गरेका हुन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गठन भएको राष्ट्रिय कार्यदलका प्रमुखसमेत रहेका सिल्भाले नयाँ वर्ष मनाउने नाममा देशमा ठूलो क्षति हुन सक्ने भनी सबैको ध्यानाकर्षण गराएका छन् । 

उनका अनुसार जनताले नयाँ वर्ष मनाउन आठ नियम पालना गर्नुपर्छ । सरकारले सोमबार जारी गरेको निर्देशिकाअनुसार नयाँ वर्ष मनाउन सिल्भाले अनुरोध गरे । यस अवधिमा निर्देशिका कडाइका साथ कार्यान्वयन हुने उनले बताएका छन् । घरबाट बाहिर निस्केपछि पूरै समय सबैले मुखमा मास्क लगाउनुपर्ने, भिडभाडमा जान नहुने, आफूले पनि भिडभाड गर्न नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी, सामाजिक दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुनपानीले निरन्तर हात धोइरहनुपर्नेलगायतका मापदण्ड पनि निर्देशिकामा समावेश गरिएको सेना प्रमुख सिल्भाले जानकारी दिएका छन् ।

श्रीलंकामा अर्को मंगलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरैजना भेला हुने, नाचगान गरिने, सँगसँगै खानपिन गतिविधि गरिने भएकाले उनले सतर्कता अपनाउन आग्रह गरेका हुन् । श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ९५ हजार १३१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमध्ये दुई हजार ९०२ जना अझै पनि गम्भीर अवस्थामा छन् । कोरोनाका कारण पाँच सय ९८ जनाको मृत्यु भइसकेको छ ।