१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २५ बुधबार ०७:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

 दैनिक नयाँ रेकर्ड कायम गर्दै नेप्से, १४ कम्पनीमा सकारात्मक सर्किट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २५ बुधबार ०७:२३:००

नेप्से परिसूचकले दैनिक नयाँ रेकर्ड गर्न थालेको छ । मंगलबार नेप्सेले अहिलेसम्मकै उच्च बिन्दु २६ सय ७४ दशमलव ४७ बिन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि आइतबार २ हजार ६ सय ५७ दशमलव ६१ बिन्दु, सोमबार २ हजार ६ सय ५८ दशमलव ७५ बिन्दुमा पुगेर रेकर्ड कायम गरेको थियो । 

मंगलबार कारोबार भएकामध्ये ६ समूह र १ उपसमूहको सूचक सकारात्मक रहेको छ । सबैभन्दा धेरै बढ्नेमा होटेल तथा पर्यटन समूहको ५ दशमलव ६२ प्रतिशत रहेको छ । त्यसैगरी, दोस्रो समूहमा हाइड्रोपावर कम्पनीहरूको सूचक ४ दशमलव ४६ प्रतिशतले बढेका छन् । 

यस दिन सबैभन्दा धेरै घट्नेमा ट्रेडिङ समूह रहेको छ । यस समूहको सूचक ९ दशमलव ४६ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बिमा कम्पनीको २ दशमलव २४ प्रतिशतले घटेको छ ।  

धितोपत्र तथा ऋणपत्र गरी कारोबारमा आएका २ सय १३ कम्पनीको कुल १ करोड ६१ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । बैंकको अन्तिम सेयर मूल्य ६ सय ५ रुपैयाँ हुँदा ३९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा चिलिमे हाइड्रोपावर कम्पनीको अन्तिम सेयर मूल्य ६ सय ८२ रुपैयाँ हुँदा ३१ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोसी हाइड्रोपावरको अन्तिम सेयर मूल्य ९ सय ७ कायम हुँदा २९ करोड २० लाखको कारोबार भएको छ ।

१४ कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार
मंगलबार १४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन चिलिमे हाइड्रोपावर, युनिभर्सल, युनाइटेड आइडी मार्दी आरबी हाइड्रोपावर, चन्द्रागिरि हिल्सको १० प्रतिशत सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी, वमी माइक्रो फाइनान्सको ९ दशमलव ९५ प्रतिशत बढेर १८ सय २३ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशतले बढेर ११ सय ६२ रुपैयाँ कायम भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९३ प्रतिशतले बढेर ८ सय ८१ रुपैयाँ कायम भएको छ । सान्जेन लघुवित्त कम्पनीको ९ दशमलव ८९ प्रतिशतले बढेर ४ सय ८९ रुपैयाँ कायम भएको छ । त्यस्तै, शिव श्री हाइड्रोपावर कम्पनीको ९ दशमलव ८१ प्रतिशतले बढेर २ सय ३५ रुपैयाँ कायम भएको छ । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ९ दशमलव ७८ प्रतिशतले बढेर २ सय २ रुपैयाँ कायम भएको छ । च्याङ्दी हाइड्रोपावर कम्पनीको ९ दशमलव ५७ प्रतिशतले बढेर २ सय २९ रुपैयाँ कायम भएको छ ।

यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनको नकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । यस दिन कम्पनीको १० प्रतिशतले नकारात्मक सर्किट लागेर ११ हजार ७ सय ९२ रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, सानिमा जनरल इन्स्योरेन्सको ८ दशमलव ७८ प्रतिशतले घटेर ८ सय २१ रुपैयाँ पुगेको हो । त्यस्तै, अजोड इन्स्योरेन्सको ८ दशमलव ७२ प्रतिशतले घटेर ९ सय ९० रुपैयाँ पुगेको छ ।

रुरु जलविद्युत्को आइपिओमा १६ लाख ७० हजारको आवेदन
रुरु जलविद्युत् परियोजनाको प्राथमिक साधारण सेयर (आइपिओ) मा १६ लाख ७० हजार ९ सय ११ जनाले आवेदन दिएका छन् । मंगलबार साँझसम्ममा २ करोड ३४ लाख १४ हजार १ सय ४० कित्ताका लागि आवेदन परेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार यो प्रारम्भिक तथ्यांक भएकाले आइपिओमा आवेदन दिनेको संख्या अझै बढ्न सक्नेछ । रुरु जलविद्युत् परियोजनाले चैत २० देखि प्रतिसेयर १ सय २० रुपैयाँमा ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर सार्वजनिक गरेको थियो ।

ज्योति लाइफको बुधबारबाट कारोबार हुने 
ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा बुधबारबाट कारोबार हुने भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै बुधबारबाट कारोबारमा आउने भएको हो । सर्वसाधारणको ६६ लाख कित्ता र संस्थापकको सहित २ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।