मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
म्यानमार
२०७७ चैत २४ मंगलबार ११:२०:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

म्यानमारका भिक्षु सुरक्षित रहन बंकर बनाउँदै

Read Time : < 1 मिनेट
म्यानमार
२०७७ चैत २४ मंगलबार ११:२०:००

म्यानमारमा लोकतन्त्र हनन भएको ६३ दिन भइसकेको छ । १ फेब्रुअरीमा सेनाले नेतृ आङ सान सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्दमा राखी कु गरेको थियो । त्यसयता म्यानमारका विभिन्न सहरमा लोकतन्त्रको बहाली गराउन प्रदर्शन भइरहेको छ । डेढ साताअघि सेनाले एकै दिन एक सय १४ प्रदर्शनकारीको हत्या गरेको थियो । 

अहिलेसम्म सेनाको गोलीबाट पाँच सय ५० प्रदर्शनकारीको निधन भइसकेको विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । सेनाको दमन सहन नसकेको र ज्यान सुरक्षार्थ दशौँ हजार नागरिकले छिमकी देशमा शरण लिइसकेका छन् । गत साता नै भारत बोर्डरनजिक बसोवास गर्ने जनता जंगलको बाटो हुँदै शरणार्थी बनेका थिए । 

अहिले प्रदर्शनकारी, निर्दोष जनता मात्र होइन, भिक्षुहरूले समेत आफ्नो ज्यान सुरक्षित नभएको आभास गर्न थालेका छन् । सुरक्षित रहन नै उनीहरू थाइल्यान्ड बोर्डरनजिक पहाडमा लुक्न थालेका छन् । उनीहरूले आफू र परिवारको ज्यान सुरक्षाका निमित्त पहाड फोडेर बंकर बनाइरहेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले सार्वजनिक गरेको फोटोअनुसार भिक्षुहरूले पहाडमा बंकर बनाएर दैनिक नित्य पूजाअर्चना गरिरहेका छन् । थाइल्यान्डको बोर्डरनिर म्यानमारका सयौँ भिक्षुले बंकर बनाइरहेका छन् । थाइल्यान्डनजिक रहेको चिन माङ जिल्लामा भिक्षुहरू आश्रित भएको एजेन्सीहरूले जनाएका छन् । उनीहरूको एउटै उद्देश्य छ, सेनाको गोली वा दमनबाट बच्ने हो । 

गत साता सेनाले हवाई आक्रमण नीति अपनाएको थियो । सेनाले प्रदर्शनकारी मात्र नभएर आन्दोलनमा सहभागी नभएका जनताको घरमा समेत हवाई आक्रमण गरिरहेको छ । एक सातादेखि चलिरहेको हवाई आक्रमणमा वृद्ध, बालबालिका, नवजात शिशु तथा महिलाहरूले ज्यान गुमाएका छन् । स्वतन्त्र रूपमा हिँडडुल गर्ने भिक्षुहरूले हवाई आक्रमणमा पर्न सक्ने डरले नै बंकर नै सुरक्षित स्थलका रूपमा लिएका छन् ।