१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कोइची नकानो
२०७७ चैत २४ मंगलबार ११:१०:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

टोकियो ओलम्पिक आयोजना गरिछाड्ने हठ

Read Time : > 3 मिनेट
कोइची नकानो
२०७७ चैत २४ मंगलबार ११:१०:००

जापान सरकार महामारीका बाबजुद जसरी पनि ओलम्पिक खेल आयोजना गर्ने पक्षमा देखिन्छ 

जापानले मार्च २५ मा ओलम्पिक ज्योतिको रिले दौड उद्घाटन गर्‍यो । सन् १९३६ को ओलम्पिकबाट प्रयोग सुरु भएको ओलम्पिक ज्योति यात्राको अभ्यास कोरोना भाइरसका कारण एक वर्ष ढिलो गरी सुरु भयो । ओलम्पिक खेल यसै गृष्ममा आयोजना हुने कार्यतालिका छ । जापानी प्रधानमन्त्री योसिहिदे सुगाले ओलम्पिक आयोजना गरेर ‘कोरोना भाइरसविरुद्ध मानवताको जितको प्रमाण’ दिने घोषणा गरेका छन् । तर, कोरोना भाइरसमाथि मानवताको जित त परको कुरा, जापानले पनि जित हासिल गरेको संकेत देखिएको छैन । 

कोरोना भाइरसविरुद्धको युद्धमा जापानले अमेरिका र धेरै युरोपेली देशभन्दा राम्रो काम गरेको साँचो हो । १२.५ करोड जनसंख्या भएको जापानमा हालसम्म चार लाख ५० हजार संक्रमित र आठ हजार नौ सय मृत्यु दर्ता भएको छ । तर, बिस्तारै संक्रमण दर बढ्न थालेको छ र जापानको खोप लगाउने दर निकै सुस्त देखिन्छ । मार्च २१ सम्म ओइसिडीका ३७ देशमध्ये प्रतिव्यक्ति खोप दरका आधारमा जापानको नाम अन्तिममा छ । ब्लुमबर्गका अनुसार ०.३ प्रतिशत जापानीले मात्र खोप लगाएका छन् ।

जुलाईको अन्तिममा ओलम्पिक सुरु हुँदासम्म पर्याप्त संख्यामा जापानीलाई खोप लगाइसक्ने सम्भावना कम छ । अघिल्लो साता जापानले विदेशी दर्शकलाई खेलमा सहभागी हुनबाट रोक्ने घोषणा गर्‍यो । यो निर्णय सार्वजनिक धारणालाई ख्याल गरेर आएजस्तो देखिन्छ । अघिल्लो महिना सम्पन्न भएको एक मतसर्वेक्षणमा ७७ प्रतिशत उत्तरदाताले विदेशी समर्थकलाई सहभागी हुन दिने कुराको विरोध गरेका थिए । अर्को मतसर्वेक्षणअनुसार नौ प्रतिशत उत्तरदाताले मात्र पूर्वनिर्धारित समयमा ओलम्पिक खेल गर्न सहमति जनाए, जबकि ३२ प्रतिशत प्रतियोगिता रद्द गर्नुपर्ने पक्षमा थिए । 

महामारी अझै प्रमुख स्वास्थ्य समस्याका रूपमा कायम हुँदा र आमविरोधका बाबजुद जापानी सरकार आलोम्पिक खेल गराउन किन अघि बढ्दै छ ? जवाफ उही चिरपरिचित हो : एलिटहरूमाझको साँठगाँठ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष पदमा सुगाको कार्यकाल सेप्टेम्बरमा अन्त्य हुनेछ । अक्टोबरको अन्त्यसम्म विधायिकी चुनाव भइसक्नुपर्नेछ । यसै कारणले सुगाले ओलम्पिक खेललाई आफ्नो गिर्दो लोकप्रियता सुधार गर्न प्रयोग गरिरहेका छन् । यसै उद्देश्यले मिडियामा ओलम्पिक खेलबारे सकारात्मक समाचारको बाढी आउन थालेको छ । 

जापानमा लिबरल डेमोक्रेटिक पार्टी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मिडिया उद्योगबीच त्रिकोणात्मक सम्बन्ध छ । सुगा त्रिकोणका महत्वपूर्ण व्यक्ति हुन् । यो गठजोड ओलम्पिकलाई जुनै मूल्यमा पनि अगाडि लाने सोचमा छ, यसका लागि विदेशका दर्शकलाई नै रोक्न किन नपरोस् ? 
 

सुगाले सिन्जो आबेबाट सत्ता लिँदा लिबरल डेमोक्रेटिक पार्टीको सरकार विभिन्न काण्डमा मुछिएको थियो । सुगाको आगमनपछि सरकारको नाममा केही काण्ड थपिएको छ । 

सुगा प्रधानमन्त्री आबेका दाहिने हात थिए र सुगाको मिडियामा बलियो प्रभाव थियो । आबेको पहिलो शासन (२००६–२००७) मा उनी आन्तरिक मामिला तथा सञ्चारमन्त्री थिए । दोस्रो कार्यकाल (सन् २०१२–२०२०)मा उनी प्रमुख क्याबिनेट सेक्रेटरी र प्रवक्ता थिए । आबेको पछिल्लो कार्यकालमा रिपोर्टर विदआउट बोर्डरको विश्व प्रेस स्वतन्त्रता सूचकमा जापानको स्थान २२ बाट खस्केर ६६ मा पुगेको छ । जापानमा लिबरल डेमोक्रेटिक पार्टी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मिडिया उद्योगबीच त्रिकोणात्मक सम्बन्ध छ । सुगा त्रिकोणका महत्वपूर्ण व्यक्ति हुन् । यो गठजोड ओलम्पिकलाई जुनै मूल्यमा पनि अगाडि लाने सोचमा छ, यसका लागि विदेशका दर्शकलाई नै रोक्न किन नपरोस् ? 

उदाहरणका लागि जापानको सबैभन्दा ठूला विज्ञापन तथा पिआर (पब्लिक रिलेसन) संस्था डेन्ट्सुलाई लिउँ । यो संस्था टोकियो २०२० ओलम्पिकको प्रमुख विज्ञापन एजेन्सी हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका पूर्वउपमन्त्री सुन सकुराई अहिले सो कम्पनीका कार्यकारी उपाध्यक्ष तथा प्रतिनिधि निर्देशक छन् । सरकारी मन्त्रालयमा काम गरेर सोही मन्त्रालयले नियमन गरेका विज्ञापन कम्पनीमा उच्च कर्मचारीसम्मको यात्रालाई जापानी भाषामा ‘अमाकुदारी’ भनिँदै छ । यसको अर्थ हुन्छ, स्वर्गबाट पदार्पण । 

लिबरल डेमोक्रेटिक पार्टीसँग डेन्ट्सुको नजिकको सम्बन्ध छ । जापानी कम्युनिस्ट पार्टीले लिबरल डेमोक्रेटिक पार्टीले जापानी नियमअनुसार अनिवार्य दर्ता गरेको हिसाबकिताबको विश्लेषण गरेको छ । यसमा पार्टीले सन् २००० र सन् २०१८ बीच डेन्ट्सुलाई १० करोड डलर शुल्क तिरेको देखिएको छ । डेन्ट्सुले पनि लिबरल डेमोक्रेटिक पार्टीको चुनावी अभियानमा ठूलो योगदान पुर्‍याएको देखिन्छ । जापान सरकारले ल्याएको २० अर्ब डलरको कोभिड सहायता प्याकेजमा पनि डेन्ट्सुको नाम जोडिएको छ । 

जापानमा आयोजना हुन लागेको ओलम्पिकमा डेन्ट्सुको संलग्नता गहिरो र समस्याग्रस्त देखिन्छ । फ्रेन्च वकिलहरूका अनुसार टोकियोमा खेल आयोजनाका लागि अग्रसरता लिएको जापानी समितिले पूर्वडेन्ट्सु कार्यकारीलाई ८० लाखभन्दा बढी रकम तिरेको थियो । सो रकम अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का सदस्यलाई घुसका रूपमा दिइएको वकिलको दाबी छ । डेन्ट्सु आफैँमा आइओसीको विज्ञापन सहयात्री हो । यो कुराले कमिटीको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व) को कानुनलाई मिचेको छ । 

टोकियो २०२० खेलले ओलम्पिक इतिहासकै सबैभन्दा बढी प्रायोजन पाएको छ । खेलका लागि जापानी कम्पनीबाट झन्डै ३.१ अर्ब डलर उठेको छ । यसमा डेन्ट्सुको महत्वपूर्ण योगदान छ । घरेलु प्रायोजकमा जापानका प्रमुख पाँच राष्ट्रिय पत्रिका आसाही, योमिउरी, मैनिची, निकेई र सानकाई पनि छन् । यी पाँचै संस्थाका आ–आफ्नै प्रसारण सञ्जाल छ । ती सञ्जाललाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले नियमन गर्छ र उनीहरू प्राइम टाइम विज्ञापन स्लटका लागि डेन्ट्सुमा निर्भर छन् । 

महामारीले अझै पनि टोकियो ओलम्पिकलाई प्रभावित पार्न सक्छ । संक्रमणलाई कारण देखाएर कैयौँ चर्चित खेलाडी तथा सेलेब्रिटीले ओलम्पिक ज्योतिको दौडमा सहभागिता जनाएनन् । केही राष्ट्रिय टिम प्रतिस्पर्धाबाट बाहिरिन सक्छन् । यी सबका बाबजुद यी ओलम्पिक आयोजना भयो भने त्यो जापानको राजनीतिक तथा मिडिया एलिटबीचको साँठगाँठको सफलता हुनेछ । साथै, त्यो आगामी चुनावमा आमधारणा बदल्ने तिनको प्रयासको सफलता हुनेछ । 

कोइची नकानो टोकियोस्थित सोफिया विश्वविद्यायलका राजनीतिशास्त्रका प्राध्यापक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य