मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २२ आइतबार ०७:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से उच्च बिन्दुबाट ९ अंक मात्रै तल, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २२ आइतबार ०७:५४:००

गत साता सेयर बजार परिसूचक करिब ८३ अंकले बढेर २ हजार ६ सय ३१ बिन्दुमा आइपुगेको छ । नेप्से हालसम्मको उच्च बिन्दुबाट मात्रै ९ अंक तल छ । पुनः एकपटक हालसम्मकै उच्च बिन्दुनजिक परिसूचक आएसँगै लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिन थालेका छन् । केहीले यही समयमा प्रतिफल सुनिश्चित गर्न थालेकाले पनि अन्तिम दिन बिहीबार नेप्सेको वृद्धिदर केही सुस्तिएको थियो । 

गत साता चार दिन मात्र कारोबार खुला भएकाले कारोबार रकममा भने करिब १९ प्रतिशतले घटेर २४ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो साता भने कुल २९ अर्ब ५८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । दैनिक औसत कारोबार रकममा भने १ दशमलव ४५ प्रतिशतले वृद्धि भएर ६ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो साता भने दैनिक औसत कारोबार रकम ५ अर्ब ९१ करोड रुपैयाँ थियो । 

सातागत आधारमा गएको साता होटेल तथा पर्यटनबाहेक सबै समूहमा वृद्धि देखिएको छ । जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै करिब ८ प्रतिशतले वृद्धि भएको छ । निर्जीवन, ‘अन्य’, लघुवित्त र विकास बैंक समूहमा ४ देखि ५ प्रतिशतसम्मको वृद्धि भएको छ । 

सातामा माथिल्लो तामाकोसीको सबैभन्दा धेरै १ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीको सबैभन्दा धेरै कित्ता (२३ लाख २९ हजार) सेयर किनबेच भएको छ । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै २५ हजार ४ सय ७२ पटक सेयर खरिद–बिक्री भएको छ । गत साता अलायन्स इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ४६ प्रतिशतले वृद्धि भएको छ भने सूर्योदय लघुवित्तको सबैभन्दा धेरै ९ प्रतिशतले मूल्य घटेको छ । 

प्राविधिक विश्लेषण 
नेप्सेको मैनबत्ती चित्रले पछिल्ला तीन दिनमा पहिलो दुई दिन ठूलो शरीरसहितका सेता (हरिया) मैनबत्ती आकृति बनाएको छ । दुई सेता मैनबत्तीको शरीरबीच पनि दूरी छ । यद्यपि, अन्तिम दिन सानो शरीरसहितको कालो (रातो) मैनबत्ती आकृति बनेको छ । यसले बजारको बुलिस प्रवृत्ति कमजोर बन्न थालेको संकेत गर्छ । यद्यपि, सुनिश्चितताका लागि आगामी दिनको कारोबार हेर्नु बुद्धिमानी हुन्छ । 

नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेजमा हालै गोल्डेन क्रस ओभर भएको छ । अर्थात् ७ दिने रेखाले २१ दिने रेखालाई मुनि पारेर अगाडि बढेको छ । यो बजार बुलिस प्रवृत्तिमा प्रवेश गरेको संकेत हो । यसले बजार केही समय बुलिस प्रवृत्तिमा जाने देखाउँछ । 

१४ दिने आरएसआई सूचकले भने बजारमा अधिक खरिद सुरु भएको देखाउँछ । यो सूचक गत बिहीबार ७० स्केलबाट थोरै माथि छ । सूचक स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । पिभट विश्लेषणले भने सेयर बजारमा आगामी साता २ हजार ६ सय ६१ मा पहिलो लक्ष्य रहेको र सो बिन्दुमा प्रतिरोध भएमा २ हजार ५ सय ७२ मा पहिलो टेवा पाउनेछ ।