मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
टेकराज थामी काठमाडौं
२०७७ चैत १९ बिहीबार ११:३५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ग्रिन कफी बेच्ने भन्दै  बिट क्वाइनको धन्दा : रसियन र नेपाली नागरिक पक्राउ, २५ थान ल्यापटप बरामद 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ चैत १९ बिहीबार ११:३५:००

नौ सय रुपैयाँको कफीलाई ४० हजार रुपैयाँमा बिक्री गर्ने गिरोह बिट क्वाइन ‘माइनिङ’ (प्रशोधन)मा पनि संलग्न रहेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत साता उनीहरूलाई काठमाडौंको खुसिबुबाट पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१९ का ४२ वर्षीय आशिष आचार्य र ३० वर्षीय रसियन नागरिक इगोर कुट्स छन् ।

उनीहरूबाट बरामद ल्यापटप र कम्प्युटर अनुसन्धान गर्दा दुवै बिट क्वाइन प्रशोधनमा पनि संलग्न भएको खुलेको हो । सिआइबी प्रवक्ता एसपी गंगा पन्तले नौ सय रुपैयाँको कफीलाई ४० हजार रुपैयाँसम्ममा बिक्री गर्ने रसियन नागरिक इगोर नै बिट क्वाइन प्रशोधन धन्दामा संलग्न रहेको बताइन् । ‘सामाजिक सञ्जालमा विज्ञापन गरी ग्रिन कफी महँगो मूल्यमा बेच्ने गरेको पाइयो । अनुसन्धानका क्रममा एक नेपालीसहित रसियन नागरिक पनि पक्राउ परे । उनीहरूबाट २५ थान ल्यापटप र कम्प्युटर बरामद भयो । अनुसन्धान गर्दा यसबाट बिट क्वाइन माइनिङ गरिएको भेटियो,’ अनुसन्धानमा संलग्न एसपी पन्तले भनिन्, ‘नौ सय रुपैयाँ पर्ने कफीलाई ४० हजार रुपैयाँसम्ममा बिक्री गरेको भनेर अनुसन्धान गर्ने क्रममा बिट क्वाइन प्रशोधन गर्ने धन्दा चलाएको पाइयो ।’

प्रहरीका अनुसार उनीहरूले खुसिबुमा टिम वान सप्लायर्स प्रालिको नाममा कम्पनी दर्ता गरी शरीरको तौल केही दिनमै १३ किलो घट्नै भन्दै महँगो मूल्यमा कफी बेच्दै आएका थिए । यस क्रममा प्रहरीले कार्यालयबाट २५ थान ल्यापटप र कम्प्युटरका साथै बिट क्वाइन माइनिङसँग सम्बन्धित विभिन्न उपकरण बरामद गरेको थियो । रसियन नागरिक इगोरको कोठाबाट दुई सय ४० जीबीसम्म क्षमता भएको हार्डडिक्स र कम्प्युटर बरामद भएको थियो । 

‘कफी बिक्री गर्ने भन्छन्, त्यही ठाउँमा २५ थान ल्यापटप र कम्प्युटर भेटियो । रसियन नागरिकको कोठामा छापा मार्दा बिट क्वाइन माइनिङ गर्नेसँग सम्बन्धित उपकरण पनि भेटियो । अनुसन्धानपछि हाम्रो शंका सही सावित भयो । किनकि ल्यापटपको डेटा अनुसन्धान गर्दा बिट क्वाइन माइनिङ भएको स्थापित भएको छ,’ एसपी पन्तले भनिन् ।

नेपालमा बिट क्वाइन प्रशोधन र प्रयोगलाई राष्ट्र बैंकले अवैध मानेको छ । तर, सोही धन्दा ग्रिन कफी बिक्री गर्ने आवरणमा रसियन नागरिकले नेपालमा चलाइरहेको अनुसन्धानबाट खुलेको छ । यसअघि प्रहरीले बिट क्वाइन प्रशोधन र कारोबार गरेको आरोपमा ज्ञानप्रसाद पौडेल, प्रशान्तप्रताप शाह पक्राउ परेका थिए । उनीहरूले दोलखाको किर्नेटारमा बिट क्वाइन माइनिङ गर्ने कारखाना नै खोलेका थिए । 

के हो बिट क्वाइन ?
क्रिप्टो करेन्सीसमेत भनिने बिट क्वाइन डिजिटल करेन्सी (अभौतिक मुद्रा) हो । कम्प्युटरको विशेष प्रोग्रामिङको सहायताले यसको उत्पादन गरिन्छ । यसको आविष्कारक जापनिज नागरिक सातोषी नाकामोतो हुन् । उनले सन् ००७ मा यसको आविष्कार गरेका थिए । उनले यसको डोमेन दर्ता भने १८ अगस्ट ००८ मा गरेका थिए । 

अनलाइनमार्फत हुने यसको कारोबारका लागि विशेष प्रकृतिको पासवर्ड बनाइएको हुन्छ । सोही पासवर्डका आधारमा प्रयोगकर्ताले लगअन गर्न सक्छ । युरोप र अमेरिकी देशमा यसको कारोबारलाई मान्यता दिइए पनि शतप्रतिशत सुरक्षित भने मान्न सकेका छैनन् । अन्तर्राष्ट्रिय बजारमा अहिले एउटा बिट क्वाइनको मूल्य ५८ हजार अमेरिकी डलरसम्म पुगेको छ ।

एसपी नै ग्राहक बनेपछि खुल्यो अपराध 
डाइटिङ र व्यायामबिनै सातामा १३ किलोसम्म तौल घटाउन सकिने ग्रिन कफी भन्दै सामाजिक सञ्जालमा भटाभट आउन थालेको विज्ञापन सिआइबीका एसपी गंगा पन्तको ध्यान तान्यो । उनले तत्काल सामाजिक सञ्जालमार्फत नै विज्ञापनकर्ता अनुसन्धान गर्न थालिन् । विज्ञापनमा सम्पर्क नम्बर पनि थियो । शंकास्पद देखिएपछि उनले सोही नम्बरमा फोन गरिन् । र, ग्रिन कफीको अर्डर गरिन् । सात हजार नौ सय ८० रुपैयाँमा उनले तीन सय ग्राम कफी पनि खरिद गरिन् । 

घरमा दिदीमा मोटोपनको समस्या थियो । खरिद गरेको ग्रिन कफी उनले दिदीलाई खुवाउन थालिन् । ग्रिन कफीले वाकवाक लगाउने समस्या देखायो । तर, तौल घटाउने कुनै संकेत देखाएन । उनले अन्य प्रयोगकर्तासँग पनि ग्रिन कफीका बारेमा सोधखोज गरिन् । तर, विज्ञापनमा भनिएजस्तो कुनै असर नदेखाएको प्रतिक्रिया प्रयोगकर्ताबाट पाएपछि उनले कम्पनीको खोजी गरिन् । खुसिबुस्थित एक घरमा टिम वान सप्लायर्स प्रालि नामको कार्यालय भेटियो । सोही कार्यालयबाट ग्रिन कफी बिक्री भएको खुलेपछि प्रहरीले छापा मार्‍यो । 

घटनास्थलबाट ६ सय ४४ केजी ग्रिन कफीसहित २५ थान ल्यापटप र कम्प्युटर बरामद भयो । घटनास्थलमा आशिष आचार्य र रसियन नागरिक इगोर पक्राउ परे । प्रहरीले इगोरको कोठामा खनतलासी लियो । कोठाबाट जब बिट क्वाइन माइनिङ गर्न प्रयोग हुने उपकरण भेटियो, त्यसपछि उनीहरू कफी बेच्ने आवरणमा बिट क्वाइन माइनिङको धन्दामा संलग्न रहेको रहस्य खुलेको हो ।