१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १८ बुधबार ०७:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संस्कृतिविद् सत्यमोहन जोशीका नाममा सरकारले विद्यालय खोल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १८ बुधबार ०७:४७:००

सरकारले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा सार्वजनिक विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा सरकारले जोशीका नाममा विद्यालय स्थापनाका लागि तयारी सुरु गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रपति भण्डारीको सन्देश लिएर मंगलबार जोशी निवास पुगेका थिए । मन्त्रीको टोलीमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत थिए ।

जोशीले सरकारको पहललाई सकारात्मक रूपमा लिँदै यसले समग्रमा संस्कृतिविद्, इतिहासविद् र साहित्यकारको सम्मान भएको महसुस भएको बताएका थिए । आफ्नो नाममा विद्यालय खोल्ने चाहना राख्नु सौभाग्यको विषय भएको उनको भनाइ थियो । जोशीले आवश्यकताका आधारमा विद्यालय निर्माण गर्न आग्रह गरेका थिए ।

सरकारले जोशीको तस्बिरअंकित हुलाक टिकट र सिक्का बजारमा ल्याइसकेको छ ।  संस्कृतिविद् जोशीको नाममा खुल्ने विद्यालय नेपालकै नमुना र उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा पर्ने शिक्षामन्त्री श्रेष्ठको भनाइ छ । ‘संस्कृतिविद् जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसक्नुभएको छ । अब सरकारले उहाँको नाम अनन्तकालसम्म रहने गरी विद्यालय निर्माण गर्नेछ,’ उनले भने । आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको उनले बताए । जोशीको नाममा खुल्ने विद्यालयको नाम ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’ हुनेछ । मूलढोकामा जोशीको पूर्णकदको प्रतिमा, सुन्दर बगैँचासहितको विद्यालय निर्माण गर्ने सरकारको लक्ष्य छ ।

विद्यालय स्थापना गर्ने स्थान भने यकिन भएको छैन । मन्त्री श्रेष्ठले एक सय एक वर्ष पुगेका जोशीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएका थिए । जोशीले आफू स्वस्थ भएको प्रतिक्रिया दिएको शिक्षामन्त्री श्रेष्ठको भनाइ छ ।