केराउ, मरिच र छोकडाको आयातमा परिमाणात्मक बन्देज, सुन आयातको कोटा भने बढेन
सरकारले महँगा सवारीसाधनको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयातमा लगाइएको प्रतिबन्ध हटाएको हो ।
अघिल्लो वर्ष १६ चैतमा सरकारले केराउ, छोकडा, मरिच, तयारी मदिरा र ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले २३ असोज ०७७ मा राजपत्रमा सूचना प्रकाशन गर्दै तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध भने हटाएको थियो । त्यस्तै, कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त अन्तर्राष्ट्रिय संघ–संस्था र कूटनीतिक सुविधाप्राप्त कर्मचारीले ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारी आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
सरकारले लकडाउनका वेलामा व्यापार घाटा रोक्दै मुलुकको शोधनान्तर अवस्थालाई सन्तुलित बनाउन भन्दै ती वस्तुको आयातमा लगाएको पूर्ण प्रतिबन्ध एक वर्षपछि हटाएको हो । गत २५ फागुनको मन्त्रिपरिषद् बैठकले महँगा सवारी आयातमा लगाएको प्रतिबन्ध हटाउने तथा केराउ, मरिच र छोकडाको आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको हो । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।
कति भित्रिन्छ महँगा सवारी ?
नेपालमा महँगा सवारीको आयात नगण्य रहेको अटोमोबाइल व्यवसायीहरू बताउँछन् । चालू आर्थिक वर्षको आठ महिनामा ६२ अर्ब ८३ करोड रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ । गत आर्थिक वर्षमा ६५ अर्ब रुपैयाँबराबरको सवारीसाधन आयात भएको थियो । कुल सवारीसाधनमा ५० हजार डलरभन्दा बढी मूल्य पर्ने सवारीको हिस्सा १–२ प्रतिशत मात्रै हुने नेपालका लागि टोयटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट्स प्रालिका अध्यक्ष तथा सिइओ सुरज वैद्यले बताए ।
यस्ता सवारीसाधनमा उच्च भन्सार दरका कारण मूल्य बढी पर्ने भएकाले नगण्य मात्रमा बिक्री हुने उनी बताउँछन् । ‘महँगा सवारीको आयातमा लगाइएको प्रतिबन्ध हटाउने सरकारी निर्णय स्वागतयोग्य नै छ,’ उनले भने, ‘तर, उच्च भन्सार दरका कारण यस्ता सवारी कम आयात हुने भएकाले यस निर्णय धेरै प्रभावकारीचाहिँ हुनेछैन ।’
सुन आयातको कोटा भने बढाइएन
सरकारले केराउ, मरिच, छोकडा, मदिरा र महँगा सवारीको आयातमा प्रतिबन्धसँगै सुन आयातको कोटासमेत घटाएको थियो । सरकारले सुनको आयात कोटालाई प्रतिदिन २० किलोग्रामबाट १० किलोग्राममा झारेको थियो । अन्य वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाउने तथा खुकुलो बनाउने निर्णय गरिए पनि सुनको कोटा भने यथावत् नै छ । व्यवसायीहरूले बजारमा मागअनुसार सुनका गरगहना आपूर्ति गर्न नसकिएको तथा तस्करी बढेको भन्दै व्यवसायीले आयातको कोटा बढाउन माग गर्दै आएका छन् ।
कस्तो छ चार कृषि वस्तुको परिमाणात्मक बन्देज ?
सरकारले केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको छ । जसअनुसार चालू आर्थिक वर्ष ०७७/७८ का लागि केराउ ८० हजार मेट्रिकटन, सुपारी २५ हजार मेट्रिकटन, छोकडा ५ हजार मेट्रिकटन र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन ल्याउन पाइनेछ । चालू आर्थिक वर्षमा सो परिमाणभन्दा बढी आयात हुनेछैन । आगामी आर्थिक वर्षका लागि परिमाण तोक्न भने सरकारले अर्कै सूचना ल्याउनुपर्ने हुन्छ । हाल नेपालमा वार्षिक ११ अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरको केराउ, मरिच र छोकडा आयात हुने गरेको छ ।