आगलागी, भूकम्प हाम्रो नियन्त्रणमा भएको विपत् होइन, सावधानी अपनाउन सके यसबाट बच्न र बचाउन सकिन्छ
गर्मी तथा हावाहुरीको मौसम नआउँदै ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा आगलागी हुँदा ४९ भन्दा बढी घर जले । ताप्लेजुङ जिल्लाका मात्रै विभिन्न बस्तीहरूमा वि.सं. ०६०, ०६९, ०७०, ०७१ र ०७७ वैशाखमा ठूलो आगलागी भएको देखिन्छ । त्यस्तै, तेह्रथुमको सदरमुकाममा ०७३ को आगलागीले म्याङलुङको पुरानो संक्रान्ति बजार नै खरानी भएको थियो । झापाको मेचीनगर भानु टोलमा ०७५ सालमा आगलागी हुँदा २२ घर जलेर पूर्ण रूपमा नष्ट भए । मेचीनगरमा एउटा मात्र दमकल भएको र त्यसले पनि समयमा काम गर्न नसक्दा आगलागी नियन्त्रण गर्न ढिला भएको बताइएको थियो । त्यस्तै, ०७४ मंसिरमा झापाकै शिवसताक्षी नगरपालिकामा आगालागीमा परी एकै परिवारका चारजनाको ज्यान गयो, नगरपालिकाको आफ्नै आगो निभाउने संयन्त्र नभएकाले अन्य नगरपालिकासँग समन्वय गरेर दमकल आइपुग्दासम्म ठूलो क्षति हुन पुग्यो ।
०७४ साल पुस पहिलो हप्ता वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी भयो । आगलागीमा परेर दुईजना अग्निनियन्त्रकको मृत्यु भयो । यो ग्यास उद्योगमा भएको आगलागीको घटना केही समय देशभर चर्चाको विषय बन्यो, तर बिस्तारै यो घटना सबैले बिर्सिंदै गए । गत वर्ष लमजुङको एक कृषि फार्ममा आगालागी हुँदा ठूलो संख्यामा कुखुरा, बाख्रा जले । सन् २००९ मा रामेछाप बजारको जंगलमा लागेको आगलागी नियन्त्रण गर्ने क्रममा कम्तीमा १३ जना सैनिकको मृत्यु भएको थियो । यसबाट अग्निनियन्त्रणका लागि सेनासँग पर्याप्त स्रोत, प्रशिक्षण र अनुभव नभएको प्रस्ट देखिन्छ । काठमाडौं उपत्यकाभित्रै पनि हरेक वर्ष आगलागीका घटना भएको र समयमै नियन्त्रणमा नआउँदा ठूलो जनधनको क्षति भएको पाइन्छ । गत वर्ष ग्वार्काेस्थित एक पेट्रोल पम्पमा आगलागीबाट ठूलो क्षति भएको थियो । अघिल्लो मंसिरमा काठमाडौंमा एक केबल नेटवर्कको कार्यालयमै आगलागी भएको थियो । सन् २०२० मा भएका दैवी विपद्मध्ये सबभन्दा बढी आगलागीका घटना देखिन्छन् ।
सन् २०२० मा सबभन्दा बढी मृत्यु (३०३) पहिरोबाट भएको देखिए पनि सम्पत्तिको क्षतिका दृष्टिले आगलागीबाट अन्य विपद्भन्दा धेरै क्षति भएको देखिन्छ । सन् २०२० मा आगलागीले करिब एक अर्ब ५६ करोड रुपैयाँबराबरको क्षति भयो । यो एक वर्षमा मात्रै पनि दुई हजार एक सय २९ आगलागीका घटना भएको र ती घटनामा ५७ जना मानिसको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । यस तथ्यांकले नेपालमा आगलागीको उच्च जोखिम देखाउँछ । पहिला–पहिला सुक्खा याममा मात्र सुनिने आगलागीको घटना अहिले वर्षा तथा चिसो समयमा पनि सामान्य भएको छ । घरको चुलोबाट सुरु हुने आगलागी अब ग्यास सिलिन्डर, बिजुली सर्ट आदिका कारण धेरै हुन थालेको छ । जुनसुकै वेला हामी आगलागीको चपेटामा पर्न सक्ने सम्भावना बढेको छ ।
सन् २०२० मा आगलागीले करिब एक अर्ब ५६ करोड रुपैयाँबराबरको क्षति भयो । यो एक वर्षमा मात्रै पनि दुई हजार एक सय २९ आगलागीका घटना भएको र ती घटनामा ५७ जना मानिसको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । यस तथ्यांकले नेपालमा आगलागीको उच्च जोखिम देखाउँछ ।
आगलागीको एउटा प्रमुख कारण विद्युत् सर्ट हो । हाम्रो व्यवस्थित तरिकाले घर वाइरिङ गर्ने, दक्ष प्राविधिकबाट वाइरिङको काम गराउने चलन उतिसारो छैन । जसकारण घरमा प्रयोग गरिएको तार तथा फ्युजको क्षमता तथा विद्युतीय सामग्रीको भारको तारतम्य नमिल्दा विद्युत् सर्ट भएर आगो लाग्ने सम्भावना हुन्छ । घरमा के–कस्ता बिजुलीका सामग्री प्रयोग गरिन्छ, तिनको भारअनुसारको तार र फ्युज प्रयोग गर्नुपर्छ । विद्युतीय उपकरण पनि गुणस्तरीय नै प्रयोग गर्नुपर्छ । आफू घरमा नहुँदा ती उपकरण बन्द गर्नुपर्छ । तर, हामी जथाभावी तार प्रयोग गर्ने, जतासुकै तार जोड्ने, बिजुली चोरेर सीधै प्रयोग गर्ने, विद्युतीय उपकरणहरू चिसो ठाउँमा राखेर चलाउने गर्छौं ।
पछिल्लो समय सहरी क्षेत्रमा आगलागीको अर्काे प्रमुख कारण ग्यास सिलिन्डर बन्दै गएको छ । नेपालमा ग्यास सिलिन्डरको गुणस्तरको मापन गर्ने र नियमन गर्ने गरिएको पाइँदैन । निम्न गुणस्तरीय सिलिन्डर र पाइपको प्रयोगले आगलागी हुने र नियन्त्रण गर्न गाह्रो भएको पाइन्छ । यसबाट बाँच्न सकेसम्म ग्यास सिलिन्डरलाई भान्छाबाहिर सुरक्षित स्थानमा राख्ने, खाना पकाइसकेपछि ग्यास बन्द गर्ने, वेलावेलामा पाइप परीक्षण गर्ने, विश्वासिलो कम्पनीको ग्यास प्रयोग गर्ने, सिलिन्डर किन्दा नयाँ र नकुच्चिएको किन्ने जस्ता कुरामा ध्यान राख्ने गर्नुपर्छ । प्रत्येक नयाँ सिलिन्डरको सुरुको १० वर्षपछि परीक्षण गरिनुपर्छ । परीक्षणमा प्रयोगका लागि उपयुक्त देखिए मात्र पुनः प्रयोग गर्न मिल्छ । त्यसपछिको १० वर्षसम्म प्रत्येक पाँच–पाँच वर्षमा परीक्षण गराउनुपर्छ । २० वर्ष कटेपछि भने तीन–तीन वर्षमा नेपाल गुणस्तर तथा नापतौल विभाग वा अन्य अख्तियारप्राप्त तेस्रो पक्षको रोहबरमा परीक्षण गर्नुपर्ने हुन्छ । तर, हामीकहाँ यसो गरिएको पाइँदैन । सिलिन्डरको भल्बको नियमित परीक्षण गर्ने गर्नुपर्छ । कतिपय ग्यास उद्योगले सिलिन्डरमा बिग्रिएका तथा ग्यास लिकेज हुने भल्बलाई मर्मत गरेर पुनः अर्काे सिलिन्डरमा लगाउने गरेका छन्, यो गलत हो । सिलिन्डरमा पुरानो भल्ब फालेर नयाँ प्रयोग गर्नुपर्छ । सिलिन्डरलाई ओसारपसार गर्दा पनि फाल्ने, गुडाउने गरिन्छ, जसले गर्दा सिलिन्डरलाई कमजोर बनाउँछ ।
नेपालका सहरी क्षेत्रमा आगलागीको उच्च जोखिम हुनुमा साँघुरा सडक तथा गल्ली, घना बस्ती, पानीको अभाव, निम्न गुणस्तरका विद्युतीय सामग्री (ट्रान्सफर्मर, तार, हिटर, फ्युज आदि), अव्यवस्थित तथा असुरक्षित पेट्रोल तथा डिजेल पम्प, अग्निनियन्त्रणका साधन र जनशक्तिको अभाव, भवनको स्वरूप र निर्माण सामग्रीलगायतका कारण प्रमुख छन् । राज्यले विगतमा आगलागीलाई विपद््को रूपमा लिएको थिएन । सन् २०१० मा नेपाल सरकारले आगोबाट हुने जोखिमलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको छ । आगलागीलाई मुख्य (प्राइमरी) जोखिम र सहायक (सेकन्डरी) जोखिमका रूपमा लिने गरिन्छ । भूकम्प जानासाथ पनि विभिन्न कारणले आगलागी हुने सम्भावना हुन्छ, यसलाई सहायक (सेकन्डरी) जोखिममा लिइन्छ । काठमाडौंजस्तो भूकम्पको उच्च जोखिममा रहेको क्षेत्रमा आगलागीको जोखिम पनि उच्च नै छ ।
संसारमा कतै पनि पेट्रोल पम्पहरू घना बस्ती तथा बजारको बीचमा राखिँदैन । काठमाडौंमा खोलिएका विनामापदण्डका पेट्रोल पम्पहरूमा कथंकदाचित आगो पुग्यो भने त्यसले हाम्रो कल्पनाबाहिरको स्थिति ल्याउन सक्छ । यसलाई राज्यका सम्बन्धित निकायहरूले बेवास्ता गरेका छन् । असन, मंगलबजारजस्ता घना आवादी भएका, घरहरूमा काठको धेरै प्रयोग गरिएका तथा मानिस ओहोरदोहोर गर्न पनि गाह्रो हुने गल्ली भएको, पानीको ठूलो र भरपर्दाे स्रोत नभएका धेरै स्थान नेपालका सहरी क्षेत्रमा छन् । त्यस्ता स्थान जहिले पनि आगलागीको जोखिममै रहन्छन् । ठूलो क्षति हुनबाट जोगाउन यस्ता ठाउँमा फायर हाइड्रेन्टको व्यवस्था गर्नुपर्छ । काठमाडौंका केही स्थानमा धेरै पुराना र नचल्ने अवस्थामा फायर हाइड्रेन्ट रहेको देख्न सकिन्छ । ती फायर हाइड्रेन्टले पहिला आगलागीबारे सोचविचार गर्ने गरिएको, तर हिजोआज सहरी योजनामा यो नपरेको दर्साउँछ ।
सन् १९३७ मा राणा प्रधानमन्त्री जुद्धशमशेरले आगलागी नियन्त्रण गर्न स्थापना गरेको बारुण यन्त्र कार्यालयको स्थितिमा आज ७८ वर्षपछि पनि साधनस्रोतका हिसाबले खासै बढोत्तरी भएको छैन । तर, यसबीच काठमाडौंको जनसंख्या तथा आवासको संख्यामा कैयौँ गुणा वृद्धि भएको छ ।
काठमाडौंको सन्दर्भमा मेलम्चीको पाइप राखिँदै गरेको अवस्थामा ठाउँ–ठाउँमा फायर हाइड्रेन्ट राख्न सम्बन्धित निकायले सोच्नुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रत्येक २० हजार जनसंख्यालाई एक अग्निनियन्त्रक र २८ हजार जनसंख्यालाई एक बारुण यन्त्र चाहिन्छ । तर, अहिलेका धेरै नगरपालिकामा बारुण यन्त्र (दमकल) नै छैनन् । उदाहरणका लागि, ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगो लागेमा त्यहाँ भएको एउटा दमकलले नपुग्ने अवस्थामा इलाम वा झापाबाट बारुण यन्त्र मगाउनुपर्छ । इलामबाट फुङलिङ पुग्न कम्तीमा ५–६ घन्टा लाग्छ । यस्तो अवस्था नेपालका अधिकांश नगरपालिकामा छ । तर, करिब ३५ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा १० वटा बारुण यन्त्र (दमकल) पनि तयारी अवस्थामा छैनन् । सन् १९३७ मा राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले आगलागी नियन्त्रण गर्न स्थापना गरेको बारुण यन्त्र कार्यालयको स्थितिमा आज ७८ वर्षपछि पनि साधनस्रोतका हिसाबले खासै बढोत्तरी भएको छैन । तर, यसबीच काठमाडौंको जनसंख्या तथा आवासको संख्यामा भने कैयौँ गुणा वृद्धि भएको छ । राज्यले नगरपालिकाको जनसंख्या हेरेर कम्तीमा एक नगरपालिका एक दमकल र अग्निनियन्त्रकको व्यवस्था अनिवार्य गर्नुपर्छ । व्यक्तिगत सुविधाका निम्ति अनावश्यक सवारीसाधन खरिदमा केन्द्रित स्थानीय निकायहरूले वेलैमा यसतर्फ ध्यान पुर्याउनु जरुरी छ ।
आगो निभाउन प्रयोग हुने रासायनिक पदार्थ (फोम वा अन्य रासायनिक पदार्थ) प्रयोग कम हुँदा भएका बारुण यन्त्रले पनि प्रभावकारी काम गर्न सक्दैनन् । करिब चार–पाँच हजार लिटर मात्रै पानी राख्न मिल्ने दमकलले यति थोरै पानीको सहारामा मात्रै आगो निभाउन सक्दैनन् । विशेष प्रकारको ग्यास प्रयोग गर्दा ठूलो क्षेत्रमा लागेको आगो निभाउन सकिने भए पनि प्राविधिकको अभावमा ग्यास प्रयोगमा ल्याउन नसकिएको सरकारी निकायको दाबी रहँदै आएको छ । समयमै बारुण यन्त्र नपुग्दा ठूलो क्षति भएको घटनाबाट हामी अनभिज्ञ छैनौँ । सके सबै ठाउँमा बारुण यन्त्र, नभए ट्यांकर वा जे–जे उपलब्ध हुन सक्छन्, ती साधन तयारी अवस्थामा राख्नू आवश्यक छ । यसका लागि सरकारी निकायले तदारुकता देखाउनुपर्छ । साधन भएर मात्र हुँदैन, जनशक्तिको पनि उत्तिकै खाँचो हुन्छ । आवश्यक साधनस्रोत र जनशक्ति तयारी अवस्थामा रहने हो भने आगलागी सुरु भएको केही समयमै नियन्त्रणमा लिने र क्षति न्यून गर्ने सम्भावना रहन्छ । हालै मात्र सामजिक सञ्जालमा नेपालगन्ज विमानस्थलमा अग्निनियन्त्रणको पूर्वाभ्यास भनिएको एउटा भिडियो देखिएको थियो, जहाँ पेट्रोलबाट बलेको आगो निभाउन दमकलबाट पानीको फोहोरा हालिरहेको देखिन्छ, जुन अत्यन्त गलत अभ्यास हो । यसले आगो निभ्नेभन्दा झन् जोखिम बढाउने खतरा हुन्छ । कार्बनडाइअक्साइड वा अन्य पदार्थ प्रयोग गरिनुपथ्र्याे । यसबाट हामीसँग खास ज्ञान र तालिमप्राप्त अग्निनियन्त्रकको कमी छ भन्ने प्रस्टै बुझिन्छ ।
ठूला मल, सार्वजनिक कार्यालय तथा अपार्टमेन्ट र पेट्रोल पम्पमा आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने आधारभूत सामग्री (फायर एक्सटिङ्गुइसर)को अनिवार्य व्यवस्था गरिनुपर्छ । आगो निभाउने यन्त्र वा सामग्री प्रयोगको तौरतरिका मल वा कार्यालयमा काम गर्ने सबै तहका कर्मचारी तथा कामदारलाई सिकाउनु पनि आवश्यक हुन्छ । हरेक ६ महिना वा प्रत्येक वर्ष आगो निभाउने यन्त्र वा सामग्रीको प्रयोग गर्ने अभ्यास गर्नुपर्छ । आगो निभाउने साधनको प्रत्येक वर्ष वा केही निश्चित अवधिमा परीक्षण गरेर समयावधि अंकित गरिराख्नु पर्छ । नेपालको हकमा धेरैजसो ठूला सपिङ मल तथा कार्यालयहरूमा आगो निभाउने साधन देखिँदैनन् । भएका ठाउँमा पनि पुरानो भएका, धुलोले ढाकिएका र नचल्ने अवस्थामा देख्न सकिन्छ । साधारणतः आगलागीको सुरुवात सानो झिल्कोबाटै हुन्छ । उक्त झिल्कोलाई समयमै नियन्त्रण गर्न वा निभाउन सकियो भने ठूलो जनधनको नोक्सानीबाट जोगिन सकिन्छ । यस्ता स्थानमा अनिवार्य रूपमा आगो निभाउने साधन तथा यन्त्रको व्यवस्था भयो र त्यहाँ कार्यरत सबै कर्मचारीले उक्त अग्निनियन्त्रण उपकरणको प्रयोग गर्न सक्ने हो भने आगोलाई समयमै नियन्त्रण गर्न सकिन्छ । होइन भने आगोको सानो रूप देख्दा पनि केही गर्न नसक्ने अवस्था आउँछ र बारुण यन्त्र आउने वेलासम्म आगो नियन्त्रणबाहिर गइसकेको हुन्छ ।
नेपालमा २०–२५ तलाका भवनहरू बनिसकेका छन्, बन्ने क्रम बढ्दो छ । केही समयअगाडि काठमाडौंको रविभवनस्थित एक अपार्टमेन्टमा आगलागी भयो । समयमा आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन पाएन । तर, विडम्बना भन्नुपर्छ, हामीसँग भएको साधनले केवल १० तलासम्मको आगो नियन्त्रण गर्न सकिन्छ । भवन आचारसंहितामा आगलागीको जोखिम कम गर्ने बुँदाहरू समावेश गरी त्यसको पालनामा कडाइ गरिनुपर्छ । सार्वजनिक तथा बहुतले भवनमा सानो किसिमको अग्नि नियन्त्रण गर्ने साधन अनिवार्य गरिनुपर्छ ।
गाउँघर तथा सहरी बस्तीमा आगलागी रोक्न नेपालमा करिब १० वर्षअगाडिदेखि नै त्रिभुवन विश्वविद्यालय तथा नास्टका प्रकोप जोखिम न्यूनीकरणविद्द्वारा साह्रै सरल तथा सस्तो प्रविधि सरकारसामु समय–समयमा पेस गर्दा पनि सरकारले अहिलेसम्म त्यसका लागि उपयुक्त कदम नचाल्नु दुःखलाग्दो अवस्था हो । आगलागीको जोखिम कम गर्न धुवाँ आउनु वा आगो लाग्नासाथ सूचना चेतावनी दिने यन्त्रको प्रयोग विश्वभरि प्रचलित छ । यस्ता उपकरण खासै महँगा पनि हुँदैनन् । प्राविधिक हिसाबले पनि सरल छन् । प्रत्येक घरमा यस्ता यन्त्र अनिवार्य गर्न सकेमा आगलागीको जोखिम धैरै हदसम्म कम गर्न सकिन्छ । गाउँघरतिर जथाभावी आगो बाल्ने, आगोको काम सकेपछि पनि ननिभाउने, हावाहुरी चल्दा पनि आगो बाल्ने चलन छ । सुक्खा तथा हावाहुरीको यो याममा यसले विपद् निम्त्याउन सक्छ भन्ने सचेतना उनीहरूमा जगाउन पनि जरुरी छ । आगलागी, भूकम्पजस्तो हाम्रो नियन्त्रणमा भएको विपद् होइन । हामीले सावधानी अपनाउन सके यसबाट बच्न र बचाउन सकिन्छ ।