मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण २४ सोमबार
  • Wednesday, 18 December, 2024
जोसेफ एस नायी
२o७७ फाल्गुण २४ सोमबार o७:५७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–चीनको युद्ध केले सुरु गराउला ?

चीनको उदयबाट अमेरिकाको मनमा उत्पन्न हुने भय र चीनमा बढ्दो राष्ट्रवाद खतरनाक साबित हुन सक्छ 

Read Time : > 2 मिनेट
जोसेफ एस नायी
नयाँ पत्रिका
२o७७ फाल्गुण २४ सोमबार o७:५७:oo

चीनका विदेशमन्त्री वाङ यीले हालसालै अमेरिका र चीनबीचको द्विपक्षीय सम्बन्ध पुनर्गठन गर्नुपर्ने माग गरे । जवाफमा ह्वाइट हाउसका एक प्रवक्ताले अमेरिकाले चीनसँगको सम्बन्धलाई प्रतिस्पर्धात्मक सम्बन्धको रूपमा लिएको बताए । बाइडेनले ट्रम्पका सबै नीति उल्टाइरहेका छैनन् भन्ने पछिल्लो उदाहरण हो, यो ।

केही विज्ञले पहिलेदेखि नै चीन र अमेरिका एकअर्कासँग भिडन्ततर्फ अघि बढेको बताउँदै आएका छन् । तर, म भने त्यति धेरै निराशावादी छैन । मेरो विचारमा आर्थिक र पर्यावरणीय अन्तरनिर्भरताले शीतयुद्ध वा गरम युद्धको सम्भावनालाई न्यूनीकरण गर्छ ।

अमेरिका र चीनबीच सहकार्यका थुप्रै क्षेत्र अझै विद्यमान छन् । बदलिँदो शक्ति सन्तुलनको समीकरणबारे गलत बुझाइका कैयौँ ऐतिहासिक उदाहरण भेटिन्छन् । जस्तो– सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको भ्रमण गर्दा उनमा शक्ति हासिल गरिरहेको सोभियत संघबाट गिर्दो अमेरिकामाथि परेको दबाबलाई सन्तुलनमा राख्न चीनको सहयोग आवश्यक पर्ने सोच थियो ।

तर, निक्सनले गिर्दो भनेको अमेरिकाले विश्वव्यायी अर्थतन्त्रमा आफ्नो हिस्सा बढाइरहेको थियो । निक्सनले त्यस समय बहुध्रुवीय विश्व धेरै टाढा नरहेको बताएका थिए । तर, केही दशकमा सोभियत संघको पतन भयो र दुई दशकसम्म अमेरिका निर्विवाद महाशक्ति रह्यो । आज केही विज्ञ अमेरिकाको शक्तिलाई अवमूल्यन गर्दै चीनको अधिपत्यको भविष्यवाणी गरिरहेका छन् ।

चीनको अर्थतन्त्र अमेरिकाको भन्दा दुईतिहाइ आकारको छ । अर्थशास्त्रीहरूले सन् २०३० को दशकभित्र चीनले अमेरिकालाई पछि पार्ने प्रक्षेपण गरेका छन् । आर्थिक रूपमा चीनले अमेरिकालाई उछिनेपछिका दिनमा अमेरिकी नेतृत्व नयाँ परिस्थिति स्विकार्न तयार होला ? वा उनीहरूलाई डरले खाला ? अनि नयाँ परिस्थितिमा चीनका नेताले थप जोखिम उठाउलान् कि बदलिँदो शक्ति वितरणअन्तर्गत अमेरिका र चीन विश्वव्यापी जनकल्याण निर्माण गर्न सहकार्य गर्न तयार होलान् । 

उदाउँदो शक्ति र स्थापित शक्तिबीचको द्वन्द्व अवश्यम्भावी घोषित गर्ने थुसिडाइड्सलाई यहाँ सम्झौँ । यस्तो युद्ध दुई कारणले हुने भन्दै थुसिडाइड्स लेख्छन् : नयाँ शक्तिको उदय र स्थापित शक्तिको मानमा उत्पन्न हुने डर । यी दुईमध्ये दोस्रो कारण पहिलो जात्तिकै महत्वपूर्ण छ । अमेरिका र चीनले एकअर्कासँगको शीतयुद्ध वा गरम युद्ध पन्छाउने हो भने एकअर्काप्रति अतिशय भय उत्पन्न हुन दिनुहुँदैन । चीन कुनै दिन अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र होला, तर राष्ट्रिय आय मात्रै भूराजनीतिक शक्तिको मापन होइन ।

सफ्ट पावरमा चीन अमेरिकाभन्दा निकै पछाडि छ र हार्ड पावरमा पनि अमेरिकाले चीनले भन्दा चार गुणा बढी सैन्य खर्च गर्छ । अर्कोतर्फ आगामी दशक चीनले उसको बिआरआईका पूर्वाधार परियोजनाका लागि दश खर्ब डलर खर्च गर्ने योजना अघि सारेको छ । यही समयमा अमेरिकाले भने सहयोग रकममा कटौती गरिरहेको छ । विशाल बजार चीनको आर्थिक शक्ति हो ।

उदाउँदो शक्ति र स्थापित शक्तिबीचको द्वन्द्व अवश्यम्भावी घोषित गर्ने थुसिडाइड्सका अनुसार यस्तो द्वन्द्व दुई कारणले हुन्छन्– नयाँ शक्तिको उदय र स्थापित शक्तिको मानमा उत्पन्न हुने डर

अमेरिकाको सापेक्षमा चीनको आर्थिक शक्ति आगामी दिनमा बढ्नेछ । शक्ति सतुलनमा को अघि छ भनेर यकिनका साथ भन्न सकिँदैन । जस्तो अमेरिकाको हकमा रहेका केही दिगो लाभका क्षेत्रमा चीन कमजोर देखिन्छ । त्यस्तो एउटा लाभको क्षेत्र भूगोल हो । अमेरिकाको दुईतर्फ महासागर र उसका दुई छिमेकी भविष्यसम्म ऊसँग मित्रवत् रहने सम्भावना छन् । तर, चीनको सिमाना १४ देशसँग जोडिएको, जसमध्ये भारत, जापान र भियतनामसँग सीमामा विवाद छ । 

ऊर्जा अमेरिका अग्रणी रहेको अर्को क्षेत्र हो । एक दशकअघिसम्म पनि अमेरिका ऊर्जाका लागि आयातमा निर्भर थियो । तर, सेल प्रविधिमार्फत निकालिने तेलमा आएको क्रान्तिले ऊ निर्यातकर्ताको हैसियतमा पुगेको छ । चीन भने ऊर्जाका लागि मध्यपूर्वमाथिको निर्भरता बढ्दै गएको छ । जनसंख्या पनि अमेरिकाको सबलता हो । पछिल्ला वर्ष अमेरिकाको जनसंख्या वृद्धिदर केही घटे पनि रुस, जापानको जस्तो ऋणात्मक छैन । चीनलाई भने आफू समृद्ध हुनुअघि नै आफ्नो जनसंख्या वृद्ध होला भन्ने डर सुरु हुन थालिसकेको छ । २१औँ शताब्दीमा महत्वपूर्ण ठहरिने प्रविधिमा पनि अमेरिका धेरै अगाडि छ । 

त्यसैले अमेरिकीले आफ्ना सबलता ख्याल नगर्ने हो भने उसलाई डरले खानेछ । डरको वशमा परेर उसले उग्र प्रतिक्रिया जनाउने सम्भावना हुन्छ । चीनमा बढ्दो राष्ट्रवाद अर्को खतरनाक पक्ष हो । राष्ट्रवाद र अमेरिकाको क्षयको प्रक्षेपणको विश्वासमा उसले ठूलो जोखिम मोल्न सक्छ । दुवै पक्ष यस्ता गलत अनुमानबाट सतर्क रहनुपर्छ । धेरै अवस्थामा आफ्नो क्षमतासम्बन्धी गलत मूल्यांकनका कारण हामी सबैभन्दा ठूलो जोखिम सामना गर्छौं । 
 (नायी हावर्ड विश्वविद्यालयका प्रध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट