मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २२ मंगलबार
  • Tuesday, 17 December, 2024
जोसेफ एस नायी जुनियर
२o७८ भदौ २२ मंगलबार १o:३८:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सेप्टेम्बर ११ का कारण के बदलियो ?

Read Time : > 3 मिनेट
जोसेफ एस नायी जुनियर
नयाँ पत्रिका
२o७८ भदौ २२ मंगलबार १o:३८:oo

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी भूमिमा भएको आतंकवादी आक्रमणले धेरैलाई स्तब्ध बनायो । जलिरहेको ट्विन टावरमाथि फसेका मानिसहरू ज्यान बच्ने आशामा भवनबाट हामफालेका मानिसको दृश्यको छाप धेरैको दिमागमा लामो समयसम्म कायम रह्यो । आक्रमणपछि लागू गरिएका कैयौँ हस्तक्षेपकारी सुरक्षा व्यवस्था अहिले पनि हटेको छैन । तर, धेरै विज्ञ त्यस दिन इतिहासको मार्ग नै बदलिएको मान्न तयार छैनन् । यस्ता विचार राख्नेहरूका अनुसार तत्कालीन भौतिक क्षतिले अमेरिकी शक्तिलाई खासै बढी हानि गरेन । 

एक प्रक्षेपणअनुसार सन् २००१ मा अमेरिकाको कुल गार्हस्थ्य उत्पादन वृद्धि तीन प्रतिशतले घटेको थियो । आक्रमणमा भएको क्षतिका लागि ४० अर्ब डलरको बिमा दाबी भएको थियो, जुन तत्कालीन १०० खर्ब डलरको अमेरिकी अर्थतन्त्रका लागि सानो अंश मात्रै थियो । अल–कायदा अपहरणकारीले चारवटा वायुयानलाई क्रुज मिसाइलमा बदलेर न्युयोर्क, पेन्सिलभेनिया र वासिङ्टन डिसीमा झन्डै तीन हजार मानिस मारे पनि अमेरिकी सडकमा भएको हताहतीभन्दा कम नै थियो । 

मेरो अनुमानमा भविष्यका इतिहासकारले सन् २००१ सेप्टेम्बर ११ लाई सन् १९४१ डिसेम्बर ७ मा पर्ल हार्बरमा जापानले गरेको आक्रमणजसरी हेर्नेछन् । हवाई टापुमा भएको आकस्मिक आक्रमणमा परेर २४ सय अमेरिकी सैनिकले ज्यान गुमाए भने १९ नौसैनिक वाहनहरू ध्वस्त वा क्षतिग्रस्त भएका थिए । दुवै घटनाको सबैभन्दा ठूलो प्रभाव अमेरिकी जनताको मनोविज्ञानमा पर्‍यो । तत्कालीन अमेरिकी राष्ट्रपति फ्रांकलिन डी रुजबेल्टले पहिलेदेखि अमेरिकामाथि धुरी राष्ट्रको जोखिम रहेको चेतावनी दिइरहेका थिए । पर्ल हार्बरमा आक्रमण भएपछि आमअमेरिकीको सोचमा पनि परिवर्तन आयो । 

सन् २००० को राष्ट्रपतीय चुनावमा जर्ज डब्लू बुसले नरम विदेश नीतिको वकालत गरेका थिए । उनले केही अमेरिकी नीतिनिर्मातामा अन्य मुलुकलाई बनाइदिने सोच रहेकोमा त्यसलाई त्याग्नुपर्ने तर्क गरेका थिए । तर, सेप्टेम्बर ११ को आक्रमणपछि उनले ‘आतंकवादविरुद्ध विश्वव्यापी युद्ध’ घोषणा गरे । अफगानिस्तान र इराक यसको घानमा पर्‍यो । केही विश्लेषक उनको प्रशासनका शीर्ष पदाधिकारीको झुकाव हेर्दा इराकका तत्कालीन शासक सद्दाम हुसेनसँग जुन अवस्थामा पनि टक्कर हुने विश्वास गर्छन् । तर, जुन शैली र मूल्यमा त्यो यथार्थमा बदलियो, त्यो भने कसैले सोचेका थिएनन् । 

सेप्टेम्बर ११ को आक्रमणले आतंकवाद मानवीय हताहतीभन्दा पनि मनोविज्ञानसँग जोडिएको कुरा रहेको देखायो । आतंकवाद रंगमञ्चजस्तै हो । आतंकवादीले भने धेरै मार्नेभन्दा धेरै मानिसको मनमा डर फैलाउने शैली अपनाए । विषको प्रयोगमार्फत धेरै मानिसलाई मार्न सकिन्छ, तर विशाल विस्फोटले धेरै मानिसको मनमा डर सिर्जना गर्न सक्छ । बिन लादेनले चाहेजस्तै विश्वभरका टेलिभिजनमा ट्विन टावर गल्र्यामगुर्लुम लडेको दृश्यले उल्लेख्य आतंक सिर्जना ग¥यो । आतंकवादलाई जुजित्सुसँग पनि तुलना गर्न सकिन्छ । जापानी मार्सलआर्ट खेल जुजित्सुमा कमजोर प्रतिद्वन्द्वीले शक्तिशाली खेलाडीको शक्तिलाई तिनैविरुद्ध प्रयोग गर्ने गर्छन् । 

सेप्टेम्बर ११ को आक्रमणमा हजारौँ अमेरिकी मारिए । त्यसपछि अमेरिकाले सुरु गरेको ‘अन्तहीन युद्ध’ले त्योभन्दा धेरैको ज्यान लियो । खासमा अल–कायदाले पुर्‍याएको क्षति अमेरिका आफैँले पुर्‍याएको क्षतिको तुलनामा फिका देखिन्छ । केही आकलनअनुसार सेप्टेम्बर ११ पछिको युद्धमा झन्डै १५ हजार अमेरिकी सैनिक तथा कन्ट्र्याक्टर मारिए । यस लडाइँमा ६० खर्ब डलरको आर्थिक खर्च भयो । अझ लाखौँ विदेशी नागरिकको मृत्यु तथा घरबारविहीनताको मूल्य जोडियो भने क्षति अथाह भएको देखिन्छ । 

आगामी दिनमा यदि अर्को आतंकवादी आक्रमण भयो भने अमेरिकी राष्ट्रपतिले आमजनताको बदलाको मागलाई सहन गरेर चुनिएका स्थानमा निसाना बनाउने र अमेरिकी प्रतिक्रियालाई सबल बनाउने पक्षमा ध्यान केन्द्रित गर्न सक्लान् ? 

तर, यति धेरै खर्चका बाबजुद केही मानिस भने अमेरिकाले आफ्नो लक्ष्य हासिल गरेको बताउँछन् । तिनको विचारमा सेप्टेम्बर ११ पछि त्यही स्तरको आतंकवादी आक्रमण अमेरिकी भूमिमा पुनः नहुनु अमेरिकाको सफलता हो । साथै, सेप्टेम्बर ११ को आक्रमणका लागि जिम्मेवार बिन लादेन र अन्य शीर्ष अल–कायदा नेता मारिए । अर्का अमेरिकाविरोधी नेता सद्दाम हुसेन सत्ताच्युत भए (जबकि सेप्टेम्बर ११ मा उनको संलग्नता पहिलेदेखि नै सन्देहपूर्ण थियो) । तर, अर्को तरिकाले हेर्ने हो भने बिन लादेन सफल भएको तर्क पनि गर्न सकिन्छ । भलै जिहादी आन्दोलन अहिले खण्डित बनेको होला, तर यो पहिलेभन्दा धेरै देशमा फैलिएको छ । र, सेप्टेम्बर ११ कै वार्षिकोत्सवको मुखमा तालिबान पुनः सत्तामा फर्किएका छन् । 

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको दीर्घकालीन असरबारे मूल्यांकन गर्नु अहिले नै हतार हुन्छ । बहिर्गमनको क्रममा अफगानिस्तानको विमानस्थलमा देखिएको अस्तव्यस्त भीडको दृश्यले अमेरिकाको सफ्ट पावरमै धक्का पुगेको छ । यसको अल्पकालीन असर निकै महँगो पर्न सक्छ । तर, दीर्घकालमा बाह्य राष्ट्र निर्माणमा अमेरिकी फौज प्रयोग गर्न बाइडेनले जनाएको अस्वीकृति सही ठहरिन सक्छ । आखिरमा पहाड तथा जातजातिमा विभाजित अफगान जनता वैदेशिक शक्तिको विरोधमा एक थिए । अफगानिस्तान परित्याग गरेपछि बाइडेनले चीनको उदयलाई सन्तुलनमा राख्ने उनको बृहत्तर रणनीतिमा ध्यान केन्द्रित गर्न सक्छन् । 
अव्यवस्थित अफगान बहिर्गमनले अमेरिकाको सफ्ट–पावरमा अहिले जति क्षति पुगे पनि एसियाभित्र शक्ति सन्तुलनको आफ्नै पुरानो परम्परा छ, जहाँ अमेरिकाको आवश्यकता महसुस हुनेछ । विशेषतः जापान, भारत र भियतनाम चीनको पेलाइ सहनेछैनन् । उनीहरू आफैँले अमेरिकी उपस्थितिलाई स्वागत गर्नेछन् । भियतनामको पीडाजन्य बहिर्गमनको २० वर्षमै सो देश तथा त्यस क्षेत्रले अमेरिकालाई स्वागत गरेको इतिहास हेर्दा बाइडेनको बृहत्तर रणनीति जायज ठहरिन्छ । 

सेप्टेम्बर ११ आक्रमणको २० वर्षपछि पनि आतंकवादको समस्या कायम नै छ । आतंकवादीहरूले पनि आतंक मच्चाउने प्रयास गरिरहनेछन् । त्यस अवस्थामा अमेरिकी नेतृत्वले प्रभावकारी प्रतिआतंकवादी रणनीति विकास गर्नुपर्छ । मुख्यतः आतंकवादीको जालमा फसेर आफैँलाई हानि पुर्‍याउन नदिने कुरामा सचेत रहनुपर्छ । नेतृत्व आतंकवादी आक्रमणले पार्न सक्ने मनोवैज्ञानिक त्रासलाई व्यवस्थापन गर्न तयार रहनुपर्छ । 

कल्पना गर्नुस्, सेप्टेम्बर ११ को आक्रमणपछि बुसले विश्वव्यापी आतंकवादविरुद्धको युद्ध नगरेर विचारपूर्वक छनोट गरिएका सैन्य प्रहारमा उन्नत गुप्तचर तथा कूटनीति मिसाइएको भए विश्व कस्तो हुन्थ्यो होला ! अथवा, अफगानिस्तानमा आक्रमण गर्दा पनि उनले ६ महिनाभित्रै सेना फिर्ता गरेको भए के हुन्थ्यो होला ? भलै त्यसका लागि तालिबानसँग वार्ता नै किन गर्नु नपरोस् । आगामी दिनमा यदि अर्को आतंकवादी आक्रमण भयो भने अमेरिकी राष्ट्रपतिले आमजनताको बदलाको मागलाई सहन गरेर चुनिएका स्थानमा निसाना बनाउने र अमेरिकी प्रतिक्रियालाई सबल बनाउने पक्षमा ध्यान दिन सक्छन् ? यो प्रश्न अमेरिकी जनताले आफूलाई सोध्नुपर्ने प्रश्न हो, जसलाई तिनका नेताले सम्बोधन गर्नुपर्छ । 

जोसेफ एस नायी जुनियर हार्वर्ड विश्वविद्यालयको जोन एफ केनेडी स्कुल अफ गभर्नमेन्टका डिन हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य