
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ गाउँपालिकाका सभापति प्रदीप आचार्यसहित ३० जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । रास्वपाको केन्द्रीय नेताहरूको कार्यशैली तथा पार्टीको नीति जनपक्षीय नभएको भन्दै सभापति आचार्यसहितका नेता तथा कार्यकर्ताहरू बिहीबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) गाउँपालिका पार्टी सचिवालय सदस्य एवं एमालेबाट खोटेहाङ गाउँपालिका– ४ बडकादियालेमा निर्वाचित वडासदस्य किरण राईसमेत माओवादी केन्द्र प्रवेश गरेका छन् । राईसँगै एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवालसमेत माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
समाहित भएका तथा पार्टी प्रवेश गरेका नेताहरूलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ पार्टी इन्चार्ज समिता कार्की ‘अस्मिता’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, खोटेहाङ पार्टी इन्चार्ज एवं गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, दिप्रुङ चुइचुम्मा पार्टी अध्यक्ष किसान राई, खोटेहाङ पार्टी अध्यक्ष दीपेन थुलुङ लगायतले अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारी दिएर पार्टीमा सक्रिय गराइने जिल्ला संयोजक आकाशले जानकारी दिए ।
माओवादी केन्द्र खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा पार्टी प्रवेश, समायोजन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेकाे छ । जिल्लामा सञ्चालन गरिने पार्टी प्रवेश, समायोजन तथा प्रशिक्षण कार्यक्रमका लागि नेताहरूबिच कार्यविभाजनसमेत गरिएको माओवादी केन्द्रले जनाएको छ ।