
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार देशको नामकरण परिवर्तन गर्ने आफ्नो पछिल्लो प्रयासमा मे ८ र नोभेम्बर ११ दुवैको नाम ‘विजय दिवस’ राख्ने इच्छा व्यक्त गरेका छन् ।
‘म मे ८ लाई दोस्रो विश्वयुद्धको विजय दिवस र नोभेम्बर ११ लाई पहिलो विश्वयुद्धको विजय दिवसका रूपमा पुनः नामकरण गर्दै छु,’ उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।
मे ८ मा युरोपेली संघद्वारा र मे ९ मा पूर्व सोभियत देशहरूमा मनाइने विजय दिवसले जर्मनीको विनासर्त आत्मसमर्पणको औपचारिक स्वीकृतिको वार्षिकोत्सवलाई चिह्नित गर्दछ ।
हिरोसिमा र नागासाकीमा आणविक बम विस्फोटपछि सन् १९४५ सेप्टेम्बरको सुरुमा जापानले आत्मसमर्पण नगरेसम्म एसियामा युद्ध जारी रहेको थियो ।
यद्यपि, संयुक्त राज्य अमेरिकामा केहीले यो अवसर मनाउँछन् । मे ८ सार्वजनिक बिदा होइन वा युरोपमा जस्तै व्यापक रूपमा मनाइँदैन ।
‘हाम्रा धेरै सहयोगी र साथीहरूले मे ८ लाई विजय दिवसका रूपमा मनाउँदै छन्, तर हामीले दोस्रो विश्वयुद्धमा विजयी परिणाम ल्याउन अन्य कुनै पनि देशभन्दा धेरै गरेका छौँ,’ ट्रम्पको पोस्टमा भनिएको छ ।
नोभेम्बर ११ लाई मूल रूपमा पूर्वअमेरिकी राष्ट्रपति वुड्रो विल्सनले पहिलो विश्वयुद्धमा सशस्त्र द्वन्द्वको अन्त्य गर्ने सन् १९१८ को युद्धविरामको वार्षिकोत्सव मनाउन ‘युद्धविराम दिवस’ (आर्मीस्टिस डे) नाम दिएका थिए ।
यो अब संयुक्त राज्य अमेरिकामा ‘भेटेरन्स डे’का रूपमा मनाइने सार्वजनिक बिदा हो र यसले अमेरिकी सशस्त्र सेनामा सेवा गरेका अमेरिकीहरूलाई सम्मान गर्ने उद्देश्य राख्दछ ।
‘हामीले दुवै युद्धहरू जितेका थियौँ, शक्ति, बहादुरी, वा सैन्य प्रतिभाको सन्दर्भमा कोही पनि हाम्रो नजिक थिएन, तर हामीले कहिले पनि केही उत्सव मनाउँदैनौँ– त्यो किनभने हामीसँग अब नेताहरू छैनन्, जसले कसरी गर्ने भनेर जान्दछन् !’ ट्रम्प भने, ‘हामी फेरि आफ्नो विजयको उत्सव मनाउन थालिरहेका छौँ !’
दोस्रो विश्वयुद्धमा सोभियत संघ नाजी जर्मनीविरुद्ध बेलायत र संयुक्त राज्य अमेरिकासँग मित्रराष्ट्र थियो । सोभियत संघमा रुस १५ गणराज्यमध्ये सबैभन्दा ठुलो थियो ।
सोभियत संघले युद्धमा सबैभन्दा धेरै हताहत भोगेको थियो । सोभियत संघमा दुई करोडभन्दा बढी मारिएका थिए ।
ह्वाइट हाउसले अहिलेसम्म छुट्टीको नाम परिवर्तन गर्ने कुनै कार्यकारी आदेश वा घोषणा औपचारिक रूपमा जारी गरेको छैन ।
आफ्नो दोस्रो कार्यकालमा ट्रम्पले बारम्बार अमेरिकी सार्वजनिक जीवनका केही भागको नाम परिवर्तन गर्न खोजेका छन्, चाहे त्यो राष्ट्रिय बिदा होस्– जस्तै ‘इन्डिजिनस पिपल्स डे’ लाई ‘कोलम्बस दिवस’ मा परिवर्तन गर्ने– वा भौगोलिक विशेषता, जस्तै ‘गल्फ अफ मेक्सिको’लाई ‘गल्फ अफ अमेरिका’का रूपमा पुनः नामकरण गर्ने । रासस