१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण ५ बुधबार १०:३१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डब्लुएचओको अनुसन्धान टिम वुहानबाट फर्कियो : संयुक्त रिपोर्ट सार्वजनिक गर्ने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण ५ बुधबार १०:३१:००

कोभिड भाइरस उत्पत्तिबारे अध्ययन गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसन्धानकर्ताको टिम गत साता फर्किएको छ । स्थलगत अध्ययनपछि चीन र डब्लुएचओका वैज्ञानिकहरूले संयुक्त रूपमा रिपोर्ट बाहिर ल्याउने तयारी गरिरहेका छन् ।

वैज्ञानिकहरूको टिमले चीन सरकारले दाबी गरिरहेको ‘फ्रोजन फुड’को माध्यमबाट भाइरस फैलिएको तर्कलाई समेत रिपोर्टमा समावेश गरेको छ । तर, अध्ययनका लागि कच्चा पदार्थमा अनुसन्धान गर्न चीन सरकारले अनुमति नदिएकाले डब्लुएचओको टोली निराश भएको उल्लेख छ ।

डब्लुएचओको तर्फबाट अध्ययनका लागि वुहान पुगेकामध्ये पिटर दासजाक पनि एक हुन् । उनी अमेरिकाको न्युयोर्कस्थित इको–हेल्थ एलायन्सका अध्यक्ष पनि हुन् । कोभिड भाइरस जनावरसँग सम्बन्धित भएकाले टिममा उनको सहभागिता महत्वपूर्ण मानिएको थियो । पशुसम्बन्धी रोग मानवमा सर्ने प्रकृतिबारे वर्षौँदेखि अध्ययन गरिरहेका डा. दासजाकले वुहानको स्थलगत अध्ययनबाट विभिन्न जानकारी प्राप्त भएको बताएका छन् । 

डब्लुएचओको टोलीले सुरुमा सन् २०१९ मा भाइरस बाहिरिएको वुहानको सिफुड (सामुद्रिक खाना) बजारमा अध्ययन गरेको थियो । यद्यपि, त्यो स्थान पहिलो केस देखिएको स्थान भने थिएन, वैज्ञानिकहरूले यसको अनुसन्धान राजनीतिक तरिकाले नभई वैज्ञानिक तरिकाले गर्दा थप सहयोग पुग्ने टिप्पणीसमेत गरेका थिए । 

न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा डा. दासजाकले वुहान भ्रमण निकै दुःखलाग्दो भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले बाहिरबाट हेरेको जस्तो अवस्था वुहानमा भेटिएन । ‘वुहान भाइरस’ वा ‘चाइनिज भाइरस’ भनेर विश्वले संज्ञा दिँदा त्यहाँका बासिन्दाले निकै दुःख भोगेको अनुभव सुनाएका थिए । ७६ दिनको लकडाउनमा सर्वसाधारण भित्रभित्रै मरिरहेका थिए, आसपासकै मानिसको मृत्युबारे समेत निकै समयपछि थाहा पाउँथे ।’

सुरुवातमा यहाँको फुड मार्केट पुग्दा चीनका भाइरस अनुसन्धानकर्ता मात्र त्यहाँ भेटिएको वैज्ञानिकहरूले बताएका छन् । स्थानीयलाई समेत बजारमा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको थियो । डब्लुएचओका वैज्ञानिकहरूले कोभिडको पहिलो बिरामीको उपचारमा संलग्न चिकित्सकलाई भेटेरसमेत छलफल गरेका थिए ।

वुहानमा कोरोना भाइरस फैलिएको शंका गरिएको बजार ३१ डिसेम्बर २०१९ देखि बन्द गरिएको थियो । सुरुवातमा अध्ययनका लागि सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले वैज्ञानिकहरूको टोलीलाई वस्तुस्थिति अध्ययन गर्न पठाएको थियो । जसले पाँच सय नमुना संकलन गरेको थियो । तर, यसबारे गरिएको अध्ययन भने बाहिरिएको थिएन । 

अध्ययनका लागि वैज्ञानिकहरूले नौ सयभन्दा बढी नमुना संकलन गरेका छन् । जसमा साना झिँगाहरू, मुसा, सर्प, कछुवा र भ्यागुता समावेश गरिएको थियो । तर, भाइरस कुन जनावरबाट मानिसमा सरेको भन्ने यकिन रिपोर्ट उल्लेख छैन । 
एजेन्सीको सहयोगमा