मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी जेनेभा
२०७७ फाल्गुण ४ मंगलबार १४:२७:००
Read Time : < 1 मिनेट
विश्व

नाइजेरियाकी पूर्वअर्थमन्त्री ओकोन्जो विश्व व्यापार संगठनको प्रमुखमा नियुक्त 

Read Time : < 1 मिनेट
रासस/एएफपी जेनेभा
२०७७ फाल्गुण ४ मंगलबार १४:२७:००

 नाइजेरियाकी पूर्वअर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्ल्युटिओ) को प्रमुखमा नियुक्त भएकी छिन् । डब्ल्युटिओको इतिहासमा पहिलाेपटक अफ्रिकी महिला प्रमुखका रूपमा नियुक्त भएकी हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका दिनहरूमा डब्ल्युओ निकै संकटबाट गुज्रिनुपरेको थियो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटबाट मुलुकहरूलाई राहत प्रदान गर्ने जिम्मेवारी पाएको डब्ल्युटिओ आफैँ संकटमा फसेको थियो । 

व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्ल्युटिओ धेरै मुलुकको चाहना रहेको बताएकी छिन् ।  नवनियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । उनलाई डब्ल्युटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरूले भर्चुअल विधिबाट मतदान गरेका थिए । 

लगभग निष्क्रिय र पक्षघातकै अवस्थामा पुगेको डब्ल्युटिओलाई पुनर्जीवित तुल्याउनु ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । उनले भनिन्, ‘कोभिड– १९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तीव्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्ल्युटिओ निकै महत्वपूर्ण छ ।’ उनले डब्ल्युटिओका सामुन्ने धेरै चुनौती रहेका भन्दै मिलेर काम गरे अझ बलियो, बढी जीवन्त र  यथार्थसँग अझ अनुकूलित बनाउन सकिने बताइन् । ओकोन्जोले आगामी १ मार्चदेखि कार्यभार सम्हाल्नेछिन् । उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ ।