१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २९ बिहीबार
  • Thursday, 04 July, 2024
२o७७ माघ २९ बिहीबार o९:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

खाग तस्करीमा संलग्न गिरोहका १४ पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ २९ बिहीबार o९:४१:oo

गिरोहले निकुञ्जभित्रका चार गैंडा मारी खाग तस्करी गरेको निकुञ्ज प्रशासनको भनाइ

चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संंयुक्त टोलीले गैंडा मार्ने र खाग तस्करीमा संलग्न रहेका १४ जनालाई पक्राउ गरेको छ । उनीहरूले निकुञ्जभित्रका चारवटा गैंडा मारेको र खाग तस्करी गरेको निकुञ्ज प्रशासनले जनाएको छ । सो घटनामा संलग्न १८ जना फरार रहेकाले उनीहरूको खोजी भइरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । 

पक्राउ गरिएकाबाट भरुवा बन्दुक दुई थान, एउटा स्कार्पियो गाडी, मोटरसाइकल, बैंकमा जम्मा गरिएको ४१ लाखको भौचर, पैसाको बन्डलजस्तै देखिने गरी कागजको बन्डल र केही खानेकुरासमेत प्रहरीले बरामद गरेको छ । गैंडा मार्ने र खाग तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ गरेको निकुञ्जको दाबी छ । पक्राउ गरिएकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही गर्न नवलपुर जिल्ला अदालतमा बुधबार नै मुद्दा दायर गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मरेका २३ गैंडामध्ये चार गैंडा चोरी–सिकारीका कारण मरेका थिए । 

चितवन राष्ट्रिय निकुञ्जको आइल्यान्ड क्षेत्रमा १६ र १८ भदौमा फायरिङको आवाज सुनिएको थियो । शंकास्पद क्षेत्रमा स्विप अप्रेसन गर्दा २१ भदौमा एक वयस्क भाले गैंडा खागसहित मृत अवस्थामा नारायणी किनारमा भेटियो । सो गैंडाको मृत्युको कारण गोली या सोही प्रकारको वस्तु र धारिलो हतियार भएको पोस्टमार्टम प्रतिवेदनमा देखियो । गोली हानी गैंडा मारे पनि खाग लैजान नसकेको अवस्थामा अन्य क्षति भएको हुन सक्ने आकलन गरी सोही क्षेत्रमा लगातार रूपमा स्विप अप्रेसन गर्ने क्रममा १९ कात्तिकमा निकुञ्जकै कोर क्षेत्रमा अन्दाजी २२ वर्षको एक पोथी र अन्दाजी तीन वर्षको बच्चा मृत गैंडा खाग काटी लगेको अवस्थामा फेला परेको थियो ।

घटनास्थल आसपास गैंडा मार्न प्रयोग भएको दुईवटा भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बेरिङ गोली दुई थान, एउटा स्टिलको थाल, पानी खान प्रयोग गरेको बोतल एउटा, बन्दुकमा प्रयोग हुने कपडाका टुक्रा र माउन्टेन ब्यागमा बन्दोबस्तीको सामान भेटिएपछि अनुसन्धानको दायरा फराकिलो बनाएको निकुञ्जले बताएको छ । 

विशेष सूचनाको आधारमा प्रहरीलाई सफलता
प्रहरीले विशेष सूचनाका आधारमा १३ पुसमा नवलपुरपूर्व कावासोती नगरपालिका–७, लौगार्ई बस्ने शिवनारायण महतो, चितवन भरतपुर महानगरपालिका–२८, स्यालबासका जितबहादुर कुमाल, उनकी श्रीमती इन्द्रमाया कुमाल, बाँकेको सोनारी गाउँपालिका–२ घर भई हाल लुकिछिपी नवलपरासीको चोरमारा बस्ने हरिप्रसाद थारू र उनकी श्रीमती विष्णुमाया गुरुङलाई पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । 

यस्तै गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न भएको भन्दै नवलपुर गैंडाकोट नगरपालिका–१ का ३२ वर्षीय सुकबहादुर गुरुङलाई प्रहरीले गोरखाको आरुघाटको सेती भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा ३ माघमा पक्राउ गरेको थियो । उनीसँगै चितवन कालिका नगरपालिकाका–९, शक्तिखोर बस्ने वीरमानसिंह प्रजा, गोरखा नगरपालिका–७, नयाँ बजार बस्ने कैलाशबाबु आले पक्राउ गरेका थिए ।

गिरोह खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौं र चितवन राष्ट्रिय निकुञ्जको टोलीले लमजुङ बेसीसहरका सोमबहादुर गुरुङ, चितवन माडीका दुर्गाबहादुर सार्की, मकवानपुरका मेखबहादुर नेपाली, मुगुका नांगे तामाङ लामा, काठमाडौंका ग्याम्जो तामाङ, तनहुँका हरिबहादुर मगर पनि पक्राउ परेका थिए । पक्राउ परेकामध्ये धेरैजना विभिन्न घटनामा जेल सजाय भोगेका छन् । 

ad
ad
ad
ad