मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी वुहान
२०७७ माघ २१ बुधबार १४:५५:००
Read Time : < 1 मिनेट
विश्व

विश्व स्वास्थ्य संगठनका विज्ञहरूको टिम वुहानमा 

Read Time : < 1 मिनेट
रासस/एएफपी वुहान
२०७७ माघ २१ बुधबार १४:५५:००

कोरोना भाइरसबारे अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तयार पारेको टिम चीनको वुहान सहर पुगेको छ । चीनको वुहान सहरलाई कोरोना भाइरस (कोभिड– १९) को उदगमस्थल मानिएको छ । सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरूको समूह बुधबार वुहान पुगेको हो । उनीहरूलाई यसअघि चीन प्रवेश गर्न नै चीन सरकारले रोक लगाएको थियो ।

चीनको वुहान पुगेको सो समूहले बुधबार त्यहाँ रहेका कोरोना भाइरससम्बन्धी प्रयोगशालाको निरीक्षण पनि गरेको छ । लामो समयको छलफलपछि चीनले डब्ल्युएचओलाई कोरोनाको उदगमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । वुहानमा अध्ययनका लागि डब्ल्युएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय संगठनले हालैमात्र गरेको थियो । 

गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो । चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालै मात्र उनीहरू त्यहाँ पुगेका छन् । सन् २०१९ को अन्त्यमा पहिलोपटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ । अझ पछिल्ला दिनमा त यसको नयाँ प्रजातिको पनि संक्रमण सुरु भएको बताइएको छ । 

कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन । विश्वमा १० करोडभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ । विश्वमा खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि सुरु भएको छ । तैपनि यति वेलासम्म कोरोना भाइरस पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।  

विश्व स्वास्थ्य संगठनका विज्ञहरूको समूहले चीनको वुहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तारका कारणबारे खोजी रहेको बताइएको छ ।