१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता सिटौला भन्छन्– प्रधानमन्त्री नै सडक कब्जामा आएपछि त्यसको सन्देश के हुन्छ ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:२२:oo

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकार आफैँ सडकमा ओर्लिएर तमासा देखाउन लागिपरेको बताएका छन् । ‘संसारमा कहीँ पनि सरकारले सडक कब्जा गरेर सभा गरेको मलाई थाहा छैन, सडक कब्जा गर्नुहुँदैन है भन्ने काम पो सरकारको हो भन्ने लाग्छ, तर अरूलाई पनि सडकमा आउन नदिने अवस्था बनाउनुपर्ने जिम्मेवारी बोकेको सरकार आफैँ सडकमा उत्रिएको छ,’ सिटौला आश्चर्य प्रकट गर्छन्, ‘प्रधानमन्त्री नै सडक कब्जामा आएपछि त्यसको सन्देश के हुन्छ ? यस्तो त संसारमा अहिलेसम्म देखेको–सुनेको छैन ।’ 

संसद् विघटन गरेर चुनाव गराउने घोषणा गरेका प्रधानमन्त्री केपी ओली चुनावको तयारीमा भन्दा सडकमा तमासा देखाउन व्यस्त भएको सिटौला बताउँछन् । ‘सरकारका प्रधानमन्त्री, मन्त्रीहरू नै सडकमा उत्रिएर देशका सबै जनतालाई सडक कब्जामा आऊ भनेको हो कि के हो ?’ सिटौला भन्छन्, ‘अहिले त यस्तो अवस्था आएको छ कि स्वयं प्रधानमन्त्रीजी नै अँध्यारोमा तीर चलाइरहनुभएको छ, यसले कस–कसलाई लाग्ने हो ? थाहा छैन ।’ 

सिटौलाले नयाँ पत्रिकासँगको कुराकानीमा नेपालको राजनीतिक व्यवस्था गम्भीर षड्यन्त्रको चक्रव्युहमा फसिरहेको आशंका व्यक्त गरे । ‘स्वयं प्रधानमन्त्रीका कदमले देश गम्भीर षड्यन्त्रमा फस्दै गएको आभाष हुन्छ, संसद्लाई पनि आउन नदिने, चुनाव पनि हुन नदिने गम्भीर षड्यन्त्रको चक्रव्युह रचिएको हुनसक्छ,’ उनी भन्छन्, ‘नेपालको राजनीतिक व्यवस्था त्यहाँ नराम्रोसँग फसेको हुन सक्छ ।’ 

नेकपाको विवादका कारण संविधान र व्यवस्थामाथि नै खतरा सिर्जना भएको भन्दै नेता सिटौलाले सबै कम्युनिस्ट नेताहरू अँध्यारोभित्र छलछाम गरेर हिँडिराखेको टिप्पणी गरे । ‘अहिले ओलीजीको भाषण पनि अँध्यारोमा तीर हानेको जस्तो छ, प्रचण्ड–माधव नेपालजीहरूको पनि उस्तै छ, यो बडो अचम्मको विषय छ,’ सिटौलाले भने, ‘निर्वाचन गराउने, सबैका कुरा सुन्ने, समाधानतर्फ लैजाने, सर्वदलीय बैठक बोलाउने, अनेक किसिमको प्रयास जो उहाँले आफ्नोतर्फबाट गर्न सक्नुहुन्थ्यो, त्यस्तो केही पनि गर्नुभएको छैन, सरकारले कुनै तादरुकता देखाएको छैन, बरु प्रधानमन्त्री आफैँ सरकार लिएर सडकमा ओर्लिनुभएको छ ।’ 

ad
ad