मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १४ बुधबार १७:३९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप : एपिएफ फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १४ बुधबार १७:३९:००

विभागीय टोली एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साबिक विजेता अर्काे विभागीय टोली नेपाल पुलिसलाई ३० रनले पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो ।

यो पराजयसँगै पुलिसको उपाधि रक्षाको अभियान सेमिफाइनलमै टुंगिएको छ । दुई वर्षअघि भएको तेस्रो संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

दुईपटकको उपाधि विजेता एपिएफ प्रधानमन्त्री कपको चौथो संस्करणसम्म आइपुग्दा तेस्रोपटक फाइनलमा पुगेको हो । पहिलो संस्करणमा वर्षाका कारण खेल पूरा हुन नपाउँदा आर्मी क्लबसँग उपाधि बाँडेको एपिएफ दोस्रो संस्करणमा एक्लो विजेता बनेको थियो । 

एपिएफले अब उपाधिका लागि शनिबार हुने फाइनल खेलमा बागमती प्रदेश र आर्मीमध्ये एक टोलीसँग खेल्नेछ । बागमती र आर्मी दोस्रो सेमिफाइनलमा बिहीबार भिड्दै छन् । 

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय तीन रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको नेपाल पुलिस ४९.२ ओभरमा एक सय ७३ रनको योगफलमै रोकिएको हो ।

एपिएफको जितमा शंकर रानाले सर्वाधिक ४४ र भुवन कार्कीले ४२ रनको योगदान दिए । यस्तै, सन्दीप जोराले ३४ रन जोडे । भुवनले आफ्नो इनिङमा दुई छक्का र एक चौका प्रहार गरेका थिए । सन्दीपले एक छक्का र तीन चौका प्रहार गरे । सुवास खकुरेल र कमलसिंह ऐरीले समान १९–१९ र कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनाश बोहरा ११ रनमा अविजित रहे ।

पुलिसका लागि पवन सर्राफले ४० रनको योगदान गर्नबाहेक अन्य खेलाडीले त्योभन्दा ठूलो योगदान गर्न सकेनन् । ब्याटिङका लागि छैटौँ क्रममा क्रिजमा छिरेका पवनले आफ्नो इनिङमा एक छक्का र दुई चौका प्रहार गरे । उनीबाहेक राशिद खानले ३४ र दीपेन्द्रसिंह ऐरीले ३३ जोडे । चोटग्रस्त आरिफ शेखले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । आरिफ फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए ।

पुलिसलाई लक्ष्यसम्म पुग्न नदिन एपिएफका भुवन कार्की एक्लैले चार विकेट लिए । ९.२ ओभर बलिङ गरेका उनले एक मेडन निकाल्दै २१ रन खर्चिए । उनीबाहेक कमलसिंह ऐरी, अभिनाश बोहरा र शरद भेषवाकरले दुई–दुई विकेट लिए ।

नेपाल पुलिसका आरिफले पनि तीन विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ३१ रन खर्चिएका थिए । यस्तै, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले थप दुई–दुई विकेट लिएका थिए ।