मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिन्ह्वा बेइजिङ
२०७७ माघ ११ आइतबार १५:३०:००
Read Time : < 1 मिनेट
विश्व

चीनको सुनखानीभित्र फसेका ११ जनाको सकुशल उद्धार 

Read Time : < 1 मिनेट
सिन्ह्वा बेइजिङ
२०७७ माघ ११ आइतबार १५:३०:००

चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरको आइतबार सकुशल उद्धार गरिएको छ । खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरूले बताएका छन् ।

खानीभित्र विस्फोट भएपछि दुई सातादेखि उनीहरू सुरुङमा फसेका थिए । भित्रै रहेका मजदुरको उद्धारका लागि पनि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रसारण संस्था सिसिटिभीले जनाएको छ ।

स्थानीय समयअनुसारआइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिमपटक दुईजना मजदुरलाई बाहिर निकालिएको थियो । योसहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ । 

हाल उद्धार अभियान सञ्चालनका लागि ६ सय ३३ जना उद्धारकर्मी र चार सय सातवटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६ सय मिटरको गहिराइमा ती मजदुरहरू १० जनवरीदेखि फसेका थिए । खानीस्थल पूर्वी साङदोङ प्रान्तको यान्ताईस्थित किझियामा छ । 

उद्धारपूर्व उद्धारकर्ताहरूले खानीभित्र फसेका १० जना मजदुरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए । उनीहरूले खानीभित्र फसेका व्यक्तिका लागि ढुंगामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए । खानीभित्र हराइरहेका अरू व्यक्तिको खोजी एवं पहिचान गर्न डिटेक्टर र पोषक तत्वहरू पनि पठाइएको छ । 

खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरू बढ्ने अवस्था रहेको उद्धारकर्ताहरूको भनाइ छ । खानीभित्र अलपत्र परेका नौजनाको जीवन जोगाउन निकै मुस्किल देखिएको उद्धारकर्ताहरूले बताएका छन् । 

चीनमा खानी दुर्घटनाका घटना नियमित जस्तै भइरहेका छन् । खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायले पनि बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । गत डिसेम्बरमा पनि चोङकिङको खानीमा सुरुङभित्र चेपिएर २३ जना मजदुरको ज्यान गएको थियो ।