मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राधिका थापा
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार २१:५७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनामा पहिलोपटक महिला सैनिकले पूरा गरिन् जंगल युद्धकला तालिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार २१:५७:००

नेपाली सेनामा पहिलोपटक महिला सैनिकले प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम लिएकी छिन् । सिन्धुपाल्चोक, मेलम्चीकी राधिका थापाले यो तालिम पूरा गरेकी हुन् । तीन महिनासम्म चल्ने जंगल युद्धकला तालिम सेनामा अत्यन्तै कठिन र उच्चस्तरको मानिन्छ ।

सेनामा साधारणतर्फ महिला सैनिक सन् २००४ देखि भर्ना लिन सुरु गरिए पनि जंगल युद्धकला तालिम भने अहिलेसम्म कसैले पनि लिन सकेका थिएनन् । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले यो तालिममा उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने बताए ।

‘यस्तो तालिममा उच्चस्तरको शारीरिक र मानसिक क्षमता चाहिन्छ । जोकोहीले यस्ता तालिम गर्नै सक्दैनन् । तर, राधिका थापाले यो तालिम पूरा गरेर देखाइन्,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘यो सैनिक इतिहासकै दुर्लभ क्षण हो । उनको साहसलाई नेपाली सेना उल्लेखनीय उदाहरण मान्छ ।’

उनी सेनाको जंगल युद्धकला शिक्षालयमा कार्यरत छिन् । उनी नेपाली सेनामा १५ असार, ०६९ मा भर्ना भएकी थिइन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२, थापाटोलकी थापाले १८ कात्तिकबाट सुरु गरेको युद्धकला तालिम ६ माघमा पूरा गरेकी हुन् । तीन महिना चल्ने अत्यन्तै कठिन तालिममा जंगल पथ प्रदर्शन, धराप निर्माण गर्ने, जंगल सरभाइबल टेक्निक, सर्पदंश व्यवस्थापनलगायत विभिन्न सैनिक ज्ञान र सीपहरू सिकाइन्छ । 

सेनाले महिलाका निम्ति पनि साधारणतर्फ सेवा खुला गरेको १६ वर्ष भएको छ । त्यसयता प्रत्येक वर्ष सेनाले पुरुषसँगै महिलालाई पनि सैनिक सेवामा भर्ना लिँदै आएको छ । अहिलेसम्म साधारणतर्फ महिला अधिकृतको संख्या एक सय ८३ पुगेको छ भने प्राविधिकतर्फ महिला अधिकृत दुई सय १४ जना छन् । साधारण सेवातर्फ जुनियर अधिकृतदेखि सिपाहीसम्म तीन हजार सात सय ५८ जना महिला रहेका छन् भने प्राविधिकतर्फ नौ सय सातजना छन् । 

सेनाका अनुसार साधारण सेवातर्फ सैनिक महिला अधिकृतको उपस्थिति मेजरसम्म छ । उनीहरूको संख्या अहिले ७४ छ  । तर, प्राविधिकतर्फबाट माथिल्लो तहमा पुग्ने सैनिक महिला अधिकृतको संख्या धेरै छ । प्राविधिकतर्फ सैनिक महिलाको उपस्थिति सहायक रथीसम्म छ । उनीहरूको संख्या अहिले तीन छ । सबैगरी नेपाली सेनामा अहिले पाँच हजार ६२ सैनिक महिला सेवारत छन् ।