मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:२९:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार १८:२९:००

सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो । 

सातदोबाटोस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा एपिएफले एकपक्षीय जित निकालेको हो । टोलीलाई खेलको १४औँ मिनेटमा सावित्राले नै अगाडि बढाएकी थिइन् । सावित्राले अञ्जली योञ्जनको क्रसमा पहिलो गोल गरेकी थिइन् । 

त्यसको आठ मिनेटपछि अञ्जली आफैँले गोल गरिन् । कर्नरमार्फत आएको बललाई सरु लिम्बूले हेडिङ गरेकी थिइन् । त्यसमै अञ्जलीले गोल गरेकी हुन् । खेलको ६२औँ मिनेटमा अनिता बस्नेतको सहयोगमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको दुई मिनेटमा टोलीको चौथो गोलका लागि सावित्राले अनितालाई अवसर मिलाइदिइन् । 

खेलको ७२औँ मिनेटमा एकल प्रयासमा गोल गर्दै सावित्राले ह्याट्रिक पूरा गरेकी हुन् । उनले आफ्नो प्रदर्शनमा खुसी व्यक्त गरिन् । ‘कोरोना महामारीपछि प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको छ । आजको खेल राम्रो भयो । राम्रो टोलीविरुद्धको यो जितमा खुसी छौँ,’ सावित्राले भनिन् । 

टोलीका लागि छैटौँ गोल प्रिती राईले गरिन् । चन्द्रपुरकी गोलरक्षक युनिशा राईले क्लियर गर्न नसकेको बललाई प्रितीले गोलमा परिणत गराएकी थिइन् । 


विराटनगर र वालिङ बराबरी
प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाले एक–एक गोलको बराबरी खेलेका छन् । एन्फा एकेडेमीको मैदानमा खेलको सुरुवातमै अग्रता बनाएर पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा वालिङले अंक बाँडेको हो । 

खेल सुरु भएको दोस्रो मिनेटमै सम्झना शर्माले वालिङलाई १–० ले अघि बढाएकी थिइन् । हिमा रावतले प्रहार गरेको कर्नरमा सम्झनाले हेडिङ गोल गरेकी थिइन् । वालिङले खेलको ६८औँ मिनेटमा बराबरी गोल व्यहो¥यो । 

वालिङले आफ्नै गोलरक्षक सावित्री किसनको गल्तीमा गोल व्यहोरेको हो । विराटनगरको भारतीय खेलाडी आशा कुमारीले प्रहार गरेको फ्रिकिकलाई सावित्री आफैँले पोस्टभित्र छिराएकी थिइन् ।