१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ३ शनिबार ११:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुसहरले मनाए अन्तर्राष्ट्रिय भुइया दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ३ शनिबार ११:५१:००

तराई क्षेत्रमा बसोवास गर्ने मुसहरहरूले अन्तर्राष्ट्रिय भुइया अर्थात् भूमि दिवस मनाएका छन् । 

‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, तोडौँ विभेदके जन्जिर, देखौँ वीरपुर्खाको नजिर’ भन्ने नाराका साथ हरेक वर्ष माघ १ गते मुसहरहरूले भुइया दिवस मनाउँदै आएका छन् ।

भुइया महाराजको पूजा–आराधना गर्दै दुई वर्षयता दिवस मनाउन थालिएको मुसहर अधिकारकर्मी पचु माझीले बताए । 

‘जन्मभूमिमै, कर्मभूमिमै, तर मुसहरसँग भूमि छैन, सरकार भूमि दिँदैन,’ उनी भन्छन्, ‘त्यसैले भूमि माग गरेर दिवस मनाउन थालेका हौँ ।’ 

दिवसको अवसरमा भएको कार्यक्रममा मुसहर समुदायको वर्तमान अवस्था, त्यसको कारण र समाधानका उपायहरूबारे छलफल भएको छ । 

सो अवसरमा उम्लिरहेकोे तातो दूधले नुहाउने अपटौनी पूजा गरिएको छ । तराईका मुसहर पनि कुनै वेला राजा थिए । तर, आफ्नै बसोवास भएको भूमि पनि आफ्नो छैन ।

माझी भन्छन्, ‘राजा भएको मुसहर कसरी भूमिहीन भए ? त्यसको खोजी सुरु भएको छ, अब मुसहरका संस्कृति, वेषभूषाको संरक्षण र उनीहरूको जीविकोपार्जनका लागि राज्यले सहयोग गर्नुपर्छ ।’ 

कार्यक्रममा मुसहरहरूको अधिकार प्राप्तिका लागि सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान तथा सांस्कृतिक प्रस्तुतिसमेत गरिएको थियो ।