१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भक्ति थापाको २०९औँ स्मृति दिवस भव्य रूपमा मनाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:o८:oo

राष्ट्रिय विभूति सरदार भक्ति थापाको २०९औँ स्मृति दिवस भव्य रूपमा मनाउने तयारी गरिएको छ । भक्ति थापाको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका- ३ ढगैँबेँसीमा वैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी गरिएको हो ।

भक्ति थापा जन्मस्थल संरक्षण, संवर्द्धन तथा विकास समितिले भक्ति थापाको स्मृति दिवसको अवसरमा खुला आमा समूह नृत्य प्रतियोगिता, खुला महिला र पुरुष डाेरी तान्ने प्रतियोगिता र खुला पुरुष छेलो हान्ने प्रतियोगिता आयोजना गरेको छ। 

खुला आमा समूह नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीयलाई सात हजार र तृतीयलाई पाँच हजार राखिएको छ । प्रतियोगितामा सहभागी हुने टिमलाई एक हजार दिइने सांस्कृतिक उपसमितिकी संयोजक अमृता पोखरेलले बताइन् ।

यसैगरी, खुला पुरुष डाेरी तान्ने प्रतियोगितामा प्रथमलाई पाँच हजार र द्वितीयलाई तीन हजार, खुला महिला डाेरी तान्ने प्रतियोगितामा प्रथमलाई चार हजार र द्वितीयलाई दुई हजार पुरस्कार राखिएको छ । यस्तै, खुला छेलो हान्ने प्रतियोगितामा प्रथमलाई तीन हजार र पगरी, द्वितीयलाई दुई हजार र पगरी र तृतीयलाई एक हजार र पगरी पुरस्कारको व्यवस्था गरिएको खेलकुद सञ्चालन उपसमितिका संयोजक रवि थापाले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न विभिन्न आठवटा उपसमिति गठन गरी तयारी गरिएको छ । तयारीका लागि सांस्कृतिक उपसमितिमा अमृता पोख्रेल, प्रचारप्रसारमा देवेन्द्र भण्डारी, अतिथि सत्कारमा मुना गुरुङ, मञ्च निर्माण तथा सरसफाइमा हेमबहादुर तामाङ, आर्थिकमा हिरादेवि गुरुङ, प्रतिवेदन लेखनमा प्रेमबहादुर बस्नेत, चन्दादाता सम्मानमा तीर्थबहादुर बस्नेत र खेलकुद उपसमितिमा रवि थापा संयोजक रहेको समिति निर्माण गरी तयारी अघि बढाइएको छ ।

राष्ट्रिय विभूति सरदार भक्ति थापाको जन्मस्थल मर्स्याङ्दी- ३ ढगैँबेँसी र उनले गाईवस्तु चराएको र खेलेको हर्सिङडाँडाको प्रचारप्रसार र संरक्षणका लागि स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएको भक्ति थापा जन्मस्थल संरक्षण, संवर्द्धन तथा विकास समितिका संयोजक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

सरदार भक्ति थापाको जन्मस्थल ढगैँबेँसीको संरक्षरण तथा प्रवर्द्धनका लागि भक्ति थापा पार्क निर्माणाधीन अवस्थामा रहेको छ भने गाउँपलिको वडा नं. ३ मा अवस्थित हर्सिङडाँडालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।

भक्ति थापा पार्क र हर्सिङडाँडाको पर्यटकीय संरचनाहरूको विकासमा संघ र प्रदेश सरकारले यथोचित सहयोग गर्न नसकेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले तीनवटै सरकारको सहयोग र अन्य सहयोगी दातासमेतलाई समेटेर यस क्षेत्रको विकासमा लागिपर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

ad
ad