१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:२९:oo

- दुईदिने महाधिवेशन प्रतिनिधि भेलामा ६ वटा प्रतिवेदनमाथि छलफल 
- १० वैशाखमा गोदावरीमा पहिलो पुस्ताका सबै वाम शीर्ष नेतालाई निम्तो 
- ७५ वर्षे यात्राको डकुमेन्ट्री प्रदर्शनी 

एमालेले कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षलाई हीरक महोत्सवका रूपमा मनाउने भएको छ । दुई दिनसम्म महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला गरेर एमालेले आगामी १० वैशाखमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हीरक महोत्सव मनाउने भएको हो । 

८ र ९ वैशाखमा महाधिवेशन प्रतिनिधिको बैठक सकिएपछि विशेष समारोहबीच हीरक महोत्सव गर्ने गरी एमाले केन्द्रीय कार्यालयले तयारी सुरु गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यालय बैठकमा महाधिवेशन प्रतिनिधि परिषद् र स्थापना दिवसलाई व्यवस्थित गर्ने गरी तयारीका विविध विषयमा केन्द्रित रहेर छलफल गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

हीरक महोत्सवको विशेष समारोहमा नेपालका सबै वामपन्थी दलका पहिलो पुस्ताका मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान बिजुक्छेदेखि सबै नेतालाई आमन्त्रण गरिएको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताहरू, भूमिगत सेल्टरदातालगायत सबैलाई एमालेले आमन्त्रण गर्ने निर्णय गरेको छ । महोत्सवमा ००६ मा पार्टी स्थापनादेखि ०८० सम्मका पार्टी महाधिवेशनदेखि एमालेले खेलेको भूमिकाको झलक आउने गरी डकुमेन्ट्री प्रस्तुति मूल आकर्षण रहने गुरुङले जानकारी दिए । 

महाधिवेशन प्रतिनिधि भेलामा भने छलफलका लागि अध्यक्ष र महासचिवको तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदनसहित ६ वटा अलग–अलग प्रतिवेदन प्रस्तुत हुनेछ । जसअनुसार राजनीतिक र सांगठनिक प्रतिवेदनसहित केन्द्रीय निर्वाचन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछन् । करिब २३ सय प्रतिनिधि सहभागी हुने भेलाको कार्यक्रमको स्वरूप र तालिका, यातायात, खाद्यान्न, आवासलगायत विषयमा केन्द्रित रहेर केन्द्रीय कार्यालयले छलफल गरेको छ । तयारीसम्बन्धी निर्णयका लागि केही दिनभित्रै केन्द्रीय सचिवालय बैठक बोलाउने एमालेको तयारी छ । बैठकमा झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रासम्बन्धी डकुमेन्ट्री प्रदर्शनी तथा पुस्तकको लोकार्पणसमेत गरिने एमालेले जनाएको छ । 

एमाले उपमहासचिव विष्णु रिमालले आगामी १० वैशाखमा एमालेले नयाँ रहस्य खोल्ने बताएका छन् । मजदुर विशेष जिल्ला कमिटीको आठौँ अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् । १० वैशाखमा एमालेले गोदावरीमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन गर्दै विशेष समारोह गर्ने उनले बताए । त्यो समारोह रहस्यपूर्ण रहने उनको भनाइ थियो । ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठकलगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ,’ रिमालले भने, ‘वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५औँ स्थापना दिवस समारोह अर्थात् हीरक महोत्सव मनाइरहेका वेला विशेष कार्यक्रम गर्नेवाला छौँ । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिस्ट हुनुको गर्व महसुस गराउनेछ भन्ने हाम्रो विश्वास छ ।’

ad
ad