Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ माघ १ बिहीबार ०९:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कमिसन बढाउन उपभोक्ताबाट बढी रकम असुल्दै पेट्रोल पम्प व्यवसायी

डिजेल र पेट्रोलमा प्रतिलिटर ५० पैसा बढी लिएर दैनिक ३१ लाखभन्दा बढी रकम असुल्ने व्यवसायीको योजना

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ माघ १ बिहीबार ०९:२३:००

पेट्रोल पम्प व्यवसायीले आफ्नो कमिसन वृद्धिको माग पूरा गराउन १ माघबाट बजार मूल्यभन्दा प्रतिलिटर ५० पैसा बढी डिजेल, पेट्रोल बिक्री गर्ने भएका छन् । यसरी व्यवसायीहरूले उपभोक्ताबाट दैनिक ३१ लाख ५० हजार थप रकम असुल्न खोजेका हुन् । निगमको तथ्यांकअनुसार मुलुकभर दैनिक औसतमा १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल बिक्री हुन्छ । पम्प व्यवसायीले प्रतिलिटर ५ प्रतिशत कमिसनदर पाउनुपर्ने माग राखेका हुन् ।

‘देशभरका करिब १५ सय पेट्रोल पम्पले दैनिक ६३ लाख लिटर पेट्रोल र डिजेल बिक्री गर्छन् । यो परिमाण बिक्री गर्दा प्रतिलिटर ५० पैसाका दरले बढी रकम उठाइयो भने ३१ लाख ५० हजार रुपैयाँभन्दा बढी उठ्छ,’ निगमका एक कर्मचारी भन्छन्, ‘यसरी उपभोक्ताले खासै चासो नदिने सानो रकमबाट पम्प व्यवसायीले ठूलो कमाइ गर्न खोजेका छन् ।’

आयल निगम थानकोट डिपोको तथ्यांकअनुसार उपत्यकाका अधिकांश पम्पले ४ हजार लिटर पेट्रोल र ४ हजार लिटर डिजेल बिक्री गर्छन् । ‘दैनिक ८ हजार लिटर पेट्रोल, डिजेल बिक्री गर्ने पम्पले दैनिक ४ हजारसम्म अतिरिक्त कमाउन सक्छन्,’ एक कर्मचारी भन्छन् । तोकिएभन्दा बढी मूल्य लिँदा सरकारले कारबाही अघि बढाए देशभरका पम्प बन्द गरेर आन्दोलन गर्ने व्यवसायीहरूको तयारी छ ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले १ माघदेखि देशभरका पम्पले प्रतिलिटर ५० पैसा मूल्य बढाएर पेट्रोल, डिजेल बिक्री गर्ने बताए । ‘हामी मूल्य बढाएर पेट्रोल, डिजेल बिक्री गर्छौँ । यसबीच सरकारले धरपकड गरे वा पम्पलाई कारबाही गर्न खोजे देशभरका पम्प बन्द गरेर आन्दोलनमा जान्छौंँ,’ उनले भने ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले हाल पेट्रोलमा २.६५ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत मात्र कमिसन रहेकाले बढाएर ५ प्रतिशत पुर्‍याउन बारम्बार आग्रह गर्दा सरकारले बेवास्ता गरेपछि आन्दोलनमा जानुपर्ने स्थिति बनेको बताए । पेट्रोल पम्प व्यवसायीको कमिसन वृद्धिको माग बारम्बार उठेपछि दुई वर्षअघि निगमका नायब प्रबन्ध निर्देशक सुशील भट्टराईको संयोजकत्वमा कार्यदल गठन भएको थियो । सो कार्यदलले पम्पको स्थलगत अध्ययन गरी सामान्य अंकमा कमिसन वृद्धि गर्न सकिने राय दिएको थियो ।

 ‘हामीले अध्ययन गर्दा पेट्रोल पम्पहरूले ४–५ वर्षदेखि पुरानै कमिसन दरमा कारोबार गरेको देखिएको छ । यो अवधिमा सञ्चालन खर्च पनि बढेकाले केही हदसम्म कमिसन बढाइदिनुपर्ने देखेर सोहीअनुसारको सुझाब दिएका थियौँ,’ भट्टराईले भने । समितिले प्रतिवेदन दिएको ९ महिना बितिसक्दा पनि कमिसन वृद्धिका लागि छलफलसमेत नभएको प्रधानले गुनासो गरे ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन कसिमन वृद्धिजस्तो नितान्त व्यवसायी र निगमको समस्यामा उपभोक्तालाई जोड्न नहुने बताउँछन् । ‘आयल निगमले कमिसनदर नबढाइदिए पेट्रोल पम्प व्यवसायीले १ माघबाट मूल्य बढाएर बिक्री गर्ने कुरा व्यावसायिक आचरणभित्र पर्दैन,’ महर्जनले भने, ‘यो व्यावसायिक अराजकताको हद हो । आफ्नो समस्या देखाएर उपभोक्तामाथि ज्यादती गर्न पाइँदैन ।’

यो पनि पढ्नुहोस्  : सरकारले धरपकड गरे आपूर्ति बन्द गर्छौँ