१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएफपी वासिङ्टन
२o८१ बैशाख ३१ सोमबार १३:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकी संसद् भवनमा हमला : ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप

Read Time : > 3 मिनेट
रासस/एएफपी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख ३१ सोमबार १३:२५:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद् भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । 

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसद्को संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद् भवनमा हमला गरेका थिए।

ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । 

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लिकन सांसदहरूलाई पटक–पटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गरेका थिए । तर, ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरूले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् । 

राष्ट्रपति ट्रम्पका समर्थकको आक्रमणपछि ट्रम्पको पक्षमा रहेका कैयौँ सांसदले ट्रम्पको साथ छाडेको घोषणा गरेका छन् । 

वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक र्‍यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भिडले संसद् भवनमा आक्रमण गरेको थियो । उनीहरूले क्यापिटोलबाहिर सुरक्षार्थ रहेका प्रहरीका ‘ब्यारिकेड’लाई छिचोल्दै भित्र प्रवेश गरेका थिए । 

उत्तेजक भिडका कैयौँ सदस्य संसद् भवनभित्र प्रवेश गरेर तोडफोड गर्नुका साथै संसदीय प्रक्रियालाई अवरुद्ध बनाएका थिए । साथै, प्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर उहाँको कुर्सीमा बसेर तस्बिरसमेत खिचाएका थिए । 

संसद् भवन क्यापिटोलभित्रका आक्रमणकारीलाई बाहिर निकाल्न प्रहरीलाई चार घन्टा लागेको थियो । प्रहरीले दक्षिण क्यालिफोर्नियानिवासी एक ट्रम्प समर्थकको गोली लागेर मृत्यु भएको थियो । तर, पछिल्लो समय प्रहरीले उक्त घटनामा चारजनाको मृत्यु भएको जनाएको छ । 

बाइडेनले उक्त हिंसालाई ‘राज्य विद्रोह’ संज्ञा दिका छन् । उनले राष्ट्रपति ट्रम्पलाई तत्कालै हिंसामा संलग्नलाई शान्ति कायम गर्नका लागि आह्वान गर्न आग्रह गरेका छन् ।

‘हाम्रो प्रजातन्त्र अभूतपूर्व आक्रमणको निशानामा परेको छ,’ बाइडेनले आफ्नो गृहराज्य डेलावेयरबाट भने, ‘यो मतभेद होइन । यो अव्यवस्था हो । यो अराजकता हो । यो राज्य विद्रोहसरह हो । यसको तत्कालै अन्त हुनुपर्छ ।’

राष्ट्रपति ट्रम्पले तत्कालै एक भिडियो सार्वजनिक गर्दै आफ्ना समर्थकलाई घर फर्कन अनुरोध गरेका थिए । तर, उनले उक्त भिडियोमा चुनावमा धाँधली भएको पुनः दोहोर्‍याएका थिए । ‘हामी पनि शान्ति चाहन्छौँ । त्यसैले घर जानुहोस् । म तपाईंलाई माया गर्छु,  तपाइँहरू साँच्चिकै विशिष्ट हुनुहुन्छ ।’

फ्लोरिडाबाट आएकी ट्रम्प समर्थक ४३ वर्षीया सोन्या फिट्जेराल्डले संसद् भवन क्यापिटोलको सिँढीमा उभिएर भने, ‘तपाईंहरूले यस घटनालाई इतिहासको पानामा पढ्नु हुनेछ ।’

यसैबीच, सामाजिक सञ्जाल कम्पनीहरू ट्विटर र फेसबुकले राष्ट्रपति ट्रम्पका अकाउन्टलाई अस्थायी रूपमा रोक लगाएका छन् । उनीहरूले ट्रम्पका ट्विट्हरूले देशव्यापी हिंसा भड्काएको भन्दै अकाउन्ट बन्द गरेको जनाएका छन् । यदि ट्रम्पले गलत रबैया जारी राखे ट्विट् र फेसबुक दुवैले स्थायी रूपमा अकाउन्ट बन्द गरिदिने घोषणा गरेका छन् । 

डेमोक्रेटिक पार्टीले जर्जियाको दुवै सिनेट सदस्यमा विजयी हासिल गरेको समाचार सार्वजनिक भएलगत्तै संसद्मा आक्रमण भएको छ । 

जर्जियामा डेमोक्रेट पार्टीको विजयले अमेरिकी माथिल्लो सदनमा अब डेमोक्रेटको बहुमत कायम भएको छ भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा पनि डेमोक्रेटको बहुमत छ । दुवै सदनमा डेमोक्रेटको बहुमत कायम भएकाले अब राष्ट्रपति निर्वाचित जो बाइडेनले आफूले चाहेका विधेयकहरू सहजै पारित गराउन सक्नु हुनेछ । 

इतिकासकारको भनाइमा अमेरिकी संसद् भवन क्यापिटोलमा यो दोस्रोपटक हमला भएको हो । यसअघि सन् १८१२ को युद्धमा बेलायती सेनाले क्यापिटोलमा आक्रमण गरी आगो लगाइदिएका थिए । 

दुई सय वर्षभन्दा बढी समयदेखि अमेरिकी संसद् अर्थात् कंग्रेसको संयुक्त सदनले नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई सहज र शान्तिपूर्वक प्रमाणीकरण गर्ने प्रचलन थियो । अमेरिकी संविधान र कानुनबमोजिम अमेरिकी दुवै सदनले अमेरिकी मतदातालाई जिताएर पठाएका इलेक्टोरल मतलाई गणना गरी त्यसलाई प्रमाणित गर्ने र संयुक्त सदनले राष्ट्रपति निर्वाचित भएको अन्तिम घोषणा गर्दछ । 

संसद्काे संयुक्त सदनले घोषणा गरेका राष्ट्रपतिले जनवरी २० मा विशेष सार्वजनिक कार्यक्रमबीच शपथ लिने कार्यक्रम राखिने गरिन्छ । तर, यसपटक राष्ट्रपति ट्रम्पले आफ्ना समर्थक रिपब्लिकन सांसदहरूलाई इलेक्टोरल मतका सन्दर्भमा भिन्न मत राख्न र प्रतिवाद गर्न आग्रह गरेका थिए ।  

तर, कंग्रेसले राष्ट्रपति ट्रम्पको आग्रहलाई अस्वीकार गरेको थियो । पहिलो गणना एरिजोना राज्यको गरिएको थियो, जसमा बाइडेन विजयी भएका थिए । तल्लो सदनका १२१ जना रिपब्लिकन सांसदले एरिजोनाको नतिजालाई लिएर विमति राखेका थिए, तर सिनेटका ६ जना रिपब्लिकन सदस्यले मात्र पक्ष लिए । 

सिनेटका रिपब्लिकन सदस्यहरूले जर्जिया र मिचिगनमा पनि बाइडेन नै विजयी भएको भन्दै सहमति जनाएसँगै थप छलफल र बहस आवश्यक नै भएन । 

राष्ट्रपति ट्रम्पको कार्यकालभर ट्रम्पका कट्टर समर्थकका रूपमा चिनिएका सिनेट रिपब्लिकन नेता मिच म्याक्कोनेलले ट्रम्पको अनुरोध स्विकार्न कठिन भएको प्रतिक्रिया दिनुभएको थियो । ‘मतदाता, अदालत र राज्यहरू सबैले बोलिसके । यदि हामीले उनीहरूलाई विश्वास नगर्ने हो भने यसले हाम्रो गणतन्त्रलाई सदाका लागि नोक्सान गर्नेछ ।’

पूर्वराष्ट्रपति बाराक ओबामा र जर्ज डब्लु बुसले लोकतान्त्रिक मुलुकका लागि राष्ट्रपति ट्रम्पको व्यवहार अमेरिकाका लागि लज्जाजनक रहेको बताएका छन् । 

राष्ट्रपति ट्रम्पको कार्यकाल मुस्किलले दुई हप्ता रहेको छ । तर, धेरैवटा समाचार संस्थाले राष्ट्रपतिको मन्त्रिपरिषद्का सदस्यहरूबीच राष्ट्रपति ट्रम्पलाई तत्काल बर्खास्त गर्नेबारे पनि छलफल भएको बताएका छन् । 

अमेरिकी संविधानको २५औँ संशोधनका आधारमा राष्ट्रपति कार्यकारी भूमिकामा रहन अयोग्य रहेको अवस्थामा राष्ट्रपतिलाई पदच्युत गर्न सकिने व्यवस्था छ । 

संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यहरूले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ । 

अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्युत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर, चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य जारी गरी आफूलाई त्यस किसिमले हस्तक्षेप गर्न सक्ने अख्तियारी नभएको जिकिर गरे । 

बुधबारको हिंसा भड्किनुअघि ह्वाइट हाउसबाहिर भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले संसद् भवनसम्म मार्च गर्न उक्साएका थिए । 

बाइडेनले गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा ३०६–२३२ इलेक्टोरल मतले राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए । 

ad
ad