हालै पूर्व–पश्चिम राजमार्गको पर्सा राष्ट्रिय निकुञ्ज खण्डमा सवारीसाधनको ठक्करबाट सडकमै ढलेको लोपोन्मुख पाटे बाघको तस्बिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल भयो । सँगसँगै, पूर्व–पश्चिम राजमार्गकै बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभारनेर मोटरसाइकलमा सवार एकजनालाई पाटे बाघले झम्टेर लगेको भन्ने समाचार पनि । यसअघि ०७३ पुस र ०७५ पुसमा पनि सवारीसाधनको ठक्करबाट पाटे बाघ मरेका थिए ।
विश्व वन्यजन्तु कोषको तथ्यांकअनुसार नेपालमा सन् २०१७, ०१८ र ०१९ मा क्रमशः १२४, ११९ र १३३ वन्यजन्तु सवारीसाधनको ठक्करबाट मरेको देखिन्छ । कतिपय घटना सञ्चारमाध्यमको नजरमा नपरी तथ्यांकमा नसमेटिँदा सवारीसाधनको ठक्करबाट मर्ने वन्यजन्तुको संख्या अझ ठूलो हुन सक्छ ।
उल्लेखित दुवै घटना हामीले बनाएका पूर्वाधार स्थानविशेषअनुसार डिजाइन एवं निर्माण हुन नसक्ता र योजनाको अध्ययन गर्दा स्थानीय पर्यावरण तथा वातावरणीय पक्षलाई ध्यानमा राखेर अद्यावधिक गर्न नसक्दाका उपज हुन् । सडक, रेल, नहरजस्ता रेखीय संरचना निकुञ्ज वा जंगलभित्र निर्माण गर्दा वन्यजन्तुमैत्री र यात्रु सुरक्षित हुने गरी कसरी निर्माण गर्न सकिन्छ, अन्य देशमा कस्तो अभ्यास छ, यस लेखमा चर्चा गरिनेछ ।
पूर्व–पश्चिम राजमार्गले शुक्लाफाँटा, बर्दिया, चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एवंं कोसीटप्पु आरक्षको भागलाई छुन्छ । हुलाकी राजमार्गको भरतपुर–माडी खण्ड चितवन राष्ट्रिय निकुञ्जमा पर्छ । पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन खण्ड चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बरन्डाभार जंगल हुँदै जान्छ, जुन वन्यजन्तुको बसोवास र आवतजावत गर्ने स्थान हो । अन्य सहायक मार्गहरू वन्यजन्तुको वासस्थान भएका धेरै वन–जंगल भएर जाने गर्छन् । राजमार्ग मात्र होइन, बबई सिँचाइ योजनाको मुख्य पश्चिम नहर पनि बर्दिया राष्ट्रिय निकुञ्जभित्रै पर्छ ।
वन्यजन्तुको वासस्थानबाट सडक, रेल तथा नहरजस्ता संरचना बनाउँदा वन्यजन्तुलाई स्वतः खलल पुग्छ, आहार–विहारको बाटो थुनिन सक्छ । अन्ततोगत्वा वन्यजन्तुको वृद्धिमै असर गर्छ । अझ बाघ, गैँडा, जंगली हात्तीजस्ता लोपोन्मुख वन्यजन्तुको संख्यामा झन् ठूलो असर पार्छ । यस्तै, आहार–विहारका लागि निस्किँदा सडक पार गर्ने क्रममा सवारीसाधनसँग ठोक्किने हुन सक्छ, जसले गर्दा यात्रु र वन्यजन्तु दुवैको जीवन जोखिममा पर्छ । कतिपय साना वन्यजन्तु ठूला नहर तर्न नसकी बगेर पनि मर्छन् । क्यानडाको कार्लेटन विश्वविद्यालयमा गरिएको अनुसन्धानले निकुञ्जभित्रबाट सडक निर्माण गर्नाले यसै पनि जोखिममा परेका वन्यजन्तु उच्च जोखिममा रहेको देखाएको छ ।
सडक, रेल, नहरजस्ता रेखीय भौतिक संरचना चाहेर पनि भौगोलिक अवस्था, भू–बनोट, आर्थिक र अन्य प्राविधिक तथा सामाजिक कारणले गर्दा वन्यजन्तुकै वासस्थानबाट निर्माण गर्नुपर्ने बाध्यता हुन सक्छ । नेपालमा मात्र होइन, धेरै देशमा संरक्षित क्षेत्र वा जंगलबाट राजमार्ग निर्माण गरिएका छन् । सहरमा कुनै व्यस्त सडक पार गर्न आकासे पुल वा अन्डरपासको निर्माण गरिन्छ । त्यसैगरी, विकसित देशमा संरक्षित क्षेत्र वा घना जंगलबाट सडक, रेल तथा नहरहरू लैजानुपर्दा जैविक पुल (वन्यजन्तु पुल) वा अन्डरपास निर्माण गरिन्छ ।
यस्ता संरचनाबाट वन्यजन्तु सहज रूपमा सडक वारपार गर्छन् । जैविक पुल वा अन्डरपास प्राकृतिकजस्तो देखिने गरी घाँस, बोटबिरुवा रोपिन्छ । जैविक पुल ५० कै दशकमा फ्रान्समा बनाउन सुरु गरिएको हो । हाल यस्ता पुल युरोपका नेदरल्यान्ड, स्विट्जरल्यान्ड, जर्मनीलगायतका देशमा वन्यजन्तु भर्सेस सडकबीचको द्वन्द्व कम गरी वन्यजन्तुको संरक्षण र पुनस्र्थापना गर्न निर्माण गरिएको पाइन्छ ।
क्यानडाको ट्रान्स क्यानडा हाइवेको ८० किलोमिटर खण्ड अल्बेर्टा राज्यमा रहेको बाँफ राष्ट्रिय निकुञ्जमा पर्छ । बाँफ राष्ट्रिय निकुञ्ज र जोडिएको जासपर निकुञ्जसहित वरपरका अरू दुईवटा पार्क युनेस्कोले सन् १९८४ मा विश्व सम्पदा सूचीमा समेटेको छ । बाँफ तथा जासपर राष्ट्रिय निकुञ्जमा सयौँ ठुल्ठूला ताल छन्, धेरैजसो ताललाई सडक सञ्जालले जोडिएको छ ।
ट्रान्स क्यानडा हाइवे हुँदै वर्षको करिब ४० लाख मानिसले बाँफ तथा जासपरको यात्रा गर्छन् । हाइवेको ८० किमि खण्डमै करिब ५० वटा जैविक पुल र अन्डरपास निर्माण गरिएको छ । त्यसमध्ये २३ वटा जैविक पुल र अन्डरपास अनुगमन गर्दा सन् १९९६–२००९ मा करिब दुई लाखचोटि वन्यजन्तुले ओहोरदोहोर गरेको पाइएको थियो ।
जैविक पुल र अन्डरपास निर्माणपछि वन्यजन्तुका कारण हुने सवारीसाधन दुर्घटनामा ९० प्रतिशतसम्म कमी आएको छ । यसैले बाँफ राष्ट्रिय निकुञ्ज युनेस्कोबाट पुरस्कृत भएको थियो । अमेरिका, थाइल्यान्ड, युरोपका धेरै देशमा निकुञ्ज हुँदै गएका राजमार्गमा जैविक पुल निर्माणका साथै सडकको दुवैतिर तारजाली गरिएको भेटिन्छ ।
नेदरल्यान्डमा ३० भन्दा बढी जैविक पुल छन्, थप जैविक पुल निर्माणका क्रममा छन् । जैविक सम्पर्क (इको लिंक) भनेर निर्माण गरिएका सिंगापुरको जैविक पुल संसारकै चर्चित जैविक पुलमा पर्छ । त्यहाँका दुई संरक्षित क्षेत्र बुकिट तिम्ह प्राकृतिक संरक्षण र केन्द्रीय क्याचमेन्ट प्राकृतिक संरक्षण हुँदै जाने व्यस्त सडकमाथि निर्मित जैविक पुल त नेदरल्यान्डको जैविक पुल भनेर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नेपालमा पनि विश्व वन्यजन्तु कोषको पहलमा केही वर्षयता सडक, रेल, नहरजस्ता रेखीय संरचनाले वन्यजन्तुको गतिविधिमा असर नगरोस् भनेर केही काम सुरु भएका छन् । जस्तै, नारायणगढ–मुग्लिन खण्डको बरन्डाभार जंगल खण्डको रामनगर र आँपटारीमा दुई–दुईवटा गरी चार मिटर चौडाइ र ५.५ मिटर उचाइका चारवटा जैविक अन्डरपास निर्माण गरिएको छ ।
करिब १५ थरी साना तथा मझौला वन्यजन्तु र चारथरी पक्षीले उक्त अन्डरपास प्रयोग गर्ने गरेको विश्व वन्यजन्तु कोषको अध्ययनले देखाएको छ । रामनगरको पहिलो अन्डरपासको वरपरबाट सडक काट्ने करिब ४० प्रतिशत वन्यजन्तु र अन्य तीन स्थानबाट सडक काट्ने करिब २० प्रतिशत वन्यजन्तुले उक्त अन्डरपास प्रयोग गरेको अध्ययनले देखाउँछ । पछिल्लो तीनवटा जैविक अन्डरपास वरिपरि हरियाली नहुनुका साथै फोहोरको थुप्रो जम्मा गरिनुजस्ता कारणले वन्यजन्तुले सहज प्रयोग नगरेको देखिन्छ । बबई सिँचाइ योजनाको मुख्य पश्चिम नहरमा पनि जैविक पुल निर्माण गरिएको छ ।
विभिन्न देशका अध्ययनले वन्यजन्तुले जैविक अन्डरपासभन्दा जैविक पुल बढी प्रयोग गरेको देखाएको छ । क्यानडाकै बाँफ राष्ट्रिय निकुञ्जकै कुरा गर्दा सन् १९९१–२००९ मा भालुले ३१७ पटक जैविक पुलको प्रयोग गर्यो भने १० चोटि अन्डरपासको । यस्तै, मृगले १० हजारचोटि पुलबाट वारपार गर्दा करिब ६ सयचोटि अन्डरपास भएर हिँडेको देखिन्छ । यस्तै, मुज भन्ने ठूलो वन्यजन्तुले ८४ चोटि पुलबाट हिँड्यो भने अन्डरपासबाट जम्मा एकचोटि ।
अन्य ठाउँका अध्ययनले पनि साँघुरोजस्तो देखिने अन्डरपासमा झारपात, रूखबिरुवा नहुने तथा खुला आकाश नदेखिने भएकाले वन्यजन्तुले धराप ठान्छन् र प्रयोग गर्दैनन् । विकसित देश मात्र होइन, छिमेकी भारतको उत्तराखण्ड र तमिलनाडुमा निर्मित जैविक पुल हालै खुब चर्चामा आएको थियो । भारतको राष्ट्रिय राजमार्ग–४४ मा निर्मित जैविक पुल तथा अन्डरपासले लोपोन्मुख रोयल बंगाल टाइगरको गतिविधि सहज भएको छ ।
नेपालका कतिपय स्थानमा संरक्षित क्षेत्र हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । उदाहरण चितवनको माडी, जहाँ हाम्रा प्रधानमन्त्रीले चर्चित बनाइदिएको अयोध्यापुरी पनि छ । तत्कालीन चारवटा गाविस रहेको बस्ती अहिले माडी नगरपालिका बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै जाने सडक यस क्षेत्रमा पुग्ने एक मात्र विकल्प हो । चितवन राष्ट्रिय निकुञ्ज युनेस्को विश्व सम्पदा सूचीमा सुचीकृत संरक्षित क्षेत्र हो ।
संरक्षित क्षेत्र वा घना जंगलमा पूर्वाधार योजना अध्ययन गर्दा नै वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग पहिचान गरिनुपर्छ
यसैले सडक तथा बिजुली लैजाँदा होस् वा भरतपुर–माडी खण्डमा राप्ती नदीमा पुल बनाउँदा युनेस्कोले विश्व सम्पदा सूचीबाट हटाइदिने चेतावनी दिँदै आएको छ । यसैले गर्दा निर्माण सम्पन्न भएर पनि राप्ती नदीको पुल लामो समयसम्म औपचारिक सञ्चालनमा आएको थिएन ।
वन्यजन्तु र यात्रुको सुरक्षाका लागि राति सडक बन्द हुने कारणले माडी क्षेत्रका बासिन्दा रातको समयमा आपत् परे पनि भरतपुर पुग्न समस्या झेल्नुपर्छ । भरतपुर–माडी हुलाकी सडकको निकुञ्ज खण्डमा अहिलेको सडकलाई उन्नयन गरी सडकको दुवैतिर तारजाली गरेर जैविक मार्ग पहिचान गरी जैविक पुल तथा अन्डरपास बनाउने हो भने सहज र सुरक्षित आवागमनको सुविधा हुनेछ । अनि सडकले पर्यावरण र वन्यजन्तुमा पार्ने नकारात्मक असर न्यून गर्न सकिन्थ्यो ।
नेपालमा वन्यजन्तुअनुकूल संरचना निर्माणमा थोरै पहल भए तापनि आवश्यकताअनुसार भएको छैन । हामी अझै दुई अतिवादी चिन्तनको पक्षपोषणमा छौँ– संरक्षित क्षेत्रभित्र कुनै संरचना बनाउनैहुन्न, बनाए पर्यावरण तथा वातावरण ध्वस्त भइहाल्छ भन्ने तथा नागरिकलाई सेवा दिन नसकेको मुलुकमा वन्यजन्तुको चिन्ता लिनु बुद्धिविलास मात्र हो भन्ने । मान्छे हिँड्न सडक–पुल छैन, जनावर हिँड्ने पुल बनाउन रकम स्वाहा किन पार्ने भन्ने सोच छ ।
दुई अतिवादको बीचमा सन्तुलन कायम गरेरै धेरै गर्न सकिन्छ । संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्दा स्थानीय पर्यावरण तथा वातावरणीय पक्षलाई ध्यानमा राखेर डिजाइन गर्न सकिन्छ । नगरे उच्च जोखिममा रहेका वन्यजन्तु झन् जोखिममा पर्नेछन्, जसले गर्दा हाम्रो पर्यटन उद्योगमा समेत दीर्घकालीन नकारात्मक असर पर्नेछ ।
अर्कोतिर, राज्यले उच्च जोखिममा रहेका बाघ, गैँडा, हात्ती, कृष्णसारजस्ता वन्यजन्तुको संरक्षणमा उच्च लगानी गरे पनि वन्यजन्तुअनुकूल संरचना निर्माणमा उतिसारो ध्यान दिएको छैन । विश्व वन्यजन्तु कोषको सहयोगमा वन्यजन्तुअनुकूल संरचना निर्माण मानक तयार भइसके पनि पूर्ण कार्यान्वयन भएको छैन ।
संरक्षित क्षेत्र वा घना जंगलमा पूर्वाधार योजना अध्ययन गर्दा नै वन्यजन्तु ओहोरदोहोर गर्ने जैविक मार्ग पहिचान गरिनुपर्छ । पूर्वाधार निर्माण गर्दा तारजाली वा बार लगाउने र जैविक पुल तथा अन्डरपासको डिजाइन र निर्माण गरिनुपर्छ । यसले हाम्रा पूर्वाधार वन्यजन्तुमैत्री मात्र होइन, यात्रुसमेत सुरक्षित हुन्छन् । नेपालको विशेषगरी तराई क्षेत्र बाघ, हात्ती, गैँडा, हरिण आदि वन्यजन्तुको वासस्थान हो । त्यही तराईको पूर्व–पश्चिम साँघुरो ३०–४० किलोमिटर क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग छ ।
पूर्व–पश्चिम रेलमार्गको निर्माण पनि गर्दै छौँ, हुलाकी राजमार्गको निर्माण भइरहेको छ । अधिकांश सिँचाइ योजना यही क्षेत्रमा छन् । यसैले हामीले राजमार्ग सुरक्षित बनाउने र लोपोन्मुख वन्यजन्तुमैत्री रेखीय संरचना नबनाई सुखै छैन । जैविक पुल र अन्डरपास सामान्यतया लामो नहुने हुँदा लागत अरू पुल र अन्डरपासभन्दा कम हुन्छ । तर, यसले पर्यावरण, वन्यजन्तु संरक्षण, पर्यटन र यात्रुको सुरक्षामा पर्ने सकारात्मक प्रभाव धेरै हुन्छन् । यसैले हाम्रो प्राविधिक शिक्षा र निर्माण पद्धतिमा जैविक पुललाई अंगीकार गर्न ढिलो नगरौँ ।