१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार २१:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिसँग ओली र प्रचण्डको छुट्टाछुट्टै भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार २१:२२:००

सत्तारुढ दल नेकपाको विवाद चुलिएका वेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेट गरेका छन् । ओली भेट गरेर बाहिरिएपछि प्रचण्ड राष्ट्रपतिनिवास पुगेका थिए । 

भेटमा नेकपाभित्र चुलिएको विवाद र समसामयिक राजनीतिक परिस्थितिबारे ओली र प्रचण्डले राष्ट्रपति भण्डारीलाई ब्रिफिङ गरेका छन् । नेकपाभित्र दुई अध्यक्षबीच मतभेद हुँदा राष्ट्रपति भण्डारीको सक्रियता बढ्ने गरेको छ । ओलीले झन्डै दुई र प्रचण्डले करिब एक घन्टा राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । 

राष्ट्रपतिका एक सल्लाहकारले राष्ट्रपतिसँग प्रधानमन्त्रीले नियमित भेटघाट गरेको बताए । ‘प्रधानमन्त्रीले राष्ट्रपतिसँग मुलुकको पछिल्लो परिस्थितिबारे जानकारी गराउन कम्तीमा हप्ताको एकपटक नियमित भेटवार्ता गर्ने प्रचलन छ,’ ती सल्लाहकारले भने, ‘पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू जानकारी गराउन प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको हो ।’ उनले राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका र समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्न प्रधानमन्त्री ओली र प्रचण्डलाई आग्रह गरेको पनि जानकारी दिए ।

मंगलबार बसेको सचिवालय बैठकले पार्टीभित्र विवाद समाधानका लागि अनौपचारिक छलफल गर्ने निर्णय गरेकै वेला राष्ट्रपति भण्डारीले नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डसँग भेट गरेकी छिन् । मंगलबारको सचिवालय बैठकले शनिबार सचिवालयकै र आइतबार स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको छ ।

विगतमा पनि नेकपा विवादमा राष्ट्रपतिको चासो रहँदै आएको थियो । नेकपा विवादमा कहिलेकाहीँ राष्ट्रपतिले मध्यस्थताको भूमिकासमेत निर्वाह गर्दै आएकी छिन् । उनको यस्तो भूमिका संवैधानिक दायराभन्दा बाहिरबाट भएको भन्दै राजनीतिक वृत्तमा प्रश्न पनि उठ्दै आएका छन् ।