१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १८:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ घटनाको विरोधमा ७७ वटै जिल्लामा तरुण दलको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १८:३६:००

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार र गिरफ्तारीको विरोध गर्दै नेपाल तरुण दलले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । भक्तपुरमा भने विरोध प्रदर्शनसहित प्रधानमन्त्रीको पुत्ला दहन भएको छ ।  

तनहुँको व्यास नगरपालिका र उपभोक्ता समितिको निमन्त्रणामा पुल उद्घाटन गर्न गएका पौडेलमाथि दुर्व्यवहार र धरपकड भएको भन्दै तरुण दलले ठाउँ–ठाउँमा चक्काजाम, विरोध प्रदर्शन, विरोध सभा र राँके जुलुस निकालेको छ । ‘कतिपय जिल्लामा पार्टीले आफैँ विरोध कार्यक्रम गरेको छ, बाँकी जिल्लामा तरुण दलको नेतृत्वमा विरोध कार्यक्रम भएको छ,’ तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नयाँ पत्रिकासँग भने । घटनाको विरोध गर्दै काठमाडौंको माइतीघरमा पनि साँझ ५ बजे विरोध प्रदर्शन र विरोध सभा भएको छ । 

बुधबार दिउँसो तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघरे–दुम्सीचौर सडकको बुल्दी खोलामा बनेकाे पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घन्टा नियन्त्रणमा राखेको थियो । घटनालगत्तै देशैभरिबाट घटनाको विरोध गर्दै कांग्रेस र सम्बद्ध भ्रातृ संस्थाहरूले विरोध प्रदर्शन गरेका छन् । 

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर भर्त्सना र निन्दा गरेकी छिन् । कांग्रेस राष्ट्रिय सभाका संसदीय दलका नेता राधेश्याम अधिकारी, प्रमुख सचेतक अनिता देवकोटा र प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले समेत विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । 

युवा संघको विरोध र प्रशासनको निषेधाज्ञाका कारण बुधबार अवरुद्ध भएको पुल उद्घाटन बिहीबार पौडेलले नै गरेका छन् । कार्यक्रममा तनहुँ कांग्रेसले शक्ति प्रदर्शनसमेत गरेको छ ।