मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १७ बुधबार ०३:००:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने दुर्लभ मोडमा सत्तारुढ नेकपा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सचिवालयको बुधबार हुने बैठकमा उपस्थित नहुने स्पष्ट सन्देश दिएका छन्, पार्टी प्रमुख नै अल्पमतमा परेर बैठकमा उपस्थित हुन नसक्ने अवस्था राजनीतिक इतिहासमा विरलै भेटिन्छ

Read Time : > 5 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०३:००:००

तीन नेताका तीन महत्वपूर्ण सन्देश

ओली : पार्टीका बैठकहरूले प्रचण्डको प्रस्ताव स्वीकार र ओलीको प्रस्ताव अस्वीकार गर्ने प्रक्रिया अघि बढेकोले बैठकमा सहभागी नहुने
प्रचण्ड : ओली अनुपस्थित भए पनि बैठक गरेर बहुमत सदस्यको निर्णयअनुसार दुवै प्रस्ताव लिएर स्थायी कमिटी र केन्द्रीय कमिटीमा जाने 
नेपाल : पार्टीको बैठक र छलफल नरोक्ने, अध्यक्ष केपी ओलीले भनेजस्तो पार्टी धु्रवीकरण पूर्वएमाले र पूर्वमाओवादीका आधारमा हुन नदिने 

......

प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन् । त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन् । पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने यो अवस्था इतिहासमा बिरलै भेटिन्छ ।

सत्तारुढ नेकपा सचिवालयको मंगलबारको बैठकको सुरुवातमै ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न अडान लिएका थिए । उनले यही प्रस्ताव गत शनिबारको बैठकमा पनि लिखित र व्यवस्थित रूपमा राखेका थिए । ३८ पृष्ठ लामो प्रतिवेदनमा ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ’ भन्ने प्रस्ताव गरेका थिए । तर, मंगलबारको बैठकले भने उनको माग अस्वीकार गर्दै ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल अघि बढाएको छ । त्यस्तै, अध्यक्ष ओलीले सबै बैठक रोक्न माग गरे पनि सचिवालयले पूर्वनिर्धारित सूचीअनुसार १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक अघि बढाउने भएको छ । 

नेकपा सचिवालयका एक सदस्यका अनुसार मंगलबारको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई निराधार आरोप लगाउने तथा त्यसलाई पार्टीको दस्ताबेज भनेर प्रचार गर्ने अध्यक्ष प्रचण्डमाथि अनुशासनको कारबाही किन नगर्ने भनेर ओलीले सोधेका थिए । उनले प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान राखेका थिए । 

‘निराधार आरोप र लाञ्छनाले भरिएको पत्रमाथि छलफल हुन सक्दैन, त्यो पत्रमा ममाथि गम्भीर आरोप छन्, त्यसलाई मैले खारेज गरेको छु । यस्तो प्रस्ताव पार्टी कमिटीमा छलफल हुन सक्दैन, यसलाई एजेन्डा बनाउन सकिँदैन,’ सचिवालयका एक नेताका अनुसार ओलीको भनाइ थियो । 

तर, कुनै प्रस्तावमा छलफल हुने वा नहुने विषय पार्टी बैठकले मात्र निर्णय लिन सक्ने भन्दै प्रचण्डले ‘छलफल नै हुँदैन भन्ने तपाईं को हो’ भन्ने प्रश्न सोधेका थिए । ‘मैले अगाडि सारेको प्रतिवेदन छलफल हुन सक्दैन भन्ने ओली कमरेडको भनाइ आयो, यो निर्णय तपाईंले गर्ने होइन । यो तपाईं एक्लैको अधिकारको विषय पनि होइन । यसको निर्णय पार्टी कमिटीले गर्छ,’ प्रचण्डको भनाइ थियो, ‘तपाईं (सचिवालयका अन्य सदस्य)हरूको यसमा धारणा के हो ? दुवै प्रस्ताव छलफल लैजाने कि नलैजाने तपाईंहरू नै भन्नुस् । सबैको सहभागितामा निर्णय गरौँ ।’

प्रचण्डको भनाइलगत्तै वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि छलफल हुने धारणा राखेका थिए । वरिष्ठ नेता नेपालले कुनै पनि प्रस्तावको विषयमा व्यक्तिले होइन, पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेका थिए । ‘पार्टी कसैको पेवा होइन, प्रस्तावमा छलफल हुना साथ पार्टी फुट्छ र त्यसमा पनि पूर्वएमाले र पूर्वमाओवादी हुन्छ भन्ने धारणा कसैले नराखे हुन्छ,’ नेपालको भनाइ थियो । 

वरिष्ठ नेता खनालले पार्टीको बैठकमा प्रस्तुत भइसकेपछि प्रधानमन्त्री ओली र प्रचण्डको दुवै प्रस्ताव पार्टीको सम्पत्ति भएकाले अब छलफल गरेरै निष्कर्ष निकाल्नुपर्ने अडान राखेका थिए । 

त्यस्तै, उपाध्यक्ष गौतमले प्रधानमन्त्रीले पनि बैठकमा उपस्थित भएर छलफलमै भाग लिइसकेकाले अब रोक्नुस् भन्न नमिल्ने धारणा राखेका थिए । प्रवक्ता श्रेष्ठले छलफलमा अगाडि बढेको विषयलाई रोक्न नमिल्ने मत राख्दै दुवै प्रस्तावमाथि छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए । रामबहादुर थापा पनि बैठकमा प्रस्तुत भइसकेको प्रतिवेदनमाथि छलफल हुनुपर्ने पक्षमा उभिएका थिए । 

नेताहरूको रायसँगै २८ कात्तिकमा प्रचण्डद्वारा प्रस्तुत १९ पृष्ठ लामो र त्यसको जवाफका रूपमा ओलीले १३ मंसिरमा प्रस्तुत गरेको ३८ पृष्ठ लामो प्रतिवेदन औपचारिक छलफलमा प्रवेश गरेको सचिवालयका सदस्यहरूको भनाइ छ । ‘अध्यक्षहरूले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘त्यसअन्तर्गत नेताहरूका बीचमा अनौपचारिक छलफल, अन्तक्र्रिया र संवादका प्रक्रिया पनि अगाडि बढाइनेछ ।’

तर, प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले भने दुवै अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने एजेन्डामै सहमति नभएको अवस्थामा औपचारिक छलफलै सुरु नभएको बताए । ‘प्रधानमन्त्रीले बैठक अगाडि बढाउनुस्, के छन् आजका एजेन्डा भनेपछि प्रचण्डले दुवैजनाको राजनीतिक प्रतिवेदन र पत्रहरू कार्यसूचीमा रहेको बताउनुभएकोसम्म हो,’ ती सदस्यले भने, ‘प्रतिवेदनमाथि छलफल अघि बढ्यो भनेर एकतर्फी भ्रमपूर्ण प्रचार गर्ने कुरा गलत छ ।’

सचिवालयको बैठक बुधबार बस्ने तय भए पनि ओलीले आफू उपस्थित नहुने स्पष्ट पारिसकेका छन् । ‘म व्यस्त छु, उपस्थित हुन सक्दिनँ,’ ओलीले बैठकमा भनेका थिए । 

‘प्रधानमन्त्रीले पार्टी एकता कायम गरेर अघि बढ्ने हो भने संकटको समाधान खोज्न केही समय लिएर भए पनि अनौपचारिक संवाद गरौँ भन्नुभएको थियो, तर प्रचण्डले त्यो आग्रहलाई पनि नसुनी एकतर्फी रूपमा बुधबार १ बजेका लागि बैठक तोकेकाले प्रधानमन्त्रीले आफू व्यस्त रहेकाले उपस्थित हुन नसक्ने जानकारी गराइसक्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँले म भोलि व्यस्त हुन्छु, बैठक नगरौँ भन्नुभएको थियो । तर, प्रचण्डले एकतर्फी घोषणा गरेर हिँड्नुभएको छ । सायद उहाँहरूले एकतर्फी बैठक राख्नुहुन्छ होला ।’

तर, प्रचण्डनिकट नेताहरूले भने प्रधानमन्त्रीले १०–१५ दिन बैठक नै रोकेर अनौपचारिक छलफल मात्र गर्न प्रस्ताव गरेकाले अनौपचारिक छलफल जारी राख्ने गरी बुधबारका लागि बैठक तोकिएको दाबी गरेका छन् । ‘अनौपचारिक छलफल पनि गरौँ, औपचारिक बैठक रोकेर होइन । बुधबार १ बजे बैठक गरौँ भनेर प्रचण्ड कमरेडले भनेपछि प्रधानमन्त्रीले नै त्यस्ता बैठकको के काम ? भन्दै बाहिरिनुभएको हो,’ ती नेताले भने । 

बर्थडेको माहोलपछि तनाव

दिउँसो १ बजेर १३ मिनेटमा बैठक हलमा प्रवेश गर्दा सबै नेताहरू गम्भीर मुद्रामा थिए । तर, बैठक सुरु हुनुअघि महासचिव विष्णु पौडेलको ६२औँ बर्थडे मनाउन केक काट्ने कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई आग्रह गरेपछि भने एकाएक बैठक रमाइलो माहोलतिर मोडिएको थियो । प्रधानमन्त्री ओली र प्रचण्डले दीर्घायुको शुभकामना दिँदै पालैपालो पौडेललाई केक खुवाएका थिए । 

वरिष्ठ नेता नेपालसहित सबैजसो नेताले पौडेललाई शुभकामना दिएका थिए, तर उपाध्यक्ष गौतमले भने सय वर्ष तोकेरै दीर्घजीवनको शुभकामना दिएका थिए । बैठक सुरु भएलगत्तै माहोल तनावपूर्ण भएको थियो । 

यो पनि पढ्नुहोस्


केपी ओली : यस्ता बैठकको कुनै अर्थ छैन, म व्यस्त छु आउँदिन

तपाईंको प्रस्ताव छलफलको विषय हुन सक्दैन । विधि, पद्धति, सहमति केही पनि पालना नगरी र कमिटीको पनि अनुमति नलिई एकल रूपले मनोमानी ढंगले प्रस्ताव ल्याउनुभएको छ । केवल द्वेष, ईष्र्या, आरोप, कुण्ठा लाञ्छनायुक्त पत्रका रूपमा आएको छ । पार्टीको साख गिराएर बदनाम गर्ने उद्देश्य छ, फिर्ता गर्नुस्, क्षमायाचना गर्नुस्, त्यसपछि बैठक अगाडि बढ्छ । 

तपाईंले लोगो प्रयोग गरेर पुस्तिका छाप्नुभएको छ, यो पार्टी विधान र पद्धतिको उल्लंघन हो । यसमा तपाईंमाथि किन कारबाही नगर्ने ?

तपाईंमाथि कारबाहीको प्रक्रिया अगाडि बढ्छ । क्षमायाचना गरेर आइन्दा यसो गर्दिनँ भनेर मात्र त्यसमा पुग्दैन, किनभने यो तपाईंको निजी पार्टी होइन । पार्टी कता लाने भन्नेबारे तपाईंहरूको नियत बुझेको छु । पार्टीलाई फाटो र विभाजनमा लैजान काम गरिरहनुभएको छ । पार्टी एकता गर्ने हो भने छलफल गरौँ, सहमति गरौँ । फुट–विभाजनतिरै जाने, सर्वनाशतिरै जाने हो भने यस्ता बैठककोे कुनै आवश्यकता छैन ।

पुष्पकमल दाहाल प्रचण्ड : नेताहरूले बैठक बसौँ भनेर पत्र लेख्नुपर्ने अवस्था आयो

पार्टीमा प्रस्तुत भएको प्रस्तावमा छलफलै हुँदैन भन्ने तपाईं को हो ? साथीहरू के भन्नुहुन्छ ? यहाँ यत्रो कमिटी र नेताहरू हुनुहुन्छ, के उहाँले भनेजस्तै छलफलै नगर्ने हो ? तपाईंले हामीलाई उत्तेजित बनाउने कोसिस गरिरहनुभएको छ, हामी उत्तेजित हुँदैनौँ, ठण्डा दिमागले सोच्छौँ र छलफल गरेर निष्कर्ष निकाल्छौँ । पार्टी एकताको रक्षा गर्छौँ र अगाडि बढ्छौँ । 

खासमा तपाईंले फायर खोलेपछि अन्तर्संघर्ष अहिलेको स्थितिमा आएको हो । हामीले स्थायी कमिटी निर्णय कार्यान्वयन भएन, बैठक बसौँ भनेका हौँ । नेताहरूले बैठक बसौँ भनेर अनुरोध गर्दा नमान्ने ? पत्र लेख्न बाध्य बनाउने ? अनि बैठक बसौँ, सहमति गरौँ भनेर सामूहिक रूपमा पत्र लेख्दा तपाईंले १० पेजको लाञ्छनायुक्त पत्र पठाउने ? यसपछि मैले अर्को पत्र पठाएर प्रस्ताव तयार पारेको हो । त्यसकारण फायर तपाईंले खोलेको हो । बालुवाटारमा बसेर तपाईंले गुटको खेती गरिरहनुभएको छ । प्रतिष्ठानबाट देशव्यापी रूपमा फुटको गतिविधि गरिरहनुभएको छ, अनि अरूलाई आरोप लगाउनुहुन्छ ?

माधव नेपाल : अब पूर्वएमाले र पूर्वमाओवादी भनेर पार्टी फुट्दैन

छलफल रोक्नुस् भन्ने तपाईं (ओली) को हो ? छलफल अघि बढ्छ । हाम्रो अन्तर्विरोध मित्रतापूर्ण हो । यो अन्तर्विरोधलाई दुस्मनीपूर्ण अन्तर्विरोध भनेर व्याख्या गरेर पार्टी विभाजनको आतंक सिर्जना गर्ने को हो ? पार्टी कसैको पेवा हो ? कसले फुटाउने पार्टी ? अब यो पार्टी पूर्वएमाले र पूर्वमाओवादी भनेर फुट्दैन । यो पार्टी कसैले फुटाउन पनि सक्दैन र फुटाउन पनि दिइन्न ।

सबै समस्याको जड केपीजीको व्यक्तिवाद, गुटवाद र अहंकार हो । त्यसकारण उहाँ नसच्चिएसम्म विश्वासको वातावरण बन्दैन । साँच्चै विश्वासको वातावरण बनाउन उहाँले आफूलाई सच्याउनुपर्छ तब मात्र छलफल सकारात्मक दिशातार्फ जान्छ । नत्र विधि र प्रक्रियाबाट निर्णय गर्नुपर्ने हुन्छ । समस्याको जड अरू कोही होइन, तपाईं (ओली) नै हो । पार्टीको बैठक बस्न नमान्ने, बैठकको निर्णय मान्दिनँ भन्ने र विधि र प्रक्रियालाई चुनौती दिने काम अहिले बन्द गर्नूस् । पार्टी कसैको पेवा होइन, सबैको सम्पत्ति हो । सामूहिक निर्णय लागू हुन्छ । व्यक्तिलाई हाबी हुन दिइँदैन ।