१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ४ बिहीबार
  • Saturday, 21 September, 2024
गणेश लम्साल विराटनगर
२o७७ मङ्सिर ४ बिहीबार o६:o८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालयमा अर्को वर्षदेखि पढाइ

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर ४ बिहीबार o६:o८:oo

स्नातकमा पानीजहाज र रेल्वे इन्जिनियरिङ पढाउने तयारी

प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि अध्ययन–अध्यापन सुरु हुने भएको छ । स्नातकमा पानीजहाज र रेल्वे इन्जिनियरिङको पढाइ गर्ने तयारी थालिएको छ । 

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई स्तरोन्नति गरी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय बनाएको हो । देशको पहिलो प्राविधिक विश्वविद्यालयले आगामी शैक्षिक सत्र ०७८/७९ देखि स्नातक तहमा चारवर्षे पानीजहाज र रेल्वे इन्जिनिरिङको पढाइ गर्ने तयारी थालेको जनाएको छ । 

यससँगै आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पढाइ पनि सुरु गरिने भएको छ । पहिलो वर्ष स्नातकोत्तर तहमा १२ र स्नातक तहमा एक सयजना विद्यार्थी भर्ना गर्ने योजना रहेको विश्वविद्यालयका प्रमुख सुभाषश्री पोखरेलले बताए ।   

गत वर्ष प्रदेश सभाबाट कानुन पारित भएसँगै प्रदेश सरकारले मनमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको  मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालयमा रूपान्तरण गरेको थियो । यससँगै प्रतिष्ठानले मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको इन्स्टिच्युटको दुई अर्ब ६५ करोडबराबरको भौतिक सम्पत्ति सञ्चालनको दायित्व गत कात्तिकमा प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो । 

कानुन निर्माण भएर दायित्व हस्तान्तरण भएपछि मनमोहन प्राविधिक विश्वविद्यालयले मनमोहन अनुसन्धान केन्द्र स्थापना गरी कृषि, पर्यटन, इन्जिनिरिङ र जलस्रोतलाई मिलाएर पाठ्यक्रम निर्माण गर्न लागेको सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । अब सबै पदाधिकारी नियुक्त गरेर आगामी वैशाखभित्र पहिलो सभा सम्पन्न गर्ने योजना सरकारको रहेको घिमिरेले बताए । यसलाई नमुना विश्वविद्यालय बनाउने गरी काम भइरहेको उनको भनाइ छ । 

पानीजहाज र रेल्वे इन्जिनियरिङको पाठ्यक्रम निर्माण गरिँदै   
मनमोहन प्राविधिक विश्वविद्यालयमा आगामी शैक्षिक सत्रको असोजदेखि स्नातक र स्नातकोत्तर तहको पठनपाठन सुरु हुने र त्यसका लागि पाठ्यक्रम धमाधम निर्माण भइरहेको विश्वविद्यालयका कार्यकारी प्रमुख पोखरेलले बताए । प्रमुख  पोखरेलका अनुसार देशमा पूर्व–पश्चिम रेलसेवा सञ्चालन हुने निश्चित भइसकेको र त्यसका लागि आवश्यक जनशक्ति नभएकाले पहिलो प्राथमिकतामा राखिएको हो । 

यसैगरी देशका ठूला नदीहरूमा साना पानीजहाजहरू सञ्चालन हुन थालेको र त्यसको चालक र प्राविधिकहरूको अभाव रहेको छ । जहाज र बोटहरू पनि देशमा निर्माण हुन नसक्दा महँगोमा विदेशबाट खरिद गरेर ल्याउनु परिररेहेको छ । प्रमुख पोखरेलले भने ‘यसैले हामीले आगामी वर्ष ०७८÷७९ देखि सिभिल इलेक्ट्रिोक्सि विषयको स्नातक तहको पानीजहाज र रेल्वेको पढाइलाई उच्च प्राथमिकता दिएर चारवर्षे कोर्स निर्माण गर्न थालेका हौँ ।’

प्रमुख पोखरेलका अनुसार आगामी वर्षदेखि सिभिल इन्जिनियरिङको पढाइ पनि सुरु हुने भएको छ । त्यसपछि क्रमशः मनमोहनले दश वर्षभित्र ब्याचलर अफ मेडिकल ल्याब टेक्निोलोजी (बिएमएलटी), आँखा उपचारका स्वास्थ्यकर्मीहरूका लागि ‘अप्टिमेसी’, अनि मास्टर्स अझ पब्लिक हेल्थ (एमपिएच) र बायोमेडिकल इन्जिनियरिङ  विषयमा पनि पढाइ सुरु गर्ने योजना बताएको छ । त्यस्तै, पर्यटन, एग्रिकल्चर, भेटेरिनरी, पब्लिक हेल्थ, रेडियोग्राफी, फार्मेसी, आयुर्वेद, आँखा, डेन्टल, हाइबे सर्भेलगायतका विभिन्न थप १३ वटा प्राविधिक विषयमा पठनपाठन गराउने योजना बनाएको कार्यकारी प्रमुख पोखरेले बताए ।  

उनका अनुसार आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुचारु गराउनका लागि बुढीगंगा–४ हात्तीमुढामा  केन्द्रीय कार्यालय स्थापना भइसकेको छ । एक साताभित्रै नयाँ परामेडिकल भवनको सिलान्यास हुँदै छ । अटोमोबाइल्स इन्जिनिरिरिङ ल्याब निर्माण भइरहेको छ । त्यसपछि क्रमशः अन्य संकायका भवन, ल्याब, डिन, रजिस्टार र परीक्षा कार्यालयहरू स्थापना हुँदै जाने उनले बताए । 

आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्नका लागि मनमोहन प्राविधिक विश्वविद्यालयका आन्तरिक नियमावली र निर्देशिकाहरू निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसेकेको कानुनी सल्लाहकार कोषराज न्यौपानेले बताए । मनमोहनले पहिलो चरणमा केन्द्रीय कार्यालय रहेका आफ्ना आंगिक क्याम्पसहरूमार्फत स्नताक र स्नातकोत्तरको पढाइ सञ्चालन गर्नेछ । त्यसमा सफलता हासिल गरेपछि क्रमशः सार्वजनिक निजी साझेदारीमा प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बुलगायतका जिल्लामा आंगिक क्याम्पसहरू सञ्चालन गर्ने योजना छ ।