१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार ११:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कागजी डिभोर्स गरेका धनराजमाथि थप अनुसन्धान गरी कारबाही गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार ११:१६:oo

ललितपुरस्थित मितेरी सहकारीको रकम ठगीबाट जोगिन कागजी सम्बन्धविच्छेद गरेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि थप अनुसन्धान गरी कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारीकी महाप्रबन्धकसमेत रहेकी ज्योति गुरुङसहितको संलग्नतामा १४ करोड ८१ लाख रकम अपचलन गरेको सहकारीको दाबी छ । धनराजले २९ फागुन ०७६ मै ज्योतिसँग डिभोर्स भएको दाबी गरेका थिए । तर, त्यसको एक वर्षपछि थप ऋण लिँदा हकदाबीवालाको नाममा ज्योतिलाई नै श्रीमती उल्लेख गर्दै ल्याप्चे लगाएका छन् ।

संसदीय समितिले लिएको बयानका क्रममा मितेरी सहकारी अध्यक्ष कुम्मराज गुरुङले रकम अपचलनबारे प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा रकम हिनामिना गरिएको सम्बन्धमा कारबाहीका लागि निवेदन दिएको बताएका छन् । समितिले थप छानबिन गरी कारबाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

‘सहकारीकै कारण कतिपयले नक्कली विवाहसमेत गर्ने गरेका चर्चा छन् । मितेरी बचत तथा ऋण सहकारीमा कार्यरत ज्योति गुरुङले पति धनराज गुरुङसँग सम्बन्धविच्छेद गरेर पनि साथमै बस्ने गरेको चर्चा छ,’ समितिले भनेको छ, ‘निजहरूको सम्बन्धविच्छेदको मिलापत्र फैसला अनुसूची– २३ मा प्रस्तुत गरिएको छ । सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरुङ र धनराज गुरुङसमेतका उपर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशितसमेत गरेको छ । यसअघि समितिले ज्योति गुरुङलाई खोजी गरी समितिसमक्ष उपलब्ध गराइदिन गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।’