नेपालको लागि ल्याइएका दुई सयभन्दा बढी नयाँ मोडेलका चिनियाँ विद्युतीय गाडी स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा आइपुगेका छन्। १४ सिट भएको माइक्रो, १५ सिटमाथिका मिनीबस र ९९ किलोवाटदेखि दुई सय किलोवाटसम्मका कार तिब्बती सहरका सडकमा रहेको तातोपानी भन्सारले जानकारी दिएको छ।
नेपाली व्यापारी र चिनियाँ भन्सारका अधिकारीको भनाइ उद्धृत गर्दै तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले रेडिमेड, फलफूल, लसुन र दसैँ आसपास ठुलो संख्यामा विद्युतीय गाडी आउन लागेको बताए। नेपाली व्यापारीले खरिद गरेको इलेक्ट्रिक गाडी सीमानजिक आएको खबर पाएका छौँ, ‘उनले भने, ‘इभी र दसैँलक्षित सामग्री आयातसँगै राजस्व पनि लक्ष्यभन्दा बढी संकलन भइरहेको छ।’ विद्युतीय गाडीबाट मात्रै यसपटक ५० करोड राजस्व संकलन हुने अनुमान गरिएको छ।
हाल खासामा एक सय चिनियाँ ट्रेलरमा दसैँ र जाडो यामका सामग्री छन्। खासा पुनर्निर्माण जारी रहेकोले सवारीसाधन चलाउन आलोपालो प्रणाली लागू गरिएको छ। जाडो यामका लागि लक्षित रेडिमेड सामग्री खासामाथिका सडकमा रहेका छन्। भन्सार यार्डमा ६० गाडी जाँचपास भएर बसेका छन्। भन्सार तिरेका, तर चेकजाँच गर्न बाँकी करिब ५० गाडी भन्सारआसपास छन्। खासादेखि सुक्खा बन्दरगाह लार्चासम्म कन्टेनर भरिभराउ भएका छन्।
दसैँ नजिकिँदा तातोपानी नाका गुलजार देखिएको छ। यद्यपि, कोदारी राजमार्गको दुरावस्थाले राजधानी आउने कन्टेनरलाई सडक पार गर्न कठिन परिरहेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजुले दसैँका लागि ल्याइएका धेरै सामान अझै खासामा अड्किएको बताए। ‘खासामा गाडी आलोपालोमा चलेकोले दसैँलक्षित कतिपय सामान भन्सार आइपुगेका छैनन्,’ उनले भने।