१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २६ सोमबार
  • Wednesday, 13 November, 2024
२o८१ कार्तिक २६ सोमबार o६:२२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

सरकारको नेतृत्व गरेको एमाले नै शक्ति प्रदर्शनमा

७ मंसिरमा काठमाडौंमा उपत्यकाको पार्टी शक्ति सडकमा उतार्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २६ सोमबार o६:२२:oo

सरकारको नेतृत्व गरेको एमालेले काठमाडौं उपत्यकाको पार्टी शक्तिलाई सडकमा उतार्ने भएको छ । यसको उद्देश्य अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिने रहेको एमालेको प्रस्टीकरण छ ।

७ मंसिरमा आयोजना गर्ने भनिएको जागरणसभामा काठमाडौं उपत्यकाका तीन जिल्लाको शक्ति परिचालित गर्दै एमालेले आइतबारबाट तयारी सुरु गरेको छ । तयारीमा जनसंगठन र सम्पर्क मञ्च पनि परिचालित हुँदै छन् । कांग्रेससहितको गठबन्धन सरकारको एमाले अध्यक्ष केपी ओलीले नेतृत्व गरिरहेका छन् ।

विपक्षी दलहरूले सरकारको आलोचना गर्दै विभिन्नखाले संघर्षका कार्यक्रम गरिरहेको वेला सत्तारूढ दल एमालेले पनि सडकमा उपस्थिति जनाउन लागेको हो । विपक्षीहरूले सरकार अस्वाभाविक रूपमा बनेको, भ्रष्टचारीलाई संरक्षण गरेको र राजनीतिक प्रतिशोध साधेर सहकारी प्रकरणमा काम गरेको आरोप लगाएका छन् । 

 विपक्षी दलहरूले सरकारको नीति र नियतमाथि प्रश्न उठाउँदै दबाबमूलक कार्यक्रम गरिरहेको वेला सडकबाटै प्रतिवाद गर्ने सत्तारूढ दल एमालेको तयारी 

प्रमुख प्रतिपक्षी दल माओवादीले भ्रष्टाचार र बेथितिविरुद्ध १० कात्तिकमा काठमाडौंमा खबरदारी सभाका नाममा शक्ति प्रदर्शन गरेको थियो । अर्को विपक्षी दल रास्वपा अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पूर्वाग्रह राखेर हिरासतमधा लिएको विरोधमा सरकारविरुद्ध प्रदर्शनमै छ ।

विपक्षी दुई दलले भ्रष्टाचार र सुशासनको मुद्दामा सरकारमाथि सार्वजनिक रूपमै दबाब बढाएपछि एमाले उस्तै शैलीमा प्रस्टीकरण दिने तयारीमा जुटेको हो । सरकारले गरिरहेका काम, सार्वजनिक रूपमा उठिरहेका प्रश्नको प्रस्टीकरणदेखि जागरणसभामार्फत लोकतन्त्रको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका कतिपय शक्तिलाई सन्देशमूलक जवाफ दिने योजनामा एमाले छ । 

सरकारमा भए पनि जागरणसभा सरकारलाई समेत सचेत गर्दै सही दिशामा अघि बढ्न प्रेरित गर्ने उद्देश्यले पार्टीले आयोजना गरेको स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘सरकार र पार्टी अलग हो । जागरणसभा सरकारले होइन, पार्टीले गर्न लागेको हो । सरकारले सामाजिक सद्भाव, एकताको पक्षमा, अराजकता नियन्त्रण र सुशासन कायम गर्ने, विकासको काम अगाडि बढाएर जनअपेक्षा पूरा गर्नुपर्छ,’ गौतमले नयाँ पत्रिकासँग भने, ‘अहिले उठेका विभिन्न मुद्दा र सार्वजनिक प्रश्नमा पार्टीको दृष्टिकोण 

प्रस्ट्याउने, सरकारलाई पनि काम र उद्देश्यप्रति सचेत बनाउने काम जागरणसभाले गर्नेछ ।’जागरणसभाको मिति तय भइसके पनि एमालेले कार्यक्रमको स्थानसहित स्वरूपका विषयमा भने ठोस निर्णय गरिसकेको छैन । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको संयुक्त आयोजनामा हुने कार्यक्रमको स्वरूप र तयारीबारे आइतबार जिल्ला अध्यक्षहरूको बैठक बसेको थियो ।

बैठकमा लामो समय सडक अवरोध हुने गरी जुलुस प्रदर्शन नगरी छोटो र छरितो रूपमा कार्यक्रम सम्पन्न गर्ने विषयमा केन्द्रित छलफल भएको काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । जिल्ला प्रशासनसँगसमेत छलफल र समन्वय गरेपछि मात्र दुई–तीन दिनभित्र स्थान तय हुने उनले बताए । जागरणसभालाई संक्षिप्तमा सम्पन्न गराउन अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलमध्ये दुईजना मात्र वक्ता राख्ने विकल्पमा आन्तरिक तयारीमा रहेका नेताहरूले छलफल चलाइरहेका छन् । 

एमालेले अराजकताको प्रतिवाद गर्नका लागि संस्थागत रूपमै पार्टीपंक्तिलाई आह्वान गर्दै आएको छ । १९ भदौमा सम्पन्न पोलिटब्युरो बैठकले अराजकता र असहिष्णुता रोक्ने प्रतिबद्धतासहित विशेष प्रस्ताव नै पारित गरेको थियो । एमालेले तीन वर्षपछि हुने चुनावका लागि मिसन ८४: बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण अभियानका लागि १८ बुँदे वार्षिक कार्ययोजना पास गरेर काम अगाडि बढाइरहेको छ । 

तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन्–यसलाई सडकसंघर्षका रूपमा बुझ्नुहुन्न
सरकार र पार्टी  अलग हो । जागरणसभा सरकारले होइन, पार्टीले गर्न लागेको हो । सरकारले सामाजिक सद्भाव, एकताको पक्षमा, अराजकता नियन्त्रण र सुशासन कायम गर्ने, विकासको काम अगाडि बढाएर जनअपेक्षा पूरा गर्नुपर्छ । अहिले उठेका विभिन्न मुद्दा र सार्वजनिक प्रश्नमा पार्टीको दृष्टिकोण प्रस्ट्याउने, सरकारलाई पनि काम र उद्देश्यप्रति सचेत बनाउने काम जागरणसभाले गर्नेछ । सरकार नै सडकमा आएको रूपमा बुझ्नुहुन्न ।