गौतमबुद्ध विमानस्थलमा जजिरा, नेवानि, फ्लाई दुबई र थाई एयर एसियाको नियमित उडान सुरु, २७ कात्तिकदेखि दैनिक उडान गर्ने तयारीमा कतार एयरवेज
भव्य संरचना बनेर पनि अलपत्रजस्तै बन्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा उद्घाटनको साढे दुई वर्षपछि बल्ल गुल्जार बनेको छ । शनिबार एकै दिन तीन वायुसेवा कम्पनी कुवेतको जजिरा एयरवेज, युएईको फ्लाई दुबई र नेपाल वायुसेवा निगमले भैरहवामा उडान भरेका हुन् ।
यसअघि थाई एयर एसियाले १८ कात्तिकदेखि नै बैंकक–भैरहवा–बैंकक सातामा दुईवटा उडान थालेको थियो । त्यस्तै, कतार एयरवेजले २७ कात्तिकदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडानको तयारी गरेको छ । कतारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पेस गरिसके पनि काठमाडौंमा अवतरण गर्ने समय नमिलेर तालिका स्वीकृत हुन नसकेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सातामा तीन उडान भर्ने जजिराले भैरहवामा सिधा उडान सुरु गरेको छ । नेवानिले काठमाडौं–भैरहवा–दुबई तथा फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान सुरु गरेको क्यानले जनाएको छ ।
‘अब सातामा एयर एसिया, जजिरा, फ्लाई दुबई र नेवानिका गरी १७ अन्तर्राष्ट्रिय उडान हुनेछन्,’ गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले भने, ‘कतारको पनि थपिँदा उडान संख्या २४ पुग्नेछन् ।’ त्रिभुवन विमानस्थलमा उडान कटौती भएपछि स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवालाई वैकल्पिक विमानस्थल बनाउन थालेका छन् ।
शनिबार बिहान जजिराको जहाज फुल अकुपेन्सी यात्रु बोकेर भैरहवा अवतरण गरेको थियो । भैरहवा विमानस्थल उद्घाटनको दिन २ जेठ ०७९ देखि केही महिना उडान गरेर बन्द गरेको जजिराले पुनः उडान थालेको हो । जजिराको नोभेम्बरभरि फुल अकुपेन्सी रहेको एक प्रतिनिधिले बताए । यस्तै, दिउँसो २ बजेतिर अवतरण गरेको फ्लाई दुबईको जहाजबाट १० जना यात्रु भैरहवा ओर्लिए भने काठमाडौंमा ओर्लिने यात्रु डेढ सय थिए । नेवानिले राति काठमाडौंबाट भैरहवा हुँदै दुबईका लागि उडान गरेको छ । काठमाडौंबाट उडेको निगमको जहाज राति १०ः२० भैरहवामा अवतरण गरी ११ः२४ मा दुबईका लागि उडान गर्ने तालिका छ ।
‘गौतमबुद्ध विमानस्थलमा महोल सिर्जना भएको छ, अब आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुमाझ पनि भैरहवाको प्रचारप्रसार हुनेछ,’ महाप्रबन्धक तिवारीले भने, ‘अन्तर्राष्ट्रिय उडानले निरन्तरता पायो भने यात्रुले पनि भैरहवाबाटै उडान गर्न टिकट काट्नेछन्, भैरहवामा यात्रु पाउन थाल्नेछन् ।’
क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवा उडान गर्न तयार भएका हुन् । यसअघि त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टा उडान हुने गरेकोमा २३ कात्तिकदेखि १४ घण्टामा सीमित भएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत र आन्तरिक उडान ३५ प्रतिशत कटौती भएका छन् ।
२ जेठ ०७९ देखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई वर्षपछि बल्ल गुल्जार बनेको छ । एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान हुँदा विमानस्थलमा चहलपहल बढेको महाप्रबन्धक तिवारीले बताए । ‘गौतमबुद्ध विमानस्थलमा महोल सिर्जना भएको छ, अब आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुमाझ पनि भैरहवाको प्रचारप्रसार हुनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडानले निरन्तरता पायो भने यात्रुले पनि भैरहवाबाटै उडान गर्न टिकट काट्नेछन्, भैरहवामा यात्रु पाउन थाल्नेछन् ।’
लो कस्ट बजेट एयरलाइन्स, बौद्धमार्गी देशका एयरलाइन्सका लागि भैरहवाको विमानस्थल उपयुक्त छ । ‘फ्लाई दुबईको युरोपदेखि अमेरिकासम्म कनेक्टिभिटी छ, दुबई आफैँमा लिजर टुरिस्ट डेस्टिनेसन हो, एसियाकै बिजनेस हब पनि हो,’ तिवारीले भने, ‘भैरहवामा फ्लाई दुबईले उडान गर्नु खुसीको कुरा हो, काठमाडौंलाई पनि कनेक्टिङ गरेको हुँदा यात्रुको पनि अभाव नहोला ।’
बौद्धमार्गी देश थाइल्यान्ड र बुद्धको जन्मस्थल लुम्बिनी सीधा उडानबाट जोडिएको छ । लुम्बिनी आउने बौद्धिस्ट पर्यटकलाई उसले ल्याउनेछ । ‘एयर एसिया विश्वकै नम्बर एक बजेट एयरलाइन्स हो, थाई एयर एसिया उसैको भगिनी कम्पनी हो,’ तिवारीले भने, ‘थाई एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान गर्दा थाई पर्यटक मात्र आउँदैनन्, कम्बोडिया, भियतनामका बौद्धमार्गी पर्यटक पनि आउने अपेक्षा छ ।’
खाडी मुलुकका यात्रु बोक्ने हुनाले भैरहवामा जजिराको भविष्य पनि राम्रो रहेको तिवारीको भनाइ छ । पश्चिम नेपालबाट खाडी मुलुकमा काम गर्न जाने धेरै छन् । जजिराले भैरहवा विमानस्थल उद्घाटन गरेकै दिनदेखि सातामा तीन दिन उडान गरेकोमा केही महिनामै रोकेको थियो । भैरहवा उडानलाई पुनः निरन्तरता दिएको जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बरतन पशुपतिले भने, ‘भैरहवामा पहिला पनि उडान गरेका थियौँ, बिचमा विशेष कारणले रोकिए पनि फेरि उडान सुचारु गरेका छौँ,’ उनले भने, ‘नेपाल सरकार र क्यानले विशेष सुविधा दिएर आकर्षण गरेको छ, दीर्घकालीन सोच राखेरै भैरहवा उडान गरेका हौँ ।’
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ (५० प्रतिशत छुट), यात्रुसेवा शुल्क, हवाई टिकटमा भ्याट छुट, हवाई इन्धनमा सहुलियतलगायत विशेष सहुलियत उपलब्ध गराइएको छ ।
पुनः उडान गर्न पाउँदा खुसी छौँ : बरतन पशुपति सिइओ, जजिरा एयरवेज
भैरहवामा सुरुदेखि नै उडान गरेका थियौँ । तर, बिचमा विविध कारणले उडान रोकिन पुग्यो । पुनः उडान गर्न पाउँदा खुसी छौँ । यसमा नेपाल सरकार, क्यानलगायतको सपोर्ट छ, जसले विशेष सहुलियत उपलब्ध गराएर हामीलाई आकर्षित गरे । सरकारको नीतिले आकर्षित गरेको हो । हामीसँग अहिले २४ जहाज छन्, थप २६ वटा थपिँदै छन् । ती जहाज थपिँदै गर्दा बजार बढाउँदै जानुपर्छ । हाम्रो पहिलो लक्ष्य त काठमाडौं नै हो, भैरहवा दोस्रोमा पर्छ । भैरहवालाई मिडल प्वइन्ट बनाएर फार इस्ट र मिडल इस्टलाई जोड्न सकिने ठूलो सम्भावना देखेका छौँ । भोलिका दिनमा भैरहवालाई बेस बनाएर फार इस्टमा पनि उडान गर्न सकिन्छ । तर, अझै अध्ययन बाँकी छ ।
गौतमबुद्ध विमानस्थलमा चहलपहल बढेको छ : प्रताप तिवारी महाप्रबन्धक, भैरहवा विमानस्थल
भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चार पुगेका छन् । छिट्टै कतार एयरवेज पनि थपिँदै छ । अन्तर्राष्ट्रिय उडान बढ्दा गौतमबुद्ध विमानस्थलमा चहलपहल पनि बढेको छ । राम्रो माहोल सिर्जना भएको छ ।
अब आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुमाझ पनि गौतमबुद्ध विमानस्थलको प्रचारप्रसार हुनेछ । भैरहवामा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाइरहे यात्रुले पनि भैरहवाबाटै उडान गर्न टिकट काट्नेछन् ।
सुरुवाती चरणमा वायुसेवा कम्पनीले भैरहवा र काठमाडौंलाई जोडेर उडान गर्न खोजेको देखिन्छ । बिस्तारै यात्रु बढ्न थालेपछि भैरहवा सीधा उडान गर्न थाल्नेछन् ।