एकजना धनी व्यापारीको सम्पत्तिको लेखाजोखा थिएन । एक दिन आफ्नै कार्यालयमा बसेर सम्पत्ति कसरी सदुपयोग गर्ने भन्नेबारे उनी सोचमग्न थिए । त्यस्तैमा उनको दिमागमा एउटा अनौँठो जुक्ति फुर्यो । उनले सोचे, ‘जीवनमा यति धेरै सम्पत्ति कमाइयो । आखिर यो सबै सम्पत्ति छोरानातिकै लागि हो । बरु अबका सात पुस्तासम्मलाई पुग्ने गरी उनीहरूकै नाममा खाता खोलेर बैंकमा जम्मा गरिदिनुपर्यो ।’
यस्तो विचार मनमा आउनासाथ उनी क्याल्कुलेटर लिएर हिसाब गर्न थाले । एउटा परिवारलाई एक दिनमा कति खर्च चाहिन्छ ? त्यसको हिसाबकिताब निकाल्न पाए त सालाखाला सो परिवारको मासिक, वार्षिक हुँदै एउटा पुस्तालाई कति खर्च लाग्ला, त्यसको अनुमान गर्न सकिन्छ । सबलाई चाहिनेभन्दा दुई–चार करोड त बढी नै राखिदिनुपर्ला भन्ने उनको सोच थियो । बिहान उठेदेखि, चिया, नास्ता, बिहानको खाना, दिउँसोको खाजा गर्दै बेलुकासम्मको हिसाबकिताब मिलाउन खोज्दाखोज्दै उनी कहिले केटाकेटीको टिफिन खर्च सम्झिन्थे, कहिले पाहुना खर्च जोड्न भुल्थे, कहिले मोबाइल खर्च भुल्थे ।
एक दिन उनकी पत्नीले भनिन्, ‘होइन, कति यो क्याल्कुलेटर मात्र चलाइरहनुभएको हो हजुर ! यसो हावामा निस्किए त अलि फ्रेस हुँदो हो । गाउँमा एकजना साधु महाराज आउनुभएको छ । उहाँलाई गाउँलेले पालैपालो खाना लगिदिइरहेका छन् । आज मैले उहाँका लागि खाना बनाएकी छु ।
हजुरले खाना पुर्याइदिनुपर्यो । पत्नीले निकै जोड गरिसकेपछि सेवकलाई खाना बोकाएर उनी साधुको आश्रममा पुगे । उनी पुग्दा साधु खाना खाएर चुठ्न लागेका रहेछन् । उनले आफूले पनि खाना ल्याएको बताए । तर, साधुले आफूले खाना खाइसकेको हुनाले फिर्ता लिएर जान अनुरोध गरे । व्यापारीले जोड गर्दै भने, ‘मेरी पत्नीले आफ्नै हातले बनाएको खाना निकै स्वादिलो हुनुपर्छ । मैले हटकेसमा ल्याइदिएको छु । भरेलाई हुन्छ, राख्नुहोस् न !’ व्यापारीको कुरा सुनेपछि साधुले उनलाई हेर्दै भने, ‘भैगो बालक, कष्ट नगरौँ । आखिर भरे कसले देख्या छ र ?