नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष तथा महिला खेलाडीको वर्गीकरण परिमार्जन गरेको छ । क्यानको शनिबार कार्यकारी कमिटीको भर्जुअल बैठकले खेलाडीको वर्गीकरण सुधारेको हो । यसअघि क्यानले गरेको सेन्ट्रल कन्ट्याक्टमा रहेका खेलाडीहरूको वर्गीकरणमा चित्त बुझ्दो नहुँदा विवादित बनेको थियो । नयाँ वर्गीकरणमा केही खेलाडी बढुवा र समावेश भएका छन् ।
राष्ट्रिय पुरुष टोलीका बलर सोमबार कामी बी बाट ए श्रेणीमा बढुवा भएका छन् । गत ६ असोजमा भरतपुरमा सम्पन्न क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गरेको थियो । नयाँ वर्गीकरणअनुसार पुरुषतर्फ २० तथा महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्याक्टमा छन् । बढुवा तथा समावेश भएका नयाँ खेलाडीको क्यानको बोर्ड बैठकमा सर्वसम्मत भएको छ ।
सोमपाल ए श्रेणीमा बढुवा
अघिल्लो वर्गीकरणमा उनी बी श्रेणीमा रहँदा चौतफी विरोध भएको थियो । नेपालले डिभिजन– ५ देखि एकदिवसीय मान्यता प्राप्त हुँदासम्मको यात्रा गर्दा सोमपालको भूमिका महत्वपूर्ण मानिन्छ । सोमपालले नेपालबाट २०१८ अगस्टमा नेदरल्यान्डविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । यसैगरी टी–२० विश्वकपमा उनले हङकङविरुद्ध डेब्यु गर्न अवसर पाए । सोमपालले ६ अन्तर्राष्ट्रिय एकदिवसीयमा दुई सय ४६ रन बनाएका छन् । उनले एकपटक अर्धशतकीय इनिङ्स खेलेका छन् ।
यसैगरी टी– २० ब्याटिङमा उनले एक सय १२ को स्ट्राइकमा २८ खेलमा एक सय ९८ रन बटुलेका छन् । बलिङतर्फ उनले एकदिवसीय खेलमा ६ खेलमा १३ तथा टी– २० मा १९ इनिङ्समा २६ विकेट लिएका छन् । उनले नेपालबाट लिस्ट एमा ४५ खेलमा ६५ तथा पहिलो श्रेणीको क्रिकेटमा ३ खेलमा ६ विकेट लिएका छन् ।
अविनास ‘बी’मा पुगे
राष्ट्रिय टोलीका युवा क्रिकेटर अविनाश बोहरा बी श्रेणीमा उक्लिएका छन् । क्यानको बैठकले उनलाई ‘सी’बाट ‘बी’ श्रेणीमा परिमार्जित गरेको हो । सल्यानका दायाँहाते ब्याट्सम्यान तथा बलर अविनाशले २०२० मा ओमानविरुद्ध एकदिवसीय खेलमा डब्यु गरेका थिए । उनले २०१९ मा युएईविरुद्ध टी–२० मा डेब्यु गरेका थिए ।
एकदिवसीय खेलमा दुई खेलमा आठ रन तथा टी–२० मा उनले २० खेलबाट १७ रन बटुलेका छन् । यसैगरी बलिमा उनले एकदिवसीय खेलमा विकेट लिन सकेका छैनन् । तर, टी–२० अन्तर्राष्ट्रिय खेलमा भने अविनाशले १९ इनिङ्समा २० विकेट हात पारेका छन् ।
राजवंशी र जोहरा वर्गीकरणमा
क्यानको परिमार्जित लिस्टमा ललितनारायण राजवंशी र सन्दीप जोहरा पनि समावेश भएका छन् । क्यानको बैठकले ललितलाई ‘बी’ तथा सन्दीपलाई सीमा समावेश गरिएको छ । २१ वर्षीय ललित अलराउन्डर प्रदर्शन गर्छन् । बायाँहाते अर्थोडक्स बलर ललित दायाँहातबाट ब्याटिङ गर्न रुचाउँछन् । उनले चार एकदिवसीयमा पाँच रन तथा १२ टी–२० खेलमा तीन रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा ललितले १२ इनिङ्समा १० विकेट हात पारेका छन् ।
एकदिवसीयमा उनले २०१९ मा युएई तथा टी–२० मा उनले २०१८ मा नेदरल्यान्डविरुद्ध डेब्यु गरेका थिए । नेपाली राष्ट्रिय टोलीमा छोटो समयमै स्थान बनाएका सन्दीपले यु–१९ टोलीका भरपर्दा खेलाडी हुन् । उनले २०१९ मा युएईविरुद्ध एकदिवसीय तथा टी–२० खेलमा डेब्यु अवसर पाए । यसैगरी क्यानले महिलातर्फ सरस्वती चौधरीलाई ‘बी’ श्रेणीमा राखेको छ । ममता चौधरी र सुमन खतिवडा ‘सी’ श्रेणीमा परेका छन् ।
कति पाउँछन् पारिश्रमिक
क्यानले वर्गीकरण गरेका खेलाडीलाई प्रतिमहिना पारिश्रमिक दिन्छ । नयाँ सम्झौताअनुसार खेलाडीले २०२० को १ जनवरीदेखि मात्र पारिश्रमिक पाउनेछन् । क्यानले त्यही मितिबाट नियम लागू हुने जनाएको छ । पुरुषतर्फ ‘ए’ श्रेणीमा रहेका खेलाडीले प्रतिमहिना ५० हजार, ‘बी’ श्रेणीकाले ४० हजार तथा ‘सी’ श्रेणीका खेलाडीले ३० हजार मासिक तलबका रूपमा थाप्छन् । यसैगरी महिलातर्फ ‘ए’ श्रेणीकाले १५ हजार, ‘बी’ श्रेणीमा परेकाले १२ हजार तथा ‘सी’ श्रेणीमा रहेका खेलाडीले १० हजार रुपैयाँ प्रतिमहिना पाउने क्यानले जनाएको छ । क्यानले खेलाडीलाई प्रतिमहिना पारिश्रमिक ०७१ सालदेखि दिँदै आएको हो ।
क्लोज क्याम्प १० मंसिरदेखि
क्यानको बिहीबार सम्पन्न बोर्ड बैठक (भर्जुअल) ले राष्ट्रिय पुरुष टोलीको क्लोज क्याम्प १० मंसिरदेखि सुरु गर्ने जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षण सुरु गर्न अनुमति दिएपछि क्यानले खेलाडीलाई प्रशिक्षणमा डाक्न लागेको हो । क्याम्पमा स्वास्थ्य प्रोटोकल पूरा गरी गरिने जनाएको छ । यसैगरी भारतीय दूतावासको सहयोगमा कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको पभेलियन हलको स्तरोन्नति गर्ने निर्णय भएको छ ।
यसका साथै मूलपानीको माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नति प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बरको अन्तिममा गर्ने जनाएको छ । यसका लागि सम्बन्धित निकायसँग अनुमित लिन प्रक्रिया अगाडि बढाइने भएको छ ।
क्यानको वार्षिक साधारणसभा ३ मंसिरमा
क्यानको वार्षिक साधारणसभा ३ मंसिरमा हुने भएको छ । भर्चुअल बैठकले क्यानको साधारणसभाको मिति निर्णय गरेको हो । यसअघि क्यानको २८ असोजमा साधारणसभा हुने भनिएको थियो । तर, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल कोरोना संक्रमित भएपछि सो साधारणसभा स्थगित गरिएको थियो ।
सेन्ट्रल कन्ट्याक्टका खेलाडी
पुरुष
ए श्रेणी
कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषवाकर, वसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी
बी श्रेणी
आरिफ सेख, पवन सराफ, सुसन भारी, अविनाश बोहरा
सी श्रेणी
सुभाष खकुरेल, ललित राजवंशी, सन्दीप जोहरा, रोहितकुमार पौडेल, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी
सेन्ट्रल कन्ट्रयाक्टका खेलाडी
महिला
ए श्रेणीमा
रुविना क्षेत्री, नेरी थापा, सीता रानामगर, इन्दु बर्मा, करुणा भण्डारी
बी श्रेणीमा
ज्योति पाण्डे, रोमा थापा, अप्सरी वेगम, विन्दु रावल, कविता जोशी, रितु कजौनिया, काजल श्रेष्ठ, सरिता मगर, सरस्वती चौधरी
सी श्रेणीमा
कविता कुँवर, अनुराधा चौधरी, डोली भट्ट, ममता चौधरी, सोनु खड्का, अन्जली चन्द, सोभा आले, सुमन खतिवडा