कोरोना भाइरस (कोभिड– १९) संक्रमणका सन्दर्भमा विश्वव्यापी रूपमा भइरहेका विभिन्न अध्ययन रिपोर्टले स्कुल–कलेजलाई संक्रमणको हटस्पट मानेका छैनन् । हुन त कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै विश्वभरका स्कुल–कलेज लकडाउनसँगै बन्द गरिए । तर, पछि कतिपय देशले विद्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेका छन् । यसो गर्दा पनि संक्रमण नफैलिएको तथ्यांकहरू सार्वजनिक भएका छन् ।
सामान्यतया साना बालबालिकामा भाइरस संक्रमण छिटो हुने र अन्य व्यक्तिमा सार्ने सम्भावना पनि बढी हुने बताइन्छ । तर, वैज्ञानिकहरूले भने यो विषयमा अनुसन्धान भए पनि कुनै तथ्य नभएको दाबी गरेका छन् । प्रतिरोधी क्षमता तुलनात्मक रूपमा कम हुने भए पनि कोभिड संक्रमण वा मृत्यदर अन्य उमेर समूहको तुलनामा उच्च रहेको पाइँदैन ।
सामान्यतया कक्षाहरू नियमित पुनः सञ्चालनमा ल्याउँदा धेरै बालबालिका एकै स्थानमा जम्मा हुनुपर्ने हुन्छ । जसले संक्रमण फैलिने जोखिम रहन्छ । साना बालबालिकामा सावधानीका उपायहरू पालना गराउन पनि समस्या हुन सक्ने भएकाले नेपालमा सात महिनादेखि स्कुल–कलेज भौतिक रूपमा बन्द छन् । विश्वभरका विभिन्न तथ्यांक हेर्दा बालबालिकामा संक्रमण न्यून रहेकाले विद्यालय पठाउन सकिने र अवस्थाअनुसार जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने विज्ञहरूले सुझाब दिएका छन् ।
अध्ययनका क्रममा विश्वभरिबाट संकलन गरिएका केही तथ्यांकअनुसार समुदायमा कोरोनाको संक्रमण कम हुँदै गएका क्षेत्रमा स्कुल–कलेज पुनः खुल्न थालेका छन् । समुदायमा संक्रमण बढिरहेका क्षेत्रमा विद्यालय खोल्दा थप जोखिम हुने अनुमान गरिए पनि त्यस्तो भएको भने पाइँदैन । सेप्टेम्बरमा संक्रमण दर उकालो लागिरहेको समयमा इटालीले करिब ६५ हजारभन्दा बढी स्कुल–कलेज खुला गरेको थियो । तर, दुई सातापछि जम्मा १२ सय १२ कलेजमा मात्रै संक्रमणका केस देखिएका थिए । जसमध्ये करिब ९३ प्रतिशत कलेजमा जम्मा एकजनामा मात्र संक्रमण देखिएको थियो भने संक्रमण देखिने विद्यार्थी हाइस्कुलका मात्रै थिए ।
त्यस्तै, अस्ट्रेलियाको भिक्टोरिया सहरमा जुलाई महिनामा कोभिड संक्रमणको दोस्रो लहर सुरु भएको थियो । यो समयमा स्कुल, बालगृह आदि सञ्चालनमै थिए । त्यो समयावधिमा विद्यालयमा देखिएका १६ सय ३५ केसमध्ये अधिकांश विद्यालयमा एकजना र बढीमा १० केस देखिएका थिए ।
अमेरिका अहिले कोभिडबाट अत्यधिक प्रभावित देशहरूमध्ये पहिलो स्थानमा छ । लगातार संक्रमण बढिरहे पनि अमेरिकामा अगस्ट महिनादेखि नै स्कुल–कलेज सञ्चालनमा छन् । भिडभाडमा संक्रमण तीव्र रूपमा फैलिने भए पनि बालबालिकामा संक्रमणको दर उच्च नदेखिनु अस्पष्ट छ । वयस्कमा संक्रमणको दर उच्च रहे पनि बालबालिका बढी प्रभावित नभएको अध्ययनहरूले देखाएका छन् ।
के बालबालिकाबाट संक्रमण कम फैलिन्छ ?
स्कुल–कलेज संक्रमणको केन्द्र नबन्नुको मुख्य कारण १२ देखि १४ वर्षमुनिका बालबालिकाबाट संक्रमण सर्ने सम्भावना कम हुने अनुसन्धानकर्ताहरूको भनाइ छ । जर्मनीका स्कुलहरूले गरेको अध्ययनअनुसार पाँच वर्षमुनिका बालबालिकाबाट अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना एकदमै न्यून हुन्छ । साथै ६ देखि १० वर्ष उमेर समूहका बालबालिकाबाट वयस्कको तुलनामा संक्रमण कम फैलिन्छ । कलेज तथा बढी उमेर समूहका विद्यार्थी र शिक्षकहरूमा संक्रमण बढी हुनुले पनि बालबालिकामा वयस्कको तुलनामा संक्रमण कम फैलिने पुष्टि गर्छ । अमेरिकामा ४७ प्रदेशका दुई लाखभन्दा बढी विद्यार्थीमा एमली अस्टर एट ब्राउन युनिभर्सिटीले गरेको अध्ययनअनुसार ५ देखि ११ वर्षसम्मका बालबालिकाको तुलनामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा संक्रमणको दर दोब्बर पाइएको छ ।
बालबालिकामा किन संक्रमणको दर कम हुन्छ भन्ने कारण पनि अहिलेसम्म पुष्टि भइसकेका छैन । चिकित्सकहरू बालबालिकामा फोक्सोको आकार सानो हुनु, वयस्कको तुलनामा संक्रामक एरोसोलहरू कम हुनु आदि कारण हुन सक्ने अनुमान गर्छन् । यस्तै, अधिकांश बालबालिका एसिम्टोम्याटिक भएकाले समेत संक्रमणको दर न्यून हुन सक्छ ।