झापाको बुद्धशान्ति– ५ स्थित पाँचपोखरी सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । वन हेरचाह गर्ने व्यक्तिले शुक्रबार दिउँसो मृत अवस्थामा हात्ती फेला पारेका थिए । भाले हात्ती ४०–४५ वर्षको भएको डिभिजन वन कार्यालय झापाको अनुमान छ । मृत भेटिएको हात्ती एक दशकदेखि झापाको विभिन्न जंगलमा बस्दै आएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
यो हात्ती स्थानीयको आक्रमणमा परी केही समयदेखि घाइते थियो । यसअघि चितवनबाट प्राविधिक टोली आएर उपचार गरी जंगलमा छाडेको थियो । ‘हात्तीको पछाडिको भागमा भालाले हानेको चोट थियो । गाउँमा हात्ती पसेपछि स्थानीयले हानेको हुन सक्छ । केही हप्ताअघि त्यसको उपचार गरेर छाडेका थियौँ,’ प्रमुख घिमिरेले भने, ‘त्यहीवेला निकै गम्भीर अवस्था थियो । त्यही घाउबाट इन्फेक्सन भएर मरेको हुन सक्छ ।’
घिमिरेका अनुसार यो हात्तीको एउटा आँखा पूर्णरूपमा बन्द थियो । अर्को आँखाले पनि राम्रोसँग देख्न सकेको थिएन । मृत हात्तीलाई पाँचपोखरी जंगलमा गाडेको प्रमुख घिमिरेले बताए ।
झापामा मेचीनगरको बाहुाडाँगी, जलथलको जंगल, बुद्धशान्ति, कन्काई, बिर्तामोड, शिवसताक्षी र दमक क्षेत्रका विभिन्न जंगलनजिकै हात्ती घुम्ने गरेका छन् । झापाका यी विभिन्न जंगलमा १० देखि १३ वटासम्म हात्ती रहेको डिभिजिन वन कार्यालयले जनाएको छ ।
योसँगै पछिल्लो १० वर्षमा झापामा १३ वटा हात्तीको विभिन्न कारण मृत्यु भएको वन कार्यालय झापाले जनाएको छ । जंगली हात्तीका कारण झापामा पछिल्लो १० वर्षमा ४५ जनाको मृत्यु भइसकेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।