कोरोना महामारीको संकटकै बीचमा चारैतिर दसैँंको रौनक छाए पनि मकवानपुरको भीमफेदीका थिङ परिवारलाई दसैँ ‘दशा’ बनेर भित्रिएको छ ।
घरमा चाडवाड मान्ने खर्चकाे जोहो गर्ने परिवारको जेठो छोरा राजु थिङ (३४ वर्षीय) उपचार गर्दा लागेको पैसा तिर्न नसक्दा अस्पतालमा बन्दी छन् । उपचारपछि निको भएका उनलाई चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले पैसा नदिएको भन्दै बन्धक बनाएको हो ।
यसअघि उनको बारेमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि अस्पतालले २३ असोजको राति आइसियूबाट साधारण बेडमा सारेको थियो । तर, अस्पतालको सिस्टममा भने उनी आइसियूमा नै भएको देखिन्छ । र, सोही आधारमा उनले अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार थिङ २९ भदौदेखि अस्पतालको आइसियूमा छन् ।
उता राजुका बुबा लालबहादुर थिङ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । त्यसो त लालबहादुर आफैँ पनि कहाँ स्वस्थ छन् र ? भूकम्पमा परी अपाङ्ग बनेका लालबहादुरको ढाडमा गम्भीर समस्या छ । तैपनि छोरा अस्पतालमा बन्धक बनेपछि गाउँलेका घरघर पुगेर पैसा संकलन गर्न थालेको उनले बताए । मंगलबारसम्म गाउँलेहरूबाट उनले २२ हजार रकम जम्मा गर्न सकेका छन् ।
‘एउटा झोला र कापी लिएर हिँडेको छु,’ दुःख सुनाउँदै लालबहादुर भन्छन्, ‘कोरोनाको वेला घर नआउनुस् भन्दै केहीले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।’
उनकाे गाउँवासी पनि गरिब नै छन् । तर, सकेको सबैले गरेका छन् । प्रतिघर २० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म सहयोग प्राप्त भएको उनले बताए । ‘तर, यसरी कहिलेसम्म छोराको उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन,’ मलिन अनुहारमा मुजा पार्दै लालबहादुर दुखेसो पोख्छन् ।
गत वर्ष लालबहादुरलाई यसपालिको दसैँ भव्य मनाउने लालसा नभएको होइन । उनले त्यसका लागि चारवटा खसी पनि पालेका थिए । तर, दशा लागेपछि दसैँका लागि खसी के बाँकी रहन्थे र ? दसैँमा बिक्री गर्न भनी साँचेका चारवटा खसी बेच्न बाध्य भए उनी ।
खसी बेचेर आएको पैसासँगै ऋण काढेर ३० हजार रुपैयाँ खाेजेर उनले अस्पतालमा बुझाए । अब धुमधामको दसैँ त कल्पनाभन्दा परको कुरा भयो उनका लागि । भन्छन्, ‘निको भएको छोरोलाई घर ल्याउन सकेँ भने योभन्दा ठूलो के खुसी हुन्थ्यो होला र ?’ अरू वेला तरकारी खेती गर्ने लालबहादुरको यसपटक कोरोनाका कारण त्यहाँबाट पनि आस मरेको हो ।
सिएमसी अस्पतालको तेस्रो तलाको बेड नम्बर १ मा बन्धकझैँ बसेका राजु थिङलाई डाक्टरहरूले ‘निको भइसक्यो, घर जानुहोस्’ भन्छन् । तर, प्रशासनले भने ‘पैसा नदिएसम्म जान पाइँदैन’ भन्छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ । तर, बेडमा दिनभरि बस्दा भने उनको ढाड दुख्ने भएको छ । खुट्टा सुन्निएका छन् । उपचारपछि निको भएका उनलाई कोरोना संक्रमण भइन्छ कि भन्ने डर लागेको छ ।
राजुको औषधि पसलमा करिब एक लाख ९८ हजार र अस्पतालमा दुई लाख ९३ हजार तिर्न बाँकी छ । ऋण खोजेको गरेर दुई–तीन लाख रुपैयाँ उनले उपचारमा रित्याइसकेका छन् । अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन । उनीहरूले अस्पतालमा औषधि महँगो हुन्छ भन्ने लागेर नजिकैको प्राइभेट फर्मेसीबाट औषधि खरिद गर्दै आएको बताए ।
के भएको थियो राजुलाई ?
कक्षा चारसम्म मात्र पढेका राजु हेटौँडास्थित ‘लोकप्रिय होटेल’मा ‘कुक’ को काम गर्थे । उनकी जहान पनि सोही होटेलमा भाँडा माझ्थिन् । तर, कोरोना भित्रिएसँगै होटेल बजार ठप्प हुन पुगे ।
त्यसपछि उनी श्रीमतीसँगै घर फर्किए । तर, घर फर्किनु उनका लागि दुःखद बन्न पुग्यो । तामाङ जातिमा माछा मार्ने चलन, उनी पनि लागे खोलातिर । तर, यही उनका लागि दुर्भाग्य बन्यो । माछा मार्न जाँदा उनी नराम्ररी लडे । त्यतिवेला ‘सामान्य होला’ भन्ने सोचेर सामान्य औषधिमूलो गरे पनि भदौको अन्तिमतिर भने उनी अचानक बेहोस बन्न पुगे ।
परिवारले उनलाई हेटौँडाकै अस्पतालहरु पुऱ्याए । तर, स्वास्थ्य अवस्था जटिल भएको भन्दै उनलाई त्यसै दिन चितवन मेडिकल कलेज (सिएमसी) ल्याइएको थियो । सिएमसीमा उपचार सुरु भएको १० दिनपछि उनको होस खुल्यो ।
चिकित्सकका अनुसार उनलाई निमोनियाका कारण समयमा उपचार हुन नसक्दा ‘सेप्टिक सक’ भएको थियो । यो अवस्थाको बिरामीलाई उपचारपछि निको बनाउनै निकै मिहिनेत गर्नुपर्ने चिकित्सक बताउँछन् ।
बुबा पैसाको खोजीमा, श्रीमती भोकभोकै अस्पतालमा
राजु बेडमा थन्किएका छन्, बुबा पैसाको खोजीमा गाउँटोलमा भौँतारिँदै छन् । र, राजुकी श्रीमती भने अस्पताल कुरेर बसेकी छिन् । श्रीमान् निको हुँदासमेत घर लैजान नपाउँदाको पीडा त छँदै थियो त्यसमाथि दुईछाक भरपेट खान पनि नसक्ने अवस्थामा उनी छिन् । ‘पैसा बचाउन चाउचाउ बिस्कुट खाने गरेकी छु,’ उनी भन्छिन्, ‘अहिले संगीतासँग साँझबिहान खाना खाने पैसा पनि छैन ।’
सिंहदरबार झुल्केन राजुको गाउँघरमा
राजुको परिवारले स्थानीय तह र सम्बन्धित निकायहरू नगुहारेको होइन । सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालय, मकवानपुर तथा चितवनमा पटकपटक पुगे पनि प्रशासनले यो विषयलाई खासै वास्ता गरेको छैन ।
जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि ‘विपन्न परिवार हो कि होइन बुझी त्यस ढंगबाट बिरामीलाई सहज रूपमा उपचारको व्यवस्था गर्न’ निर्देशन दिएको बताए पनि केही उपलब्धि नभएको राजु बताउँछन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आफू भर्खरै कार्यालयमा सरुवा भई आएकाले यस विषयमा बुझ्ने बताउँछन् ।
अस्पतालले पनि उनलाई असहाय, गरीबको कोटाबाट छूट दिन नसक्ने बताएको छ । अस्पतालले क्षयरोग, क्यान्सर र कोभिड–१९ को उपचारका लागि मात्र स्थानीय तहको सिफारिसबाट छुट पाइने भनेपछि यो बाटो पनि उनीहरुका लागि बन्द भएको हो ।
उता भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा भने एकल रूपमा आफूले कुनै पनि निर्णय गरेर गाउँपालिकाबाट पैसा तिरेर बिरामी निकाल्न नसक्ने बताउँछन् । ‘यस्तो समस्या पालिकामा धेरै आउने गर्छ, एउटालाई गर्ने अरूलाई नगर्ने गर्न पनि मिल्दैन,’ उनी भन्छन् ‘मानवीयले हिसाबले व्यक्तिगत गर्न मिल्ने सहयोग गर्छु ।’
बिरामीलाई साधारण वेर्डमा सारिएको भए पनि सिएमसीका अध्यक्ष तथा प्रबन्ध–निर्देशक डा. हरिश्चन्द्र न्यौपानेले यसअघि बिरामीलाई एक रुपैयाँ पनि छुट नदिने बताएका थिए । सरकारको नियमभित्रै बसेर उपचारबापत शुल्क लिएको भन्दै उनले आफूहरूले निःशुल्क उपचार गर्न नसक्ने बताएका हुन् । उनले यस समाचारको विषयलाई लिएर ट्विटरमा नयाँ पत्रिकाबारे तुच्छ शब्द प्रयोग गरेका छन् ।