मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २ आइतबार १९:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पृतनापतिहरूको बैठकमा प्रधानमन्त्रीले भने– सेनालाई आधुनिकीकरण गर्न सहयोग गर्छाैँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २ आइतबार १९:५०:००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको आधुनिकीकरण योजनामा नेपाल सरकारले पूर्ण सहयोग गर्ने वचन दिएका छन् । आइतबार सुरु भएको पृतनापतिहरूको समन्वयात्मक बैठकलाई सिंहदरबारबाट भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेनामा पद्धति र प्रणाली कार्यान्वयनमा पनि सघाउने आश्वासन दिएका हुन् । सेनाले आधुनिकीकरणका लागि पृतनाभन्दा माथि कमान्डस्तरीय संरचनाको तयारी गरिरहेका वेला प्रधानमन्त्रीले सघाउने वचन दिएका हुन् ।

जंगी अड्डाका अनुसार प्रधानमन्त्री ओलीले कोभिड– १९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शव व्यवस्थापन तथा विपतका घटनाहरूको उद्धारमा सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे । सेनाले दार्चुलाको घाँटीबगरदेखि छाङरूसम्म गोरेटो घोडेटो बाटो निर्माण गरेकोमा पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् । 

प्रधानसेनापति पूर्णचन्द थापाले कोभिड– १९ महामारीका कारण सिर्जना भएको अन्याेल एवं निराशा तथा आर्थिक गतिविधि सुस्त भएका कारण उत्पन्न सुरक्षा चुनौतीको सामना गर्न पृतनापतिहरूको बैठक बोलाएको जानकारी दिएका छन् । आगामी कार्ययोजना निर्माणका लागि बैठक आयोजना गरिएको उनको भनाइ थियो । 

समन्वयात्मक बैठकमा बलाधिकृत रथी प्रभुराम शर्माले पनि सम्बोधन गरेका थिए । बैठकमा जंगी अड्डाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय एवं विभागीय प्रमुख तथा आठै पृतनापतिहरू सहभागी थिए । उनीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्ने चुनौती तथा त्यसलाई सामना गर्न अपनाउनुपर्ने भूमिकाबारे प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । 

भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नराभणेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सेनाले पृतनापतिहरूको समन्वयात्मक बैठक आयोजना गरेको हो । बैठक मंगलबार समापन हुनेछ । 

यसअघि बैठकको उद्घाटन निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको थियो । समापन भने प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्नेछन् । बैठकमा नेपाली सेनाले अभ्यास गर्न लागेको कमान्डस्तरीय संरचनाबारे पनि छलफल हुनेछ । प्रधानसेनापति थापाको प्रस्ताबअनुसार हालका आठ पृतना हेडक्वार्टरमाथि पूर्वी, मध्य, पश्चिम र उपत्यका कमान्डहेडक्वार्टर स्थापना गर्ने गरी तयारी भइरहेको छ । अभ्यास भने पूर्वी क्षेत्रबाट हुनेछ ।