मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २७ मंगलबार १४:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्योगमन्त्री भट्टको अचम्मको दाबी– मूल्यवृद्धि भएकै छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २७ मंगलबार १४:४९:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सको ७०औँ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नभएको दाबी गरेका हुन् । 

जब कि उपभोक्ताकर्मीहरूले दसैँ नजिकिँदै गर्दा उपभोग्य सामग्रीसहित तरकारीहरूमा मूल्यवृद्धि भएको बताउँदै आएका छन् । 

उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिक रूपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे । 

तर, विश्व बजारमा नै केही वस्तुमा मूल्यवृद्धि भएकाले नेपालमा पनि एक–दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वाभाविक भएको मन्त्री भट्टको भनाइ छ । 

उनले भने, ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहीँ पनि समस्या आएको छैन । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला, नत्र खाद्यान्नलगायत दैनिकी वस्तुहरू हुन त्यसमा महँगाई भन्ने छैन । अब एकाध वस्तुमा हुनु स्वाभाविक हो, हिजो पनि हुन्थ्यो ।’ 

अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रित भएको पनि उनले बताए । 

निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए । 

आफूले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दाबीसमेत मन्त्री भट्टको छ । 

कर र राजस्वका विभिन्न विषयमा सुधार गरी उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको दाबी उनले गरे ।