१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २५ आइतबार १५:०३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्यो राप्रपाको जम्बो केन्द्रीय समिति, थपिए चार सय केन्द्रीय सदस्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २५ आइतबार १५:०३:००

राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सय २७ सदस्यीय जम्बाे केन्द्रीय समिति बनाएको छ । 

संघीय संसदमा जम्मा एक सिट रहेको राप्रपा एकीकरणपछि जम्मा तीन सय २७ केन्द्रीय सदस्य रहेकोमा आइतबार चार सयजना थपिएका छन् । 

एकीकरणका क्रममा राप्रपा र राप्रपा संयुक्तबाट छुटेकाहरू र नयाँ अनुहारसहित केन्द्रीय समिति विस्तार भएको हाे । 

राप्रपा अध्यक्षत्रय पशुपतिशमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीद्वारा आइतबार जारी विज्ञप्तिमा चार सयजना थपिएकाे उल्लेख छ । 

निर्वाचन आयोगले एकीकृत राप्रपालाई मान्यता दिएपछि केन्द्रीय समिति जम्बो बनाइएको हो । 

राप्रपाले २९ असोजसम्म जिल्ला समितिहरूको समायोजन सम्पन्न गर्ने तथा त्यसपछि आगामी महाधिवेशनको तयारीमा लाग्ने जनाएको छ । 

राप्रपाको महाधिवेशन २५ वैशाखदेखि २८ सम्म काठमाडौंमा हुने तय भइसकेको छ । 

केन्द्रीय सदस्यहरू थप्न पार्टीभित्र चर्को दबाब थियो । पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे र उनीनिकटका नेताहरूले पुराना नेता–कार्यकर्तामाथि अन्याय भएको भन्दै सबैलाई समेट्न शीर्ष नेतृत्वलाई दबाब दिँदै आएका थिए । 

केन्द्रीय समिति विस्तारपछि नेता पाण्डेले पार्टीका इमानदार नेता–कार्यकर्तामाथि न्याय भएको प्रतिक्रिया दिए । 

उनले भने, ‘पार्टीमा लामो समयदेखि सक्रिय र छुटेका साथीहरू समेटेपछि पार्टीमा उत्साह आएको छ । अब समाजका अन्य लब्धप्रतिष्ठित व्यक्तित्वलाई समेटेर पार्टी नयाँ गतिमा अघि बढ्नुपर्छ ।’ 

आफ्नो माग सुनुवाइ भएको भन्दै पाण्डेले पार्टीका शीर्ष नेताहरू मिलेर पार्टीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

यसअघि राप्रपा र राप्रपा संयुक्त एकीकरणपछिको एकीकृत कार्यसमितिमा तीन सय २७ जना केन्द्रीय सदस्य थिए । 

कमल थापा समूहबाट ५५ प्रतिशत र राणा–लोहनी समूहबाट ४५ प्रतिशत भागबन्डामा परेका थिए । केन्द्रीय समिति विस्तारमा पनि यही सिद्धान्त लागू भएको राप्रपा नेताहरूले बताएका छन् ।