१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज ५ सोमबार ०५:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चीनले चासो नदिँदा रसुवागढी नाका सञ्चालन अनिश्चित

Read Time : > 1 मिनेट
२०७७ असोज ५ सोमबार ०५:३१:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालन अनिश्चित बनेको छ । नाकामा काम गर्ने नेपाली मजदुरलाई कोरोना संक्रमण भएपछि बन्द भएको नाका सञ्चालन गर्न चीनले चासो दिएको छ ।

एकतर्फी नाका सञ्चालन गरेको चीनले मजदुरलाई कोरोना देखिएको भन्दै तीन सातादेखि नाका बन्द गरेको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । ‘नाका सञ्चालनका लागि अनुरोध गर्दा ल्हासा अटोनोमस रिजनबाट आदेश आएपछि मात्र खुला गर्ने चिनियाँ अधिकारीहरू बताउँछन्,’ उनले भने, ‘नाकामा काम गर्ने कोरोना संक्रमित निको भइसकेका छन्, तर चिनियाँ पक्ष भने नाका सञ्चालन गर्न बेवास्ता गरिरहेको छ ।’ 

नियमित नाका सञ्चालन नहुँदा केरुङमा एक वर्षदेखि सामान रोकिएर व्यापारीहरू मर्कामा परेका छन् । चाडबाडका मुखमा समेत नाका सञ्चालनका लागि सरकारी तहबाट उचित पहल नहुनु दुःखद रहेको व्यापारीहरूको गुनासो छ । तर, नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयले पहल गरिरहेको भन्सार प्रमुख खड्काले बताए । कोरोना भाइरसका कारण १५ माघदेखि २७ असारसम्म नाका बन्द गरिएको थियो । त्यसयता पनि नाकामा नियमित कारोबार हुन सकेको छैन । कोरोना भाइरसका कारण पटक–पटक नाका बन्द हुँदै आएको छ ।  

 राजस्व संकलन प्रभावित
चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो दुई महिनामा रसुवा भन्सार कार्यालयको राजस्व संकलन निकै कम छ । कार्यालयका अनुसार साउनमा ६८ करोड १० लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ करोड ५६ लाख ९८ हजार मात्र संकलन भएको थियो ।

त्यस्तै, भदौमा ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १५ करोड ३७ लाख राजस्व संकलन गरेको छ । नाकामा नियमित आयात नभएको तथा निर्यातको अनुमति नपाउँदा लक्ष्यको तुलनामा कम राजस्व संकलन भएको भन्सार प्रमुख खड्काले बताए । 

एकतर्फी रूपमा नाका सञ्चालन गरेको चीनले दैनिक आफ्ना ४ वटा गाडीमा रसुवागढी नाकाको मितेरीपुलसम्म सामान ल्याई झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको थियो ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कनेछन् । मितेरीपुलमा सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका कामदार खटिएका छन् । चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ । नेपाली पक्षले सामान लोड तथा अनलोड गर्न १५ कामदार र ढुवानी गर्न १५ जना चालक गरी ३० जना नाकामा खटाएको छ ।

मितेरीपुलसम्म आइपुगेको सामान १५ जना कन्टेनर चालकले पालैपालो पुनः ढुवानी गरेर भन्सार यार्डसम्म पु‍र्‍याउने काम गर्छन् । सामानको जाँचपासपछि अन्य चालकले सामान सम्बन्धित ठाउँसम्म लैजाने गरेका थिए । १५ मंसिर २०७१ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो ।

भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो, तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ ।