मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अनु आचार्य काठमाडाैं
२०७९ चैत १९ आइतबार १०:१३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन वर्षपछि रसुवागढी नाका दुईतर्फी सञ्चालनमा 

Read Time : > 2 मिनेट
अनु आचार्य, काठमाडाैं
२०७९ चैत १९ आइतबार १०:१३:००

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी तीन वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । कोभिड–१९ का कारण आवतजावत बन्द भएको नाका शनिबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । नेपाली गाडीमा निकासी–पैठारीसहित मानिसको पनि आवागमन हुने गरी नाका सञ्चालनमा आएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख नारायणप्रसाद भण्डारीले बताए । 

शनिबार बिहान दुई देशको सिमानास्थित चीनतर्फको भूभागमा एक कार्यक्रम आयोजना गरी नेपालतर्फका प्रतिनिधिमण्डलका प्रमुख नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहितको एक टोली तथा चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीसहितको प्रतिनिधिमण्डलले संयुक्त उद्घाटन गरी रसुवागढी नाका पुनः दुईतर्फी सञ्चालनमा आएको घोषणा गरेका थिए । घोषणालगत्तै नेपाली र चिनियाँ नागरिकको आवतजावतसँगै नेपाली पाँच कन्टेनर सामान चीनतर्फ पठाएर नाका पूर्ण रूपले औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै शनिबार २२ वटा नेपाली कन्टेनर हस्तकलाका सामान, बाँसका मुढालगायतका सामान लिएर चीनतर्फ गएका हुन् । त्यसैगरी, नेपाली ३२ वटा खाली कन्टेनर सामान लिन चीनतर्फ गएका छन् । आइतबारदेखि नेपाली कन्टेनरले नै चीनबाट सामान लिएर आउने भन्सार प्रमुख भण्डारीले बताए । ‘शुक्रबारसम्म चिनियाँ गाडीमा सामान आइरहेको थियो, नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब नेपाली कन्टेनरमै सामान आयात–निर्यात हुने भएको छ,’ उनले भने । कोभिडका कारण रोकिएको सामान निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । मानिसको आवतजावत भने ३८ महिनादेखि नै ठप्प थियो । आंशिक रूपमा आयात–निर्यात भइरहे पनि ३८ महिनादेखि मानिसको आवतजावत ठप्प थियो । 

त्यसैगरी, नाका पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएसँगै तीन वर्षदेखि रोकिएको नागरिकको आवतजावत पनि खुला भएको छ । शनिबार १७ जना पुरुष र तीनजना महिलासहित २० जना चिनियाँ नागरिक नेपाल प्रवेश गरेका छन् भने नौजना चिनियाँ नागरिक नेपालबाट चीनतर्फ प्रवेश गरेको जनाइएको छ । त्यसैगरी, ८१ जना नेपाली चीनतर्फ प्रवेश गरेकोमा ३२ जना चीनतर्फ गई पुनः नेपाल फर्किएका छन् । 

दुईतर्फी नाका सञ्चालन भएको घोषणा गर्न रसुवागढी पुगेका नेपाल उद्योग, वाणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले रसुवागढी नाका अब नियमित रूपमा सञ्चालनमा आउने चीनका प्रतिनिधिमण्डलले बताएको जानकारी गराउँदै नाकामा आवतजावत गर्न कुनै पनि अवरोध नआउने जानकारी गराएको बताए । चीनसँग जोडिएका अन्य नाकामध्ये तातोपानी नाका पनि एक महिनापछि खुल्ने उनले बताएका छन् । अब चीनसँगका सबै नाकाहरू क्रमशः खुल्दै जाने उनको भनाइ छ । चीनसँगको नाका दुईतर्फी खुलेसँगै द्विपक्षीय व्यापार र पर्यटन क्षेत्रमा समेत यसले सहजीकरण गर्ने उनको भनाइ छ ।

विगत तीन वर्षदेखि रसुवागढी नाकाबाट कोटा प्रणालीमा आयात मात्र हुँदै आएकोमा अब निरन्तर दुईतर्फी आवतजावतसहित आयात–निर्यात हुने भएसँगै व्यवसायी, व्यापारी,लगायत सरोकारवाला उत्साहित भएका छन् । चीनको ल्हासामा गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेपछि शनिबारदेखि रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आएको हो । 

सुरुमा हिमपात र ल्होसारका कारण नाकाबाट हुने आयात–निर्यात ठप्प भएको थियो । लगत्तै कोरोना महामारीको कारण देखाउँदै चीनले ०७६ माघ १५ देखि ०७७ जेठ २२ गतेसम्म नाका बन्द गर्‍यो । त्यसपश्चात् चीनले कोटा प्रणालीमा रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको थियो । कोरोनाको कारण देखाउँदै चीनले सुरुमा आफ्नै गाडीमा तीन कन्टेनर सामान सिमानासम्म ल्याउन सुरु गर्‍यो । बिस्तारै बढाउँदै दैनिक चिनियाँ १४ कन्टेनर सामान नेपाली भूमिमै ल्याइदिने गरेको थियो । अब चीनबाट नेपाली कन्टेनरले नै सामान लोड गरी ल्याउने भएका छन् । 

चीनबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक सामान, स्याउ, जलविद्युत्का सामग्रीलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट चीनतर्फ बाँसका मुढा, हस्तकलाका सामग्री, कुचोलगायतका वस्तुहरू निर्यात हुने गरेको छ ।