मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–चीनबीच तातोपानी र रसुवागढी नाका दोहोरो सञ्चालन गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३१ शुक्रबार ०६:२०:००

कोरोनाका कारण चीनले करिब तीन वर्षअघिदेखि एकतर्फी सञ्चालन गरेको तातोपानी र रसुवागढी नाका अब दोहोरो सञ्चालनमा आउने भएको छ । बिहीबार सिमानासम्बन्धी द्विपक्षीय परामर्श भर्चुअल बैठकमा यसबारे सहमति भएको छ । तर, कहिलेबाट खोल्ने भन्ने मिति तय भएको छैन । 

‘कोभिड–१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देशहरू पालना गर्दै रसुवागढी–केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न दुवै पक्ष सहमत भएका छन् । यसका लागि दुवै पक्षले महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्नेछन्,’ परराष्ट्रले भनेको छ । बैठकको नेतृत्व परराष्ट्र मन्त्रालयको पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङले गरेका थिए । 

‘भेटमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे छलफल हुनाका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको थियो,’ वार्तापछि परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्वलाई जोड दिँदै दुवै पक्षले विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न सहमति जनाएका छन् । नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड–१९ स्वास्थ्य प्रोटोकल र दिशानिर्देश लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि गरेका छन् ।

नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक र ल्हासास्थित नेपाली महावाणिज्य दूतको सहभागिता थियो । चिनियाँ प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय र चीनका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू, चीनको तिब्बत स्वायत्त क्षेत्रका विदेश मामिला कार्यालय, अन्य विभाग र जनवादी गणतन्त्र चीनको राजदूतावासका कार्यवाहक राजदूत सहभागी थिए ।