मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी वासिङ्टन
२०७७ भदौ २९ सोमबार १२:०१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

वाइडेनको चुनावी अभियानका लागि ब्लुमबर्गले दिए १० करोड डलर 

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ भदौ २९ सोमबार १२:०१:००

 न्युयोर्क सिटीका पूर्वमेयर माइकल ब्लुमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो वाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार  यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिनेछ । 

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरू राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो वाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएको छ। अझ ‘ब्याटलग्राउन्ड’ राज्यका रूपमा चिनिने फ्लोरिडामा दुवै उम्मेदवारबीच मतान्तर अति झिनो देखिएको छ ।  

अमेरिकामै सबैभन्दा ठूलो राज्यका रूपमा रहेको फ्लोरिडामा विजयी हुन दुवै उम्मेदवारले विशेष ध्यान दिइरहेका छन् । दोस्रो कार्यकालका लागि ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ । 

अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन दुई सय ७० निर्वाचन मण्डल प्राप्त गर्नुपर्नेछ । रिपब्लिकन पार्टीका नेता फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन् । सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लिकन उम्मेदवार विजयी भएका थिए । 

रिपब्लिकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न चुनावी अभियानमा करोडौँ रकम खर्चिएको छ । पछिल्ला मत सर्वेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन् । 

अमेरिकी अर्बपति ब्लुमबर्गले गत वर्ष आफैँ डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान पनि थालेको थिए । उनले चुनावमा करिब एक अर्ब डलर खर्चेका थिए, तर पर्याप्त जनसमर्थन नपाएपछि वाइडेनलाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धा त्यागेका थिए ।  

ब्लुमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौँ डलर खर्च गरिसकेका छन् । उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब एक करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरिसकेका छन् । 

तस्बिर : सिएनबिसी डटकमबाट