१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २९ सोमबार ०६:२३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निजी अस्पतालको पिसिआरले पनि कोरोना बिमा दाबी पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २९ सोमबार ०६:२३:००

अब निजी अस्पतालमा गरिएको पिसिआर परीक्षणले पनि कोरोना बिमा दाबीको मान्यता पाउने भएको छ । बिमा समितिले २१ साउनमा जारी गरेको कोरोना बिमा मादपण्ड संशोधन गर्दै निजी अस्पताल वा प्रयोगशालाहरूबाट गरिएको परीक्षणलाई समेत मान्यता दिने भएको हो । यो सर्त सोमबारदेखि लागू हुनेछ । 

समितिले संशोधन गरेको मापदण्डअनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरूबाट पिसिआर परीक्षण रिपोर्ट पेस गर्न सकिनेछ ।

तर, अस्पतालमा कार्यरत कर्मचारीहरूको बिमा दाबीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समूहको लगानी भएका अस्पतालमा वा प्रयोगशालाबाहेक अन्य स्वीकृतप्राप्त अस्पतालमा वा प्रयोगशालाबाट पिसिआर परीक्षण गराउनुपर्नेछ । यदि दाबी भुक्तानी शंका उत्पन्न भएमा बिमकले आफ्नै खर्चमा स्वीकृतप्राप्त अस्पताल वा प्रयोगशालामा पिसिआर परीक्षण गराउन सक्नेछ । 

त्यस्तै, पिसिआर पोजेटिभ आई घर–होटेल आइसोलेसनमा बसेकाहरूले दाबी गर्दा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिससमेत पेस गर्नुपर्नेछ । तर, अस्पतालमै उपचाररत व्यक्तिको हकमा भने अस्पतालबाट जारी गरिएको भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुपर्नेछ ।

एकल कोरोना बिमा पोलिसी बिक्री बन्द
बिमा समितिले एकल कोरोना बिमा पोलिसी बिक्री बन्द गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । आइतबार कोरोना बिमा मापदण्ड संशोधन गर्दै समितिले एकल बिमा पोलिसी जारी गर्न रोक लगाएको हो । अबदेखि जारी हुने पोलिसीको अवधि आगामी असारसम्मको मात्रै हुनेछ । 

समितिले संशोधन गरेको नयाँ मापदण्डअनुसार अबदेखि कम्पनीहरूले सामूहिक वा पारिवारिक कोरोना बिमा पोलिसी मात्रै बिक्री गर्नुपर्नेछ । कोरोना बिमाको दाबी भुक्तानीका लागि लघु बिमा पुलको जिम्मेवारी पाएको कम्पनीले मात्रै गर्नुपर्नेछ । 

समितिले यसअघि गरेको व्यवस्थाअनुसार बिमा कम्पनीले एकल र सामूहिक बिमा गर्ने कोरोना बिमा पोलिसी गर्न पाउने व्यवस्था गरेको थियो । बिमितले ५० हजार रुपैयाँ र १ लाख रुपैयाँसम्मको बिमांकको कोरोना बिमा गर्न पाउने व्यवस्था थियो ।